१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रोल्पामा पिसिआर परीक्षण मेसिन किन्ने तयारी

रोल्पा सदरमुकाम लिवाङ ।

केन्द्र र प्रदेश सरकारले पिसिआर परीक्षणमा बेवास्ता गर्न थालेपछि रोल्पाका स्थानीय तहहरुले आफ्नै खर्चमा पिसिआर परीक्षण मेसिन किन्ने तयारी सुरु गरेका छन् । केन्द्र र प्रदेश मातहतका प्रयोगशालाले दुर्गम रोल्पाका स्वाब परीक्षणमा चासो दिन छोडेपछि यहाँका जनप्रतिनिधिहरुले आफै मेसिन किन्ने विषयमा छलफल सुरु गरेका हुन् । सोमबार भेरी अस्पताल प्रमुखले रोल्पाका चिकित्सकलाई स्वाब फिर्ता लैजान भनेका थिए । नजिकमा रहेका प्रयोगशालाले वास्ता गर्न छोडेपछि स्वाब परीक्षणका लागि कहाँ पठाउने भन्ने अन्यौल थपिएको हो ।  

‘भेरी अस्पतालले स्वाब नल्याउनु भन्यो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले फोन रेस्पोन्स नगर्ने तथा कतिपय नम्बर ब्लयाक लिस्टमा राख्न थाल्यो । बुटवल अस्पतालले पनि सकिदैन भने पछि नमुना स्वाब काठमाडौ पठाउदै छौ ।’ सुनिलस्मृती गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले भने ‘केन्द्र र प्रदेश सरकारले परीक्षणमा खासै रेस्पोन्स गरेनन् । जिल्लामै मेसिन किन्ने बिषयमा छलफल सुरु भएको छ । रोल्पा नगरपालिका, सुनछहरी, माडि र लुङग्री गाउँपालिका अध्यक्षसंग छलफल गर्दा किनौ भन्ने कुरा भयो । अरु पालिका संग पनि कुरा हुँदै छ । कतिदिन अरुको मुख ताक्ने ।’

प्रदेश भरिका सबै जिल्लालाई बराबर प्राथमिकतामा राखेर परीक्षण तथा उपचार गर्ने जिम्मा र आर्थिक सहयोग पाएका अस्पतालहरुको भुमिका गतिलो नभएपछि अन्योलता थपिएको छ । केन्द्र र प्रदेश सरकारले दिने आर्थिक सहयोग प्रयाप्त लिएका भेरी अस्पताल, बुटवल अस्पताल र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानहरु जहाँ स्थापना भएका छन त्यहि जिल्लाका लागि मात्र खुलेको जस्तो ब्यवहार गरेको रोल्पालीको गुनासो छ ।  

‘हामिले परीक्षणका लागि तिन ठाउँमा पठायौ तर उताबाट जाच गर्न सक्दैनौ भने पछि आफै मेसिन किन्नु पर्छ भन्ने कोणबाट छलफल भईरहेको छ ।’ रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसिले भने ‘पिसिआर परीक्षणका लागि भिटिएम किन्ने, स्वाब लिने अनि प्रयोगशाला सम्म पुर्‍याउने काम स्थानीय तहले गरिरहेका छौ तर केन्द्र र प्रदेश सरकारले जाँचसम्म पनि गरिदिएको छैन । प्रदेश र केन्द्र सरकार जिम्मेवारीबाट पन्छिएपछि आफै मेसिन किन्नुको बिकल्प देखिएन ।’ उनका अनुसार प्रदेश र संघका प्रयोगशालाहरु जहाँ स्थापना भए उहि जिल्लाका जस्ता भएका छन् ।  

भारतबाट आउनेहरुलाई सिमानामा पुगेर स्थानीय तहहरुले जिल्ला भित्र्याएका छन् । उनिहरुलाई खाना र आवाससहित क्वारेन्टिनमा राख्ने अनि परीक्षणका लागि स्वाब पठाउने लगायतका सबै काम भईरहेको छ । तर केन्द्र र प्रदेश सरकारले जिल्लाहरुलाई कुनै प्रकारको सहयोग नगरेको जनप्रतिनिधिको गुनासो छ । ‘प्रदेश र केन्द्रले खासै रेस्पोन्स नगरेपछि आफै किन्नु पर्छ भन्नेमा छौ । स्वाब कहाँ पठाउने भन्ने अन्यौल भईसक्यो ।’ गंगादेब गाउँपालिकाका अध्यक्ष बिरबहादुर खत्रलिे भने ‘रोल्पाबाट स्वाब काठमाडौ वा बाहिरी जिल्ला पठाउने र यता उति गर्ने खर्चले त मेसिन नै आउने देखिएको छ ।’

प्रदेश न. ५ का सांसद दिपेन्द्रकुमार पुन प्रत्येक जिल्लामा पिसिआर परिक्षणको सुरुवात गर्नु पर्ने बताउछन् । ‘अहिलेलाई निकै समस्या भयो । हामि आफैले स्थापना गर्‍यौ भने सहज हुन्छ ।’ पुन भन्छन् ‘यहाँ स्वाब निकालेर बाहिर पठाईरहने खर्चले त मेसिन पनि आउन सक्ने देखियो । बाहिर रहेका प्रयोगशालाहरुले रोल्पाको गतिलो रेस्पोन्स पनि गरेको देखिएन ।’ उनका अनुसार रोल्पामा आफै मेसिन किन्ने बारेमा छलफल निकै अगाडि बढेको छ ।  

आफुले स्थापना गरेका प्रयोगशालामा परीक्षण गराउन नसक्ने भएपछि जिल्लामा मेसिन खरिद गर्दा प्रदेश सरकारले पनि सहयोग गर्नु पर्ने देखिन्छ । जिल्ला बिपद ब्यस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले ५ न. प्रदेशमा रहेका दाङ, बुटवल र नेपालगञ्जले धान्न नसक्ने प्रतिकृया दिए पछि जिल्लामा नै मेसिन ल्याउने विषयमा छलफल अगाडी बढेको बताए । ‘यसका लागि एकदुई दिनमा जिल्ला बिपद ब्यस्थापन समितिको बैठकको तयारी भईरहेको छ ।’

 

 

प्रकाशित: २८ जेष्ठ २०७७ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App