१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चिन्तित हुँदै क्वारेन्टिनमा छिरे, खुसी हुँदै घर फर्किए

पहिलो पटक कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण गरिएको क्वारेन्टिनमा छिर्दा भारतबाट आउने सबैको मनमा एउटै त्रास थियो, ‘अब बाँचिन्न होला । बिरामी भइन्छ । सबैले अपहेलना गर्लान् । जिल्ला भित्र प्रवेश गर्दा पनि घरमा जान पाउँदैनौं होला ।’ तर १४ दिन अघि निकै निराश मन र चिन्तित मानिसकता लिएर जिल्लास्तरीय क्वारेन्टिनमा छिरेका यहाँका १ सय १९ जना निकै खुसी हुँदै घर फर्किएका छन् ।  

कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेकाहरुको रिपोर्ट नेगेटिभ आउने बित्तिकै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेतृत्वको टोली उनीहरुलाई घर फर्काउन गाडी सहित पुग्यो । गाडी सहित क्वारेन्टिनमा पुगेको टोली देख्दा एकाएक गडगडाहट ताली बज्यो । त्यो ताली कुनै कार्यक्रम र सभा समारोहको थिएन । क्वारेन्टिनमा बसेकाहरु बिचमा एकआपसमा खुसी साटासाट भइरहेको थियो ।  

पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर लैजाँदा अधिकांशलाई घर फर्कने चाहना पुरा हुदैन कि भन्ने चिन्ताले सताइरहेको थियो । केहीलाई त निद्रा समेत परेको थिएन । केहीलाई राम्रो संग खाना समेत रुचेको थिएन । तर एकाएक रिपोर्ट नेगेटिभ आँउदा कर्णाली प्राविधिक शिक्षालयमा खुसीको सीमा थिएन । अब ढुक्कका साथ घर, परिवार समाजमा बस्न पाउने भएपछि निकै खुसीको सास फेरिरहेका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक मंगल रावलका अनुसार तातोपानीका ६, सिँजाका २३, कनकासुन्दरीका २२, पातारासीका ५, तिलाका ४०, चन्दननाथका ६, र हिमाका १७ जना एकैसाथ घर फर्किए । यिनीहरू सबै भारत देखि आएका थिए ।

रजिष्टार विश्वराज काफ्ले क्वारेन्टिनमा घर फर्कन पाउँदा दिपावली मनाए जस्तै खुसियाली छाएको बताउँछन् । उनले भने, ‘घर जान पाउँदा औधि खुसी थिए । एकाएक ताली बजाइरहेका थिए । एक आपसमा खुसी बाड्दै थिए । यो जस्तो खुसीको दिन उनीहरुको लागि अरु छैन जस्तो थियो ।’

क्वारेन्टिनबाट घर फर्कने तयारी गर्दा गर्दै रात परिसकेको थियो । तर घर फर्कने चाहनाले उनीहरुलाई रात भनिरहेको थिएन । घर फर्काउनु पुर्व प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले घर फर्किएर होम क्वारेन्टिनमा बस्न सुझाव दिए ।   सामाजिक दुरी कायम गर्ने, सरसफाइ गर्ने, खानपिनमा ध्यान दिन आग्रह गरे ।  

कर्णाली प्रतिष्ठानले रिपोर्ट सार्वजनिक गरेको पाँच मिनेटमा प्रमुख जिल्ला अधिकारी र चिकित्सकको टोली क्वारेन्टिन स्थलमा पुगिसकेको थियो ।  उनीहरू सबै बसमा घर फर्किए ।   बसको व्यवस्थापन जिल्ला प्रशासन कार्यालय जुम्लाले गरेको थियो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा, प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले, अस्पताल निर्देशक डा. मंगल रावल र जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटा क्वारेन्टिन स्थलमा पुगेका थिए ।    

जेठ १९ गते सोही कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनमा दुइ सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी सहित भारतबाट आएका १७ जनामा कोराना पोजेटिभ देखिएको थियो । जेठ २३ गते तीन जना चन्दननाथ नगरपालिकाका स्थानीयमा कोराना पोजेटिभ देखियो । प्राविधिक शिक्षालयको क्वारेन्टिन सील गरिएको थियो ।  

त्यो क्वारेन्टिमा बसेका अधिकांशलाई कोरोना पोजेटिभ देखिन सक्नु अनुमान पनि गरिएको थियो । तर रिपोर्ट सबैको नेगेटिभ आएपछि जुम्लामा फैलिएको सन्त्रास कम भएको छ । सबैको त्रास कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनमै थियो । यो रिपोर्टले जुम्ला सुरक्षित नै छ भन्ने महसुस गरायो । रजिष्टार काफ्लेले भने, ‘त्रासपूर्ण माहोल सहज बन्यो । बाहिर उत्पन्न सबै भ्रम हटे ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसअघि पोजेटिभ देखिएकाहरू संग सम्पर्कमा रहेका सबैको स्वाब परीक्षण गरेको थियो । सबैको रिपोर्ट नेगेटिभ नै आयो । कर्णाली प्राविधिक शिक्षालयको झण्डै ३ घण्टाको व्यवस्थापनपछि क्वारेन्टिनमा रहेका सबैलाई बसबाट घर फर्काइयो ।

 कोरोना रिपोर्ट नेगेटिभ आएर घर जान लागेका दाजुभाइको तालीको गड्गडाहट बाट धेरै हौसला मिलेको प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले अनुभव गरेको छ । अझै प्रतिबद्ध भएर कोरोना बिरुद्दको लडाइमा लाग्न हौसला मिलेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्रकाशित: २५ जेष्ठ २०७७ १८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App