१६ चैत्र २०८० शुक्रबार
समाज

कोरोना जित्न सहज, सामाजिक मनोविज्ञान जित्न भने सकस

यही जेठ १९ गते कर्णाली प्राविधिक शिक्षालय जुम्लाको जिल्ला स्तरीय एकीकृत क्वारेन्टिनमा बसेका एक स्वास्थ्यकर्मी, दुई सुरक्षाकर्मी सहित १९ जनामा कोराना पोजेटिभ देखियो । कोराना पोजेटिभ देखिएको २४ घण्टा भित्र उनीहरुलाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखियो । आइसोलेसन भित्र सामाजिक मनोविज्ञान र कोरानाबाट बच्नको लागि मनोविमर्श सहित औषधि उपचार र निगरानी गरियो । फलस्वरुप उनीहरु मध्ये १८ जनामा पिसिआर परिक्षण गर्दा कोराना नेगेटिभ देखियो । उनीहरु होमआइसोलेसनमा बस्ने गरि अस्पतालको आइसोलेसनबाट बिदाई भए ।  

अस्पतालबाटा कोराना जितेर बिदाई हुदाँ उनीहरुमा एउटै मात्र चिन्ता थियो  ‘गाउँघरमा जाँदा कोराना संक्रमित हुँदा अपहेलना खेप्नुपर्छ होला । घरपरिवारलाई गाउँ समाजले हेर्ने नजर नै फरक होला ।’  एक प्रकारको संकट जस्तो अनुभुति भइरहेको थियाे।यहाँका क्वारेन्टिनमा बस्ने नागरिक, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई निकै असुरक्षित भएको भन्दै गाउँमा उनीहरुका परिवारलाई हेर्ने नजरमा निकै फरक देखिन्थ्यो । कोराना संक्रमित भएर जितेका स्वास्थ्यकर्मी शुक्रराज शाही भन्छन्,‘ यहाँ कोराना जित्न सहज छ । तर सामाजिक मनोविज्ञान जित्न निकै गाह्रो छ ।’

अहिले भारतबाट आएका नागरिकलाई समाजमा हेर्ने नजर निकै फरक छ । भारतबाट आएको भन्ने बित्तिकै कोराना ल्याएर आएको सम्झने गरिन्छ । उनीहरुबाट निकै टाढा बस्नुका साथै उनको परिवारलाई समेत सामाजिक रुपमा अपहेलना गरेको पाइन्छ । क्वारेन्टिनमा प्लाष्टिकमा डल्लो पारेर भात, दाल र चिया नास्ता दिनुले पनि यो प्रमाणित गर्छ । क्वारेन्टिनमा सम्मानजनक व्यवहार नगरेको भारतबाट आएका नागरिक बताउँछन् ।

कोरोना संक्रमित स्वास्थ्यकर्मी शुक्रराज शाहीसंगै १७ जना अरु पनि कोराना जितेर घर फर्किएका छन् ।  उनले कोराना संक्रमित हुदाँ औषधि उपचारको चिन्ता भन्दा पनि सामाजिक रुपमा गरिने दुव्र्यवहारको बढी  चिन्ता हुने गरेको बताए ।  हिमा गाउँपालिकाको बड्की स्वास्थ्य चौकीमा कार्यरत शाही गत जेठ ३ देखि कर्णाली प्राविधिक शिक्षालयमा रहेको एकीकृत क्वारेन्टिानमा खटिएका थिए । उनी कर्णाली प्रदेशकै पहिलो कोराना संक्रमित स्वास्थ्यकर्मी हुन् ।

कोरोना लाग्ने वित्तिकै मान्छे म¥यो वा मर्छ भन्ने मानसिकता यहाँको समाजका हाबी छ । कोरोनाको संक्रमण तेस्रो पक्षसम्म फैलिएको जानकारी पाएपछि गाउँका मान्छे मात्रै होइन स्वास्थ्यकर्मीमा समेत डर पैदा भइरहेको छ । स्वास्थ्यकर्मी शाही भन्छन्,‘ ‘कोरोना भाइरस र यसको असर नै नबुझी डराउने रहेछौँ  । यो डर चिर्न अहिले आवश्यक भइसकेको छ । कोराना संक्रमितको सुचिमा परेर प्रत्यक्ष भोग्दा अनुभुति भयो ।प्राय कोराना संक्रमितको नाम सार्वजनिक गरिदैँन् । तर स्वास्थ्यकर्मी शाहीले आफै नाम सार्बजनिक गरे । देशभर कोरोना नियन्त्रणको अग्रमोर्चामा खटिएका स्वस्थ्यकर्मीको मनोबल बढाउनलाई पनि आफुले नाम सार्बजनिक गरेर कोराना विरुद्धको लडाईमा होमिएको उनी बताउँछन् ।  

संक्रमित भएको पाँचौ दिनमै उनीहरु सबैको कोराना रिर्पोट नेगेटिभ आइसकेको थियोे । जुम्लाका संक्रमित अति छोटो समयमा कोरानालाई जित्नेको सुचिमा पर्छन् । उनीहरुले पाँच देखि ७ दिनको बीचमा कोरानालाई जितेर होम आइसोलेसनमा फर्किए । तर गाउँघरमा परेको छाप मेटाउन केही समय लाग्न सक्ने उनीहरु बताउँछन् ।स्वास्थ्यकर्मी शाही भन्छन्,‘मलाई सायद जेठ आठ गते तिर नै संक्रमण भएको हुनुपर्छ।   मलाई त्यस्तो कुनै लक्षण देखा परेन । हामी क्वारेन्टाइनमा खटिएकाको स्वास्थ्य परीक्षण नगरिएको भए त्यसै पनि निको हुन्थ्यो कि भन्ने लागिरहेको छ !’ जतिधेरै चिन्ता उति धेरै कोरानाले संक्रमण गर्दै जाने अनुभव उनीहरुको छ ।  

सामन्यतया कोरोनाका लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने लगायतका हुन, सुख्खा खोकी लाग्ने, स्वासप्रश्वास गर्न कठिन हुनु नै हुन् । तर यी सबै लक्षण नदेखिएका संक्रमितहरु नै नेपालमा बढी छन  ।  ‘कोरोना जित्न केही छैन। आइसोलेसनमा बस्दा औषधि केही पनि सेवन गरेनौँ । आत्मबल बलियो बनाउनतिर लाग्यौं,’ स्वास्थ्यकर्मी शाहीले थपे, ‘खानपिनमा केही ध्यान दियौं । तातोपानी बढी पियौँ, अदुवा, लसुन, पुदिना खायौं । अन्तत कोरानालाई सहजै रुपमा जितेर घर फर्कियौँ ।’ स्वास्थ्यकर्मी शाहीले आफुले यार्सागुम्बा समेत खाएको सुनाए ।

आफू संक्रमित भएर आइसोलेसनमा रहँदा पनि सेवा गर्ने मौका पाएँ । आइसोलेसनमा सबैले आत्मीयता बढायौं । ‘समाजमा कोरानालाई आतंकको रुपमा हेरिएको छ । संक्रमित अपराधी जस्ता भएका छन्,’ उनले निराश हुँदै भने, ‘संक्रमितको परिवार हुनु भनेको विभेदको शिकार हुनु हो । घरपरिवारलाई हेयको भावमा हेरिनु हो । कोराना देखिनु अपराध गर्नु सरह हो ।’ ‘अस्पताल, सरकारले हाम्रो नाम सार्वजनिक नगरे पनि गाउँघरमा हामीलाई संक्रमण भएको कुनै न कुनै माध्यमबाट थाहा भइहाल्छ । त्यसपछि विभेद सुरु हुन्छ। कोरोना लाग्नुभन्दा पनि कोरोना जितिसकेपछि पुनःस्थापित हुन गाह्रो छ,’ उनले भने।

कोरोना लाग्नु अपराध गर्नु होइन । आफ्नो शरीर कोरोना भाइरस मुक्त भइसक्दा पनि परिस्थिति सामान्य नहुनु दुःखद भएको कोराना जितेर घर फर्किएकाहरु बताउँछन् । धेरै मान्छेहरू बोल्न डराउने, अलि टाढीने गरे ।  हामीले जुम्लाबाट कोरोना जित्दा राज्यलाई कोरोना नियन्त्रणमा साहस जुटेको छ । यो लडाइँको अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी साथीहरुलाई साहस मिलेको छ । कोराना जित्न सकिन्छ भन्ने,हिम्मत बटुलिएको छ ।  राज्यले क्वारेन्टाइनको मापदण्ड सुधार गर्न शिक्षा मिलेको छ ।  

प्रकाशित: २९ जेष्ठ २०७७ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App