९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना कहर : प्रवासमा न काम न दाम

हाल यूएईमा रहेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका नारायण बस्नेत चार/पाँच महिनादेखि काम र दाम विहिन बनेका छन् । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणकाक्रममा लागू गरिएको लकडाउनका कारण कार्यरत कम्पनीले न काम दिएको छ न त दाम नै । 

यूएईमा रहेका नेपालीमाझ कोठाभाडा तिर्न समेत महिनैपिच्छे ऋण खोज्नुपर्ने वाध्यता रहेको बस्नेतले बताए । ‘म आफै पिडित छु, तर यहाँ मभन्दा पिडित कैयौं छन् । पाँच महिनादेखि काम पनि छैन, दाम पनि छैन । ऋण खोजेर कोठाभाडा तिर्नुपर्ने वाध्यता छ,’ बस्नेतले भने, ‘समस्यामा परेका दुई÷चार जना साथीहरु मेरो सम्पर्कमा आउनु भएको थियो । राहत जुटाएर उहाँहरुलाई जसोतसो खाना खाने व्यवस्था मिलाइएको छ । उहाँहरु घर जान तयार हुनुहुन्छ, तर कम्पनीले वास्ता गरेको छैन ।’  

लकडाउनका कारण रोजगार गुम्दा समस्यामा परेका कतिपय युवालाई नेपाली समाजका अगुवा गायक प्रकाश पौडेल र पत्रकार उमाकान्त पाण्डे लगायतको टोलीले दुई महिनादेखि राहत वितरण गरिरहेका छन् । यूएईमा रहेका लकडाउन पिडित नेपालीलाई हाल जेनतेन खाना खाने व्यवस्था मिलाइए पनि उनीहरुले कोठा भाडा तिर्ने रकमको अभाव झेलीरहेका छन् । बस्नेतका अनुशार रोजगार गुमाएर अलपत्रको अवस्थामा दिन विताइरहेका युवा पाँच सय दिराम (नेपाली ६० हजार) तिरेर जहाजको टिकट काटेर नेपाल फर्कने र क्वारेन्टीनमा बस्न सक्ने अवस्थामा छैनन् । 

जहाजको यात्रादेखि क्वारेन्टीनमा बस्नेसम्मको जिम्मा सरकारले लिनुपर्ने उनीहरुको माग छ । ‘नेपाली युवा ऋणमा डुबेर बस्नुभन्दा चाँडोभन्दा चाँडो नेपाल फर्कन चाहन्छन्, तर हवाई टिकट काट्ने र क्वारेन्टीनमा बस्दा लाग्ने खर्च तिर्न सक्ने अवस्थामा छैनन्,’ बस्नेतले भने, ‘उहाँहरुको समस्या न कम्पनीले सुनेको छ, न त नेपाली दुतावासले नै सुनेको छ ।’ प्रवासबाट फर्कने नेपालीलाई निःशुल्क टिकट र क्वारेन्टीनमा निःशुल्क बस्ने व्यवस्था मिलाए मात्र कोरोना भाइरस नियन्त्रणकाक्रममा सरकारले १० अर्व खर्च गरेको विषयलाई सकरात्मकरुपमा लिन सकिने बस्नेतले बताए ।  

यस्तै, मलेसिया लगायतका देशमा रहेका युवाको समस्या पनि यूएईको भन्दा फरक छैन । सम्पत्ती कमाउन विदेश पुगेको अवस्थामा लकडाउनका कारण उनीहरु पनि रोजगार गुमाएर अलपत्र छन् । स्वदेश फर्कन तमतयार आफ्नो नागरिकलाई नेपाल सरकारले उद्धार गर्नुपर्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार घर भइ हाल मलेसियामा रहेका मात्रिका चाम्लिङले बताए । 

‘मलेसियामा चार महिनादेखि तलव विहिन दुई हजार नेपालीले घर फर्कनका लागि आवेदन दिएको छ,’ चाम्लिङले भने, ‘घर फर्कने यत्तीका रकम कसरी जुटाउन सक्लान् भन्ने कुरा नेपाल सरकारले बुझ्न जरुरी छ । आफ्नो नागरिकको मायाँ भए नेपाल सरकारले चाँडै उद्धार गरुन् ।’ 

प्रकाशित: ३२ जेष्ठ २०७७ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App