coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फेरि पनि मृत्युपछि नै कोरोना पुष्टि

अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का  ५७वर्षीय पुरुषको बुधबार मृत्यु भयो। मृत्यु भएको ३२ घण्टापछि मात्रै उनमा कोरोना संक्रमण रहेको पुष्टि भयो। कोरोनाबाट बच्न  भारतको मुम्बईबाट फर्केर घरनजिकैको क्वारेन्टिनमा बसेको १५औं दिनमा उनको मृत्यु भएको हो। उनी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरेर अर्घाखाँची फर्कंदै थिए। सन्धिखर्कको कोन्द्रे खोलानजिकै बाटैमा उनको मृत्यु भयो।  

मुम्बईबाट जेठ १३ गते फर्केका उनी मालारानी गाउँपालिका ४ को सार्वजनिक आधारभूत माविको क्वारेन्टिनमा बसेका  थिए। मंगलबार बिहान २ बजेदेखि उनलाईरिँगटा लाग्ने, ज्वरो आउने समस्या देखिएको मालारानी गाउँपालिकाले जनाएको छ। त्यसपछि परिवारलाइ खबर गरियो। परिवारका सदस्य र आफन्तले उनलाइ एम्बुलेन्स खोजेर मंगलबार बिहान १० बजेतिरसन्धिखर्कस्थित जिल्ला अस्पताल पु¥याए। मुम्बईबाट फर्केको बिरामी भन्दै एम्बुलेन्स चालकले बोक्न नमानेकाले अस्पताल पु¥याउन ढिलाइ भएको मृतकका भतिजले बताए।  

उनका अनुसार सन्धिखर्क अस्पतालमा ज्वरो नाप्दा १ सय ३ डिग्री  थियो। सास फेर्नपनि समस्या भएपछि अस्पतालले तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरिदियो। मंगलबार अपराह्न प्रादेशिक अस्पताल आइपुग्दा ज्वरो ९८ डिग्री मा झरेको र सास फेर्न पनि अलिक सहज भएपछि फेरि फर्काएर अर्घाखाँची लैजाँदै गर्दा उनको बुधबार बिहान करिब ११ बजेतिर एम्बुलेन्सभित्रै मृत्यु भएको भतिजले बताए। ‘ठूलो बुवा आफैंले मलाई ठीक भयो, घरै जाम् भनेपछि आएकै एम्बुलेन्समा जिल्ला फर्काइएको हो’, उनले भने।

जेठ २३ गते स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो, जसको रिपोर्ट ६ दिनसम्म पनि आएन। बुधबार मृत्यु भइसकेपछि रिपोर्ट माग्दा नमुना नै ‘मिसप्लेस’ भएको जबाफ प्रयोगशालाका कर्मचारीबाट आयो।  

ती पुरुषको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको हो। त्यसअघि उनी जिउँदै छँदा जेठ २३ गते नै स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो तर ६ दिनसम्म पनि रिपोर्ट आएन। बुधबार ती पुरुषको मृत्यु भएपछि स्वाबको रिपोर्ट माग्दा नमुनानै ‘मिसप्लेस’ भयो भन्दै प्रयोगशालाका कर्मचारीले पुनः स्वाब  पठाउन भनेको मालारानी गाउँपालिका अध्यक्ष  बालकृष्ण आचार्यले बताए।  

प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले भने नमुना हराएको नभई रिकन्फर्म गर्नुपर्ने भएकाले पुन मागिएको बताए। ‘ती व्यक्ति जिउँदै छँदा पठाइएको स्वाब क्युमा थियो। मृत्यु भएपछि छिटो टेस्ट गरिदिनुप¥यो भनियो। क्युमा रहेको नमुना झिकेर टेस्ट ग¥यौं तर निश्चित गर्न सकिएन। त्यसैले फेरि स्वाब मागेर टेस्ट गर्दा रिपोर्टपोजेटिभ आयो’, डा. गिरीले भने।

समयमै पिसिआर रिपोर्ट नआउँदा मृतकको शव झन्डै ३२ घण्टासम्म मालारानीकै खनदह रातुकाचौरस्थित प्रतीक्षालयमा राखियो। कोरोना पोजेटिभ रिपोर्ट आएपछि अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले मृतकको शव सरकारले तोकेको कार्यविधिअनुरुप व्यवस्थापन गरिने बताए।  

हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ। बाँके, गुल्मी र पाल्पामा एकएकजना र अर्घाखाँचीमा २ जनाको कोरोनाबाट मृत्यु भएको हो। ती सबैको कोरोना रिपोर्ट मृत्युपछि आएको हो। गुल्मीका शिक्षकबाहेक अरु सबै मृतक भारतबाट फर्केका हुन्।

सुनौलीमा मृत्यु भएका युवकमा कोरोना पुष्टि    

भारतबाट फकर्ने क्रममा रुपन्देहीको बेलहिया नाकापारि सुनौलीमा मृत्यु भएका नवलपरासीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। मुम्बईबाट घर फर्कंदै गरेका पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका, कुडियाका ३५ वर्षीय युवकको बुधबार  दिउँसो बेलहियापारि दशगजानजिकै मृत्यु भएको थियो।  

मृत्युपछि भारतमै गरिएको पिसिआर परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलहियाका इन्चार्ज ईश्वरी अधिकारीले जानकारी दिए। भारतीय पक्षले मृतकका आफन्तलाई झिकाएर सोधपुछ गर्ने र परिवारकोसहमतिमा शव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा भारतीय पक्षसँग समन्वय गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए।  

ती युवकलाई मुम्बईबाट हिँड्दादेखि नै सामान्य स्वास्थ्य समस्या देखिएको उनीसँगै आएकाले बताएको इन्चार्ज अधिकारीले जानकारी दिए। ती युवकसँगै बसमा आएका ४०जना बुधबारै नेपाल भित्रिइसकेका छन्। 

प्रकाशित: ३० जेष्ठ २०७७ ०५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App