१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आरडिटी पोजिटिभको पीडा : ‘महिना बित्यो पिसिआर रिपोर्ट आएन’

र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी ) पोजेटिभ आएका बैतडीका स्थानीय लामो समयदेखि क्वारेन्टिनमा बस्दै आएका छन् । नेगेटिभ आएकाहरुलाई घर पठाइ पनि आरडिटी पोजिटिभ देखिएकाहरुको भने एक महिना पुग्न लाग्दा पिसिआर रिपोर्ट आएको छैन । स्वाब संकलन गरी पिसिआर रिपोर्ट लामो समयसम्म नआउँदा क्वारेन्टिनमा बस्दा तनाब सिर्जना भएको क्वारेन्टिनमा बस्दै आएकाहरुले बताएका छन् ।

शिवनाथ गाउँपालिका–१ का तीन जना क्वारेन्टिनमा बसेको २७ दिन पूरा हुँदासमेत पिसिआर परीक्षणको रिपोर्ट आएको छैन । रिपार्ट नआउँदा क्वारेन्टिन बसाइँ लम्बिएको छ । सुरुमा दुई हप्ता क्वारेन्टिनमा बस्नुपर्ने भनेकाले आफूहरू स्वदेश फर्केलगत्तै क्वारेन्टिनमा बसेको भए पनि महिना दिनसम्म क्वारेन्टिनमा बस्न बाध्य भएको उनीहरुले बताएका छन् । आरडिटी रिपोर्ट पोजिटिभ देखिएका उनीहरूको पिसिआर रिपोर्ट अझै नआएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए । शारदा मावि, मटेलाको क्वारेन्टिनमा बसेका तीन जनामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको र तीमध्ये एक जनाको नेगेटिभ आएको तर दुई जनाको रिपोर्ट नआउँदा तीनै जना क्वारेन्टिनमै बस्न बाध्य भएका छन् ।

जिल्लाका विभिन्न क्वारेन्टिनमा बसेका नागरिकको आरडिटी पोजेटिभ आएको भए पनि पिसिआर परीक्षण गरिएको छैन । भारतबाट आएका करिब ६ हजारमध्ये आरडिटी परीक्षणमा ४ सय १८ जना पोजिटिभ रिपोर्ट आएको थियो । दुई हप्ते क्वारेन्टिन अवधि पूरा गरिएकाहरुको आरडिटी गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

आरडिटी परीक्षण गरिए पनि पिसिआरको लागि स्वाब संकलन हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा रहेको एक मात्र पिसिआर मेसिनमा चाप भएपछि पिसिआर परीक्षण पाँच दिनको लागि रोकिएको छ । आरडिटी पोजेटिभ देखाएकामध्ये बैतडीका ३ सय जनाको स्वाब संकलन हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

गत शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले स्वाब संकलन रोकिएको थियो । धनगढी प्रयोगशालामा स्वाबको चाप बढेपछि मन्त्रालयले सुदूरपश्चिमभर ५ दिनका लागि स्वाब संकलनमा रोक लगाएको थियो । स्वाब संकलनपछि पनि उनीहरूको पिसिआर रिपोर्ट नआउँदासम्म क्वारेन्टिनमै बस्नुपर्ने  बाध्यताले तनाब सिर्जनामा भएको उनीहरु बताउँछन् । स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाएका बैतडीक १ सय ५८ जनाको अझै रिपोर्ट आउन बाँकी रहेको छ ।

लामो समयसम्म क्वारेन्टिनमा राख्दा व्यवस्थापन गर्नसमेत समस्या आएको छ । स्थानीय तहले व्यवस्थापन गर्दै आएको क्वारेन्टिन व्यवस्थित पनि छैनन् । अनुमान गरेभन्दा बढी संख्यामा विदेशबाट आउने क्रम जारी रहेका व्यवस्थापन गर्न समस्या आएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

प्रदेशभर एउटै परीक्षण प्रयोगशाला र दैनिक २ सय ५० जनाको मात्र स्वाब परीक्षण गर्ने क्षमता भएकाले समयमै परीक्षण रिपोर्ट आउन नसक्दा समस्या भएको छ । जिल्लामा बुधबारदेखि पुनः स्वाब संकलन गर्न थालिए पनि रिपोर्ट आउन भने समय लाग्ने जिल्ला स्वास्थ्य कार्यालका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए ।

प्रकाशित: २८ जेष्ठ २०७७ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App