१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्रै मृत्यु र अन्त्येष्टि

चितवनमा कोरोना संक्रमणबाट निधन भएका व्यक्तिलाई भरतपुर अस्पतालबाट निकालेर अन्त्येष्टिका लागि लगिँदै । तस्बिर : सूर्यप्रकाश/नागरिक

गत वैशाख पाँच गते कोरोना संक्रमणको पहिलो पुष्टि भएको चितवनमा मंगलबार कोरोना संक्रमणकै कारण पहिलो मृत्यु भएको छ । भरतपुर महानगरपालिक–११ निवासी ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्रै मृत्यु भएका संक्रमितको देवघाट विकास क्षेत्रभित्र पर्ने वन क्षेत्रमा गाडेर अन्त्येष्टि गरिएको छ । भरतपुरस्थित नेपाली सेनाको कालीबहादुर गणबाट खटिएका सैनिकले शव व्यवस्थापन गरेका हुन्। शव गाड्नुअघि परिवारजनले पूजापाठ गरेका थिए ।

कोरोना संक्रमण पुष्टि भएको केही घण्टामै भरतपुर अस्पतालको आइसियूमा सोमबार साँझ लगिएका वृद्धको गत शुक्रबार भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालबाट स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको थियो । आइसियूमा उपचाररत ती वृद्धमा कोरोना संक्रमण पुष्टि भएको केही घण्टापछि नै नारायणी सामुदायिक अस्पतालले अक्सिजनको भरमा एम्बुलेन्समा राखी भरतपुर अस्पताल पठाएको थियो । सोमबार साँझ भरतपुर अस्पतालको आइसियूमा राखिएका बिरामीको मंगलबार बिहान निधन भएको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

भरतपुर अस्पतालले विज्ञप्तिमा मृतक पहिलेदेखि मधुमेह र रक्तचापको बिरामी रहेको जनाएको छ । कोभिड १९ को संक्रमण र निमोनियाको कारण बिरामीको निधन भएको उल्लेख छ ।

एकै दिन ३० जनामा संक्रमण

सोमबार भरतपुरमा रहेको निजी अस्पतालमा कार्यरत दुई जना चिकित्सकसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गत शुक्रबार र शनिबार संकलन गरी भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरूको पिसिआर नतिजा पोजेटिभ आएको थियो ।  

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डण्ट डा. श्रीराम तिवारीका अनुसार संक्रमितमध्ये पाँच जना नवलपरासी सुस्तापूर्वका, एक जना धादिङ र २४ जना चितवनका हुन् । कोभिड प्रयोगशालामा परीक्षणका लागि पठाइएका ३ सय १० वटा स्वाब नमूनामध्ये ३० जनाको नतिजा पोजेटिभ आएको उनले बताए । संक्रमितमध्ये नौ जना महिला र २१ जना पुरुष रहेका छन् । संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ र सम्बन्धित ठाउँ सिल गर्ने काम सुरु गरिसकिएको तिवारीले जानकारी दिए ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले संक्रमितहरूलाई दुई समूहमा विभाजन गरी एकथरीलाई भरतपुर कोरोना अस्थायी अस्पतालमा र अर्काथरीलाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको बताए । उनले नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचाररत बिरामीलाई भरतपुर अस्पतालको कोभिड आइसियूमा राखिएको र उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए ।  

चितवनमा ४१ जना पुगे संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या चितवनमा ४१ जना पुगेको छ । यसअघि ११ जनामा संक्रमण पाइएकोमा तीमध्ये तीन जना निको भएर घर फर्किसकेका छन् । बाँकी आठ जनामध्ये पाँच जनाको कोरोना अस्पतालमा, दुई जनाको भरतपुर अस्पतालको आइसोलेसन वार्डमा र एक जनाको आइसियूमा उपचार भइरहेको भरतपुर अस्पतालको कोभिड क्लिनिकका संयोजक डा. प्रमोद पौडेलले बताए । मंगलबार बिहान मृत्यु भएका ६८ वर्षीय पुरुषको पनि आइसियूमै उपचार भइरहेको थियो ।

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार सोमबार थपिएका ३० जना २१ देखि ६३ वर्षका छन् । चितवनमा कोरोना संक्रमणको पहिलो केस वैशाख ५ गते राप्ती नगरपालिका ८ निवासी आमा र छोरामा देखा परेको थियो । उनीहरू दुबै जना निको भई घर फर्किसकेका छन् । मंगलबार चितवनमा कोरोना संक्रमितको पहिलो मृत्यु भएको हो ।

प्रकाशित: २७ जेष्ठ २०७७ २३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App