५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोमा पुरिएका आठको शव भेटियो, एक अझैं बेपत्ता

लगातारको वर्षापछि आएको पहिरोले पर्वतमा घर पुरिँदा बेपत्ता भएका थप ६ जनाको शव पनि फेला परेको छ। पहिरोमा परि मृत्यु हुनेको संख्या आठ पुगेको छ। पहिरोमा अझै एकजना वेपत्ता छन्।  

कुश्मा नगरपालिका–३ दुर्लुङमा स्थानीयका दुई घर पहिरोले पुरिँदा दुई परिवारका आठजनाको ज्यान गएको र एकजना बेपत्ता भएको पर्वत प्रहरीले बताएको छ।  

पर्वतका प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीका अनुसार मृत्यु हुनेमा वर्ष ६० का तुलबहादुर थापा, उनकी श्रीमति ५२ वर्षिया मिनाकुमारी थापा, नातिनी ८ वर्षिया विविशा थापा, १५ वर्षका नाती सम्राट थापा, १७ वर्षका नाती विवेक थापा र तुलबहादुरकी छोरी ३० वर्षिया डिरपा थापा रहेका छन्। त्यस्तै पहिरोमा पुरिएर ज्यान गुमाउनेमा २६ वर्षिया कमला विक र उनकी छोरी ८ वर्षिया तमिसा विक रहेका छन्। कमलाका छोरा १४ वर्षका जेनिस विक वेपत्ता रहेको प्रहरीले बताएको छ।  

प्रहरीका अनुसार तुलबहादुरकी छोरि डिरपा माइती आएकी थिइन। कोरोना संक्रमणले लकडाउन सुरु भएपछि उनी घर फर्किन पाएकी थिइनन्। मृत्यु भएका नाति विवेक डिरपाका छोरा हुन्। विनिशा र सम्राट भने तुलबहादुरका छोरापट्टिका नातीनातीना हुन्। विनिशा र सम्राट हजुरबुबाको घरमा बस्न पुगेका थिए। वेपत्ता भएका एकजनाको खोजीमा अहिले पनि सुरक्षाकर्मी जुटिरहेको अधिकारीले बताए।  

आइतबार राती करिब ९ बजेतिर खसेको पहिरोले उनीहरुको घर पुरिएको अधिकारीले बताए। बेलुकी पाँचबजेपछि त्यस क्षेत्रमा लगातार भीषण वर्षा भएको थियो। पहिरोले घर र मान्छे पुरिएको थाहा पाएपछि सदरमुकाम कुश्माबाट सेना र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको भएपनि रातीको समय परेकोले खोजी र उद्धारमा समस्या परेको उनले बताए। मृतक मध्ये दुईजनाको शव राती नै फेला परेको थियो। अरुको शव भने खोजिमा खटिएको सुरक्षाकर्मीको टिमले दिउँसो फेला पारेको थियो।

प्रकाशित: ३२ जेष्ठ २०७७ ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App