२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चौरजहारी अस्पतालमा ८२९ बाट प्रसूति सेवा

रुकुम(पश्चिम)को चौरजहारी अस्पतालबाट गत ११ महिनामा  आठ सयभन्दा बढीले प्रसूति सेवा लिएका छन्। चालु आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि अस्पतालबाट प्रसूति सेवा लिनेमा रुकुम(पश्चिम), सल्यान र जाजरकोटका छन्।  

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले बनाएको असहज परिस्थितिका बीचमा पनि प्रसूति सेवालाई प्राथमिकता दिइएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालले मातृ तथा शिशु सुरक्षालाई विशेष ध्यान दिइरहेको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए। नेपाल सरकारले लिएको संस्थागत प्रसूति  सुधार कार्यक्रमअन्तर्गत  मातृ तथा शिशु मृत्यु दर घटाउने लक्ष्य सफल पार्नका लागि अस्पतालले २४ सै घण्टा प्रभावकारी प्रसूति सेवा प्रवाह गरिरहेको उनको भनाइ छ।

सरकारले जारी गरेको लकडाउन अर्थात् बन्दाबन्दीका कारण सुत्केरी हुनेलाई प्रत्यक्ष रुपमा असहज भइरहेका अवस्थामा चौरजहारी अस्पतालले भने सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको जनाएको छ। लकडाउनले प्रसूति सेवामा कुनै असर नगरेको अस्पतालका मेडिकल डाइरेक्टर डा कालेव बुढाले बताए।  

लकडाउनकै बीचमा २४ गर्भवतीको सफल शल्यक्रिया गरिएको उनले जानकारी दिए। उनका अनुसार गत साउनदेखि हालसम्म सामान्य तथा जटिल प्रकृतिका १२४ जनालाई सफल शल्यक्रियामार्फत सुत्केरी बनाइएको छ।  

यसैबीच लकडाउन जारी भएदेखि हालसम्म १३ हजारभन्दा बढी बिरामीले अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन्। जटिल तथा सामान्य प्रकारका बिरामीले सेवा लिएको अस्पतालको भनाइ छ। अस्पतालले २५ वर्ष पहिलेदेखि दुर्गम जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको तथा गरीब तथा अतिविपन्न बिरामीलाई  निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छ।

प्रकाशित: २९ जेष्ठ २०७७ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App