८ वैशाख २०८१ शनिबार
समाज

कुबेतबाट फर्केका सिन्धुका २३ महिलालाई क्वारेन्टिनमा राखियो

कुबेतबाट बिहीबार स्वदेश फर्केका सिन्धुपाल्चोकका २२ सहित २३ महिलालाई जिल्लामा ल्याएर विभिन्न चार क्वारेन्टिनमा राखिएको छ । सम्वन्धित स्थानीय तहको अगुवाइमा राजधानीबाट जिल्लामा ल्याइएका उनीहरुलाई दुई साता क्वारेन्टिनमै राखिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । जजिरा एयरवेजका दुई जहाजमार्फत बिहीबार तीन सय नेपाली कामदारलाई स्वादेश फर्काइएको थियो । कोरोना महामारी र लकडाउनले विदेशमा अलपत्र नेपालीलाई जहाजबाट स्वदेश फर्काउने सरकारको निर्णयअनुसार उनीहरुलाई ल्याइएको थियो ।

जिल्लाका २२ महिला फर्कँने सूची प्राप्त भए पनि २३ जना आइपुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार दोलखा घर भएकी एक महिला थपिएकी हुन् । उनको माइती सिन्धुपाल्चोक हो ।  

कुबेतबाट पहिलो खेपमा फर्केकाहरु पाँचपोखरी थाङपाल, जुगल, भोटेकोसी, हेलम्बु गाउँपालिका र मेलम्ची तथा चौतारा साँगाचोकगढी नगरपालिका गरी ६ स्थानीय तहका बासिन्दा हुन् । फर्किनेमा जुगल गाउँपालिकाका सबैभन्दा बढी आठ जना थिए । उनीहरुलाई जुगलकै क्वारेन्टिनमा राखिएको छ । त्यस्तै मेलम्चीमा १०, सुनकोसीमा तीन र मेलचौरस्थित क्षेत्रीय क्वारेन्टिनमा दुई जनालाई राखिएको छ ।  

बिमानस्थलमा ओर्लेपछि राजधानीको यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएका उनीहरुलाई लिन सम्वन्धित गाउँपालिकाले एम्बुलेन्स पठाएका थिए । मध्यराति उनीहरुलाई जिल्लामा ल्याइएको थियो । कुबेतबाटै शुक्रबार जिल्लाका थप १५ महिला स्वदेश फर्केँने सूची प्राप्त भएको डिएसपी काफ्लेले जानकारी दिए । प्राथमिकताका आधारमा बिहीबार स्वदेश फर्केका र शुक्रबार फर्काउँन लागिएका अधिकांश महिला गैरकानुनी रुपले कुबेत बस्दै आएका, आममाफी पाएकाहरु रहेको उनले बताए ।  

जिल्लाका सबै १२ स्थानीय तहमा तीन सय ७३ शैया क्षमताको क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । भारत र तेस्रो मुलुकबाट नेपाली फर्काउँन थालेपछि जिल्लामा थप पाँच सय शैया क्षमताको क्वारेन्टिन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । सुकेटे क्षेत्रका ११ रेष्टुराँलाई क्वारेन्टिन बनाउने तयारी भएको हो । प्रजिअ ढकालले भारतबाहेक तेस्रो राष्ट्रमा २०–२२ हजार सिन्धुवासी रहेको प्रारम्भिक आँकडा निकालिएको जानकारी दिए ।  

प्रकाशित: ३० जेष्ठ २०७७ ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App