२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

क्वारेन्टिनमा भोकभोकै बालबालिका

ठूलालाई सरह बिहान र बेलुकाको खाना, पोषणयुक्त खाना र खाजा अभावले कुपोषण हुने सम्भावना

कैलालीको गौरीगंगा नगरपालिका–७, स्थित क्वारेन्टिनमा रहेका बालबालिका। तस्बिर: पुष्पराज/नागरिक

सामान्यतयाः दुई वर्षदेखि माथिका बालबालिकालाई बिहान–बेलुकीको खानासँगै दिनमा कम्तीमा पनि चारपटक खाजा र ‘स्न्याक्स’ खुवाउनुपर्छ। उनीहरुलाई दैनिक चारपटक खाजा, फलफुल खुवाउनुपर्छ। स्वास्थ्य विकासको क्रममा रहेकाले बालबालिकालाई यो समयमा बढीभन्दा बढी पोषक तत्व पाइने खानेकुराको जरुरत पर्छ। तर, अहिले गाउँगाउँका क्वारेन्टिनमा रहेका बालबालिका भने बिहान र बेलुकीको खानाकै भरमा दिन बिताउन बाध्य छन्। दिनभर उनीहरू भोकभोकै हुन्छन्।  

बिहान ७ बजे चिया पिएपछि दिउँसो ११ बजे मात्रै खाना खान पाउँछन् गौरीगंगा नगरपालिका–७, स्थित सुनपाल पञ्च मावि क्वारेन्टिनका बालकालिका। भारतबाट अभिभावकसहित फर्केका पाँचजना बालबालिका चार दिनदेखि क्वारेन्टिनमा छन्। बिहान उठ्नेबित्तिकै खाजा खाने बानी बसेका छोराछोरी अहिले क्वारेन्टिनमा भोक लाग्यो भनेर कराउने गरेको सरिता थापा बताउँछिन्। उनका १० वर्षीयया छोरी अनिता र आठ वर्षीय छोरा अंकित क्वारेन्टिनमा छन्। 

भारतको रत्नागिरिबाट फर्केका उनीहरु चार दिनदेखि क्वारेन्टिनमा रहेको बताउँदै उनले भनिन्, ‘बिहान चिया, दिउँसो खाना र बेलुकी खाना मात्र पाइन्छ। खाजा तथा नास्ता खै भनेर छोराछोरी कराउँछन्, पैसा दिएर मगाउन खोज्दा पनि ल्याइदिने कोही हुँदैन।’ भारतबाट ल्याएको पैसामा कोरोना भाइरस हुन सक्ने भन्दै कसैले पनि आफूले दिएको पैसा लिन नमानेको बताउँदै उनले भनिन्, ‘पैसा दिएर खाजा मगाउँदा कसैले पनि पैसा छुनै मान्दैनन्।’ अनिता र अंकितसँगै सात वर्षीय सुशील विक र साढे तीन वर्षकी कमला वड पनि क्वारेन्टिनमा छन्। क्वारेन्टिनमा बालबालिकालाई लक्षित गर्दै खाजा तथा खानाको व्यवस्था नहुँदा उनीहरु दिनभर भोकभोकै बस्नुपरेको छ, खेल्नुपरेको छ।  

बिहान चिया, दिउँसो ११ बजे खान र बेलुकी आठ बजेतिर खानाको व्यवस्था स्थानीय तहले गरेको बताउँदै क्वारेन्टिनमा भान्सेका रुपमा काम गरिरहेका डम्मरबहादुर साउदले भने, ‘वडा कार्यालयले जसरी खानाको व्यवस्था गरेको छ, सोहीअनुसार क्वारेन्टिनका सबैलाई खाना तथा खाजा खुवाउने गरेको छु।’ बालबालिकाको हकमा भने अहिलेसम्म कसैले केही नभनेकाले उनीहरुलाई छुट्टै किसिमको खानेकुरा दिन नसकिएको उनले बताए।    

कोरोना भाइरससम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा क्वारेन्टिनमा बस्ने व्यक्तिलाई बिहान चिया र खाजा, त्यसपछि खाना, दिउँसो खाजा र राति खानाको व्यवस्था गर्नुपर्ने उल्लेख छ। यो कार्यविधि वैदेशिक रोजगार गरेर फर्केका युवालाई लक्षित गर्दै बनाइएको हो। तर, सरकारले बनाएको कार्यविधिमा बालबालिका तथा ज्येष्ठ नागरिकलाई समेटिएको छैन। क्वारेन्टिनमा युवासँगै बालबालिका  र ज्येष्ठ नागरिक पनि छन्। क्वारेन्टिनमा मापदण्ड अनुसार खानाको व्यवस्था गरिए पनि बालबालिकालाई लक्षित पोषणयुक्त खाना र खाजाको व्यवस्था नभएको सुनौला हजार दिन कार्यक्रमका सुपरभाइजर यज्ञराज अवस्थीले बताए। उनले भने, ‘क्वारेन्टिनका बालबालिकालाई पोषणयुक्त खाने कुरा नखुवाउने हो भने क्वारेन्टिनबाट निस्कँदा बालबालिका कुपोषित हुने अवस्था सिर्जना नहोला भन्न सकिँदैन।’    

क्वारेन्टिनका बालबालिकाको अवस्था हेरेर उनीहरुलाई आवश्यक दूध, पोसिलो खानाको व्यवस्था गर्नुपर्ने निसर्ग हस्पिटल धनगढीका नवजात तथा बालरोग विशेषज्ञ डा. दीपक पौडेल बताउँछन्। दुई वर्षमुनिका बालबालिकालाई एक किसिमको खाने कुरा र दुई वर्षमाथिका बालबालिकालाई एक किसिमको पोषणयुक्त खाने कुराको व्यवस्था मिलाउनुपर्ने बताउँदै उनले भने,  

‘१४ देखि २१ दिनसम्म क्वारेन्टिनमा बस्ने बालबालिकालाई पोषणयुक्त खाने कुरा दिन नसके उनीहरु त्यहाँबाट निस्कँदा कुपोषित हुनुका साथै विभिन्न रोगले ग्रस्त हुन सक्छन्।’ उनले क्वारेन्टिनका बालबालिकालाई नियमित खोप दिनुका साथै लुतो र जुकाको औषधि पनि खुवाउनुपर्ने बताए। ‘क्वारेन्टिनमा सामूहिक बास र सफाइको कमी हुने भएकाले बालबालिकालाई छालासम्बन्धी रोगका साथै जुकाको सम्भावना रहन्छ,’ उनले भने, ‘छाला र जुकासम्बन्धी रोगबाट बचाउन पनि क्वारेन्टिनका बालबालिकालाई त्यसविरुद्धका खोप र औषधि दिनुपर्छ।’  

क्वारेन्टिनमा ठूला मानिस सरह बच्चालाई पनि खाना दिँदै आएको बताउँदै सविन नेपालद्वारा सञ्चालित बाल हेल्प लाइन कैलाली जिल्ला संयोजक विष्णु पौडेलले भनिन्, ‘क्वारेन्टिनमा रहेका बालबालिकालाई ठूला मान्छेलाई जस्तै खाना दिइएको छ, यसले गर्दा बालबालिकालाई कुपोषित हुने सम्भावना हुन्छ।’ उनले बालबालिकालाई छुट्टै खानाको आवश्यकता पर्ने बताउँदै भनिन्, ‘तुरुन्तै स्थानीय तहले क्वारेन्टिनका बालबालिकालाई पोषणयुक्त खाने कुराको व्यवस्था गर्नुपर्छ।’ बालबालिकालाई पटक पटक खाना तथा खाजाको व्यवस्था गर्नुपर्ने उनले बताइन्।  

सुदूरपश्चिम प्रदेश सरकार क्वारेन्टिनमा कति बालाबालिका छन् भन्ने विषयमा जानकार छैन। ‘अहिलेसम्म हामीलाई बालबालिका, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकको कुनै तथ्यांक उपलब्ध छैन,’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले भने, ‘क्वारेनिटनमा कति मानिस आए भन्ने मात्रै थाह छ, तिनीहरुको वर्गीकरण गरिएको छैन।’ 

प्रकाशित: २८ जेष्ठ २०७७ ०१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App