२९ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

क्वारेन्टिनबाट घर फर्कदा बाटैमा कोरोना पुष्टि भएपछि...

पिसिआर परीक्षणमा लापरबाही

जिल्लाको मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टिनमा बसेका पाँचपोखरी–६ का दुई पुरुषको बुधबार कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आयो । राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना नभएको रिपोर्ट पठाएसँगै उनीहरु त्यसै दिन डिस्चार्ज भए । तर अबेला भएकाले घर जान पाएनन्, क्वारेन्टिनमै रात बिताए ।  

क्वारेन्टिन कर्मचारीले कोरोना नभएको भन्दै बधाइसहित बिहीबार उनीहरुलाई बिदाइ गरे । दोलखाको एक निर्माण कम्पनीमा आवद्ध उनीहरुलाई रड, सिमेन्ट बोक्ने तराईबाट आएको ट्रक चढेकै आधारमा क्वारेन्टिनमा राखिएको थियो । कोरोना नभएको खुशीयालीमा बीच–बीचमा रक्सी खाँदै, सामान किन्दै त कतै छाता खोजी गर्दै मेलम्चीबाट झण्डै अढाइ घण्टा पैदल हिँडेर उनीहरु तिपेनी बजार पुगे ।  

त्यति नै बेला स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बिहीबार अपराह्न नियमित प्रेस ब्रिफिङमा सिन्धुपाल्चोकमा दुई जना संक्रमित थपिएको पुष्टि गरे । उनले प्रस्तुत गरेको संक्रमितको उमेर र ठेगाना डिस्चार्ज गरिएकासँग मेल खायो । ठीक त्यति नै बेला टेकु प्रयोगशालाले पठाएको एक रिपोर्ट प्राप्त भयो । जहाँ अघिल्लो दिन नेगेटिभ भनिएको रिपोर्ट सच्याउँदै पोजेटिभ अर्थात कोरोना संक्रमण पुष्टि गरिएको थियो । संक्रमण पुष्टि भएका उनीहरु नै थिए ।

संक्रमण नियन्त्रणमा व्यस्त जिल्लाका अधिकारी आपत्मा परे । तुरुन्त प्रहरी लगाएर संक्रमितलाई तिपेनीबाट मेलम्ची फर्काइयो । ‘रिपोर्टमा त्रुटी गर्दा जोखिम बढ्यो,’ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नागरिकसँग भने, ‘यस्तो बेलामा सबै निकायले होसियारीपूर्वक काम गर्नु पर्छ ।’ उनका अनुसार संक्रमितको आइसोलसनमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा चुनौती थपिएको प्रजिअ ढकालले बताए ।  

संक्रमित दोलखास्थित बुँदेपोखरी कन्ट्रक्सन प्रालिका मजदुर थिए । जेठ १० गते उनीहरु एउटा ट्रकमा चढेर काभ्रेको जिरोकिलोमा झरेका थिए । उनीहरु चढेको ट्रक तराईबाट छड, सिमेन्ट ल्याएर दोलखामा झारेपछि फर्कँदै थियो । जिरोकिलोबाट अर्को सवारी साधन चढेर उनीहरु बाहुनेपाटीसम्म पुगेका थिए । त्यसपछि पैदलै हिँडेर मेलम्ची पुगेका उनीहरुलाई तराइमा चल्ने ट्रकमा चढेकै कारण क्वारेन्टिन राखिएको थियो । तराइका जिल्लामा संक्रमित तीव्र रुपमा बढ्दो छन् ।  

संक्रमित ३९ र ४० वर्षीया पुरुष हुन् । बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँ उनीहरुलाई कहाँबाट, कसरी संक्रमण फैलियो भन्ने पत्ता लगाउन कठिन भइरहेको बताउँछन् । ‘पत्ता लगाउन दोलखासँग पनि समन्वय गरिराखेका छौँ,’ उनले भने । उनका अनुसार संक्रमण फैलन नदिन कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ । उनीहरु तिपेनी पुग्दा बीच–बीचमा पसल छिरेर किनमेल गरेको, रक्सी खाएको र छातासमते किनेर धेरै जनासँग सम्पर्क गरेको पाइएकाले कन्ट्याक्ट टे«सिङ चुनौतीपूर्ण बनेको उनी बताउँछन् । ‘दोलखादेखि मेलम्ची आइपुग्दासम्मको सम्पर्क अवस्थाबारे अध्ययन गर्नुपर्ने देखियो,’ उनले भने ।  

दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार संक्रमित त्यहाँको गौरीशंकार गाउँपालिकामा निर्माणाधीन खानीखोला जलविद्युत आयोजनाका मजदुर हुन् । ‘उनीहरुमा कोरोना देखिएपछि आयोजनाका ४४ कामदारको कन्ट्याक्ट ट्रेसिङ गरेका छौँ,’ उनले भने । पिसिआर परीक्षणका लागि उनीहरुको शनिबार थ्रोट स्वाब संकलन गरिने उनले जनाए । दोलखामा हालसम्म एक जना वृद्धमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारमा राजधानीको अस्पताल पुगेपछि उनमा संक्रमण फेला परेको थियो । दीर्घरोगी रहेका उनी जेठ ११ गते राजधानी गएका थिए ।

योसमते सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । संक्रमितमध्ये एक महिलाको मृत्यु भइसकेको छ । उनी नेपालमा कोरोनाबाट ज्यान गुमाउने पहिलो संक्रमित हुन् । दुई संक्रमित भने भारतबाट फर्केका हुन् । इन्द्रावाती गाउँपालिकाका ती पुरुषमध्ये एकको मेलम्ची र अर्कोको टेकुमा उपचार भइरहेको छ ।

प्रकाशित: २९ जेष्ठ २०७७ १४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App