२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

होटललाई क्वारेन्टिन: होटलको महंगो मुल्य तिर्न सक्छन ?

चारतारे सरहको सुविधायुक्त होटल बाराहीले कोरोना भाईरस संक्रमणको त्रासले विदेशबाट फर्केका नेपालीका लागि क्वारेन्टिन बनाउने गरि ५० कोठा (एकसय बेड) छुट्याएको छ । बाराहीले कोठामा एक्लै बस्नेका लागि प्रतिरात ६ हजार र एउटाकोठामा दुईजना बस्दा प्रतिव्यक्ति प्रतिरात ४ हजार रुपैयाँका दरले मुल्य तोकेको छ ।  यो होटलमा १४ दिनसम्म एक्लै क्वारेन्टिन बस्नेले कम्तिमा ८४ हजार रुपैयाँ तिर्नुपर्नेछ । साथीसँग मिलेर बस्दा भने एकजनाले कम्तिमा ५६ हजार रुपैयाँ तिर्नुपर्छ ।  

पोखराकै अर्काे होटल ल्याण्डमार्कले पनि ९० कोठामा १८० बेड क्वारेन्टिनका लागि छुट्याएको छ । यो होटलमा पनि एक्लै बस्दा पाहुनाले प्रतिरात ६ हजार र साथीसँग बाँडिएर बस्दा प्रतिव्यक्ति प्रतिरात ४५ सय रुपैयाँका दरले तिर्नुपर्छ । १४ दिन क्वारेन्टिन अवधिमा ल्याण्डमार्कमा एक्लै बस्नेले ८४ हजार र साथीसँग बस्दा एकजनाका लागि ६३ हजार रुपैयाँ खर्च लाग्छ ।  

कोरोनाको संक्रमणले अप्ठेरोमा परेर विभिन्न मुलुकबाट फर्केका नागरिकलाई यहाँका होटलमा क्वारेन्टिन बनाएर राख्ने तयारी छ । विदेशबाट फर्किएका गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लाका नागरिक पोखराका होटलका क्वारेन्टिनमा बस्नेछन् । त्यही अनुसार गण्डकी प्रदेशको मुकाम पोखराका होटलका ५ हजार बेड क्वारेन्टिनका लागि तयार पार्न सरकारले पोखरा महानगरपालिकालाई निर्देशन दिइसकेको छ । महानगरपालिकाको सहकार्यमा पश्चिमाञ्चल होटल संघमार्फत क्वारेन्टिन बनाईने होटल छानिएका छन् ।  

बाराही र ल्याण्डमार्क उदाहरण मात्र हुन् । क्वारेन्टिनका लागि छानिएका यहाँका अधिकांश होटल महंगो मुल्यका छन् । अरुबेला समेत महंगो मुल्य तिर्न सक्ने पाहुना मात्र बस्ने ती होटलमा अहिले क्वारेन्टिन बनाएर स्वदेश फर्किएका नागरिकलाई राख्ने तयारी भएको छ । तर, अप्ठेरोमा परेर कठिनका साथ फर्किएका पाहुनाले त्यो मुल्य तिर्न सक्ने की नसक्ने भन्ने प्रश्न उब्जेको छ ।  

स्वयं होटल व्यावसायी नै जसोतसो स्वदेश फर्किएका नेपाली नागरिकले होटलको महंगो खर्च बेहोर्न नसक्ने बताउँछन् । त्यसैले सरकारले सस्तो किसिमले क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने उनीहरुको भनाई छ । ‘सबै पाहुनाले ठुला आकारका होटलको महंगो मुल्य बेहोर्न सक्दैनन् । त्यसैले सस्ता होटललाई क्वारेन्टिन बनाउनुपर्छ,’ एक होटलका महाप्रबन्धकले भने, ‘होटलले पनि चुनौती मोलेरै क्वारेन्टिन बनाउने हो । स्वदेश फर्किएका सबैले महंगो मुल्य तिर्न सक्ने अवस्था छैन । यसैपनि अप्ठेरोमा परेर फर्किएको बेला होटलको महंगो बिल झनै ठुलो बोझ हुनेछ ।’  

खाडिमा कठिनका साथ कमाएको केही रकम स्वदेश फर्किएपछि होटलमा तिर्नुपर्दा ती नागरिकलाई झनै आर्थिक बोझ थपिने उनले बताए । ती महाप्रबन्धकका अनुसार यो बेला स्वदेश फर्किएका अधिकांश नेपाली अप्ठेरोमा परेका व्यक्ति हुन् । कतिपय त खर्चविहीन भएर लामो समयदेखि अलपत्र परेका व्यक्ति छन् । जसोतसो स्वदेश फर्किएका उनीहरुलाई १४ दिन होटलको क्वारेन्टिन खर्च झनै ठुलो बोझ हुने उनले बताए ।  

‘हामीले त तिर्न सक्ने पाहुना मात्र राख्छौ । तर सबैले होटलमा बसेको खर्चको भार बहन गर्न सक्दैनन,’ उनले भने, ‘धनि र गरिबबीचको अवस्था यहाँ झल्कनेछ ।’ सस्तोमा पाहुना राख्ने होटललाई मात्र क्वारेन्टिन बनाउनुपर्ने उनको सुझाव छ । ‘घर फर्किएका कर्मचारीलाई बोलाएर काममा लगाउने हो । क्वारेन्टिन बनाउने काम उत्ति सहज छैन,’ उनले भने, ‘अहिलेको महंगीमा हामीले पनि चुनौतीका बाबजुत क्वारेन्टिन बनाउने हो ।’

होटल ल्याडमार्कका संचालक ओमप्रकाश पाण्डे पनि विदेशबाट अप्ठेरो अवस्थामा फर्केका सबैले होटलको महंगो मुल्य तिर्न नसक्ने बताउँछन् । ‘स्वदेश फर्किएपछिको त्यो रकम उनीहरुका लागि आर्थिक बोझ हो,’ उनले भने, ‘त्यसैले सस्तो र सुलभ तरिकाले क्वारेन्टिन व्यवस्थापन गर्नुपर्छ ।’ क्वारेन्टिन बनाउन होटल तयार भएपनि सबै पाहुनाले ल्याण्डमार्कको मुल्य तिर्न नसक्ने उनले बताए । ‘यो बेला जे जति फर्कदैछन् । ती अप्ठेरोमा परेका व्यक्ति हुन्छन् । सबैसँग होटलको महंगो रकम खर्चने क्षमता हँुँदैन,’ उनले भने,‘हामीले तिर्न सक्ने मान्छे मात्र राख्छौ । तिर्न नसक्ने मान्छे कहाँ जाने ?’

होटल संघ र महानगरमार्फत छानिएकामा अधिकांश होटल टुरिष्ट स्ट्याडर्डका छन् । केही रिसोर्ट पनि छन । क्वारेन्टिनका लागि छानिएको रानिवन आर्केडका संचालक हरि भुजेलले अरुबेला भन्दा सस्तो मुल्यमा पाहुना राख्ने निर्णय गरेको बताए । ‘मैले निकै सस्तोमा पाहुनालाई सेवा दिने हो । तर, स्वदेश फर्किएका सबैले होटलको खर्च बेहोर्न सक्दैनन,’ भुजेलले भने, ‘स्वदेश फर्किदा धेरजसो आर्थिक रुपमा टाट पल्टिसकेका हुन्छन् । त्यही भएर उनीहरुलाई सकेसम्म होम क्वारेन्टिनमा राख्नुपर्छ ।’ आर्थिक भार बेहोर्न सक्नेका लागि होटल उपयुक्त भएपनि अहिले स्वदेश फर्किनेजति नेपाली सबैसँग प्रयाप्त रकम नभएको उनले बताए ।  

होटलमा बस्न नसक्नेका लागि सरकारले नै क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने उनले बताए । ‘संचालन खर्च महंगो छ । नाफा खाने अवस्था रहन्न । आम्दानीको रुपमा भन्दा पनि हामीले सरकारलाई सहयोग गरेका हौ,’ भुजेलले भने, ‘त्यसैले सरकारले सकेसम्म सुरुमा साना आकारका र सस्तो होटल व्यवस्थापन गर्नुपर्छ । सस्ता होटलले नपुगेमा मात्र ठुला खोज्ने हो ।’ यतिबेला स्वदेश फर्किने जो कोही पनि बेरोजगार र बेतलवी भएका हुने भएकोले पनि उनीहरुका लागि होटलको क्वारेन्टिन उपयुक्त नहुने उनले बताए ।  

क्वारेन्टिनका लागि छानिएको अतिथि रिसोर्टका संचालक  भरत शर्माले पनि स्वदेश फर्किएका ९५ प्रतिशत नागरिकले होटलको महंगो खर्च बेहोर्न नसक्ने बताए । ‘५ प्रतिशतले नागरिकले मात्र होटलको मुल्य तिर्न सक्छन् । ती पनि सस्तो मुल्य मात्र उनीहरुले बेहोर्न सक्छन,’ शर्माले भने, ‘कम खर्चमा व्यवस्थापन गर्न खोज्दा पनि होटलको लागत बढ्छ । त्यसैले सस्तो क्वारेन्टिन बनाउनुपर्छ ।’  

पोखराका कुनैपनि सस्तो होटलको खर्च यो बेला स्वदेश फर्किएका नागरिकले तिर्न नसक्ने उनले बताए । ‘भएभरको पैसा सकेर शुन्य अवस्थामा फर्किन थालेका हुन । कतिपय त महिनौदेखि कामविहीन र बेतलवी भएका छन,’ शर्माले भने, ‘त्यही भएर बेहोर्न सक्दैनन् । त्यसैले सरकारले अन्य खर्च कटाएर भएपनि क्वारेन्टिन व्यवस्थापन राम्रो गर्नुपर्छ ।’ स्कुल, कजेल, पार्टी प्लालेस, समाजघर, धर्मशालालाई पहिलो चरणमा क्वारेन्टिन बनाउने हो भने सहज हुने उनले बताए । ‘होटलको महंगो रकम तिर्नै सक्दैनन । हामी तयार भएपनि पाहुनाले होटलमा बस्ने क्षमता राख्दैनन,’ उनले भने ।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि यतिबेला विदेशबाट आउने जो कोही व्यक्ति खर्चविहीन हुने भएकोले उनीहरुलाई होटलको साटो सस्तो क्वारेन्टिनमा राख्नुपर्ने बताउँछन् । ‘प्रयाप्त पैसा कमाएर कोही पनि व्यक्ति यतिबेला नेपाल घुम्न आउन थालेका होईनन । कामविहीन र खर्च सकिएर अप्ठेरोमा परेका व्यक्ति स्वदेश फर्किन थालेकोले उनीहरुलाई सस्तोमा बसोबास व्यवस्था गर्नुपर्छ,’ पराजुलीले भने, ‘सस्तो बसाई होटलमा हुनै सक्दैन । त्यसैले सकेसम्म पार्टी प्यालेस, धर्मशाला, समाजघर लगायतका ठाउँमा क्वारेन्टिन बनाउनुपर्छ ।’  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पनि अहिले छानिएका होटल सस्तोदेखि महंगो मुल्यका भएकोले पाहुनाले क्षमता अनुसार बस्न सक्ने बताउँछन् । ‘स्वदेश फर्किएका सबैजना महंगो होटलमा बस्न सक्दैनन् । सस्तोमै पाहुनाको चाँप पर्ने हो,’ तुलाचनले भने, ‘हामीले सस्तो होटल पनि व्यवस्था गरेका छौ । प्रतिव्यक्ति २ हजार रुपैयाँसम्मका होटल पनि छन् । पाहुना आफैले क्षमता अनुसार होटलमा बस्ने हुन् ।’ अहिलेसम्म करिब दुईहजा बेड तयार भईसकेको अध्यक्ष तुलाचनले बताए । 

प्रकाशित: २८ जेष्ठ २०७७ ०९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App