२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यार्सा टिप्न नपाउँदा जीविकोपार्जनमा समस्या

कोरोना भाइरसको जोखिम र लकडाउनका कारण यार्सा संकलनमा प्रतिबन्ध लगाइएपछि विपन्न परिवारको जीविकोपार्जनमा समस्या देखिएको छ । रुकुमपूर्व र डोल्पाका स्थानीयको आयआर्जनको मुख्य स्रोत नै यार्सा संकलन हो ।

‘यो वर्ष यार्सा टिप्न नपाइएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको छ,’ रुकुमपूर्वको मैकोटका सुविन्द्र पुनले भने, ‘२० वर्षदेखि यार्सा टिपेरै परिवारको वर्षभरिको खर्च टार्दै आएको छु ।’ उनका अनुसार भिरालो र सिँचाइ नहुने क्षेत्र भएकाले गाउँमा अन्न उत्पादन न्यून हुन्छ । गत वर्ष एक्लैले यार्सा टिपेर दुई लाख १६ हजार रुपैयाँ कमाएको उनले बताए ।

कोरोना भाइरसको जोखिमका कारण डोल्पा र रुकुमपूर्वमा रहेका जिल्ला विपद व्यवस्थापन समितिले यस वर्ष पाटन खुला नगर्ने निर्णय गरेका छन् । गत वर्ष पाटनमै पाँच सयदेखि एक हजार रुपैयाँमा यार्सा बिक्री भएको थियो ।

रुकुमपूर्वका हुकाम, मैकोट, पेल्मा, तकसेरा, काडा, कोललगायत गाउँका करिब सात सय परिवारको मुख्य कमाइ यार्सा बिक्री नै हो । यार्साको भरमा बाँचेका विपन्न परिवारलाई यो वर्ष जीविकोपार्जनको चिन्ताले सताएको हुकामका रामकृष्ण झाँक्रीले बताए । ‘जागिर छैन, मजदुरी गर्न खोज्दा पनि काम पाइँदैन,’ उनले भने, ‘विकास योजना पनि ठप्प छन्, कसरी परिवार पाल्ने ?’

जिल्ला प्रशासनले यार्सा प्रतिबन्धको निर्णय गरेपछि पाटन आसपासका क्षेत्र सुनसान छन् । पाटन नखुलेपछि ठेकेदार र होटल व्यवसायीसमेत समस्यामा छन् । यहाँका पाटन गत वर्षसम्म यार्सा संकलनको बेला भरिभराउ हुन्थे । यार्सा संकलन बन्द हुँदा राजस्व संकलनसमेत शून्य भएको डिभिजन वन कार्यालय रुकुमपूर्वका रेन्जर विश्व केसीले बताए । उनका अनुसार गत वर्ष यार्सा संकलनबाटै ३५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । पाटनमा संकलकको भीड हुँदा कोरोना भाइरस संक्रमणको जोखिम बढी देखिएपछि प्रतिबन्धको निर्णय भएको उनको भनाइ छ । यो सिजनमा यार्सा नटिप्दा अर्काे वर्ष उत्पादनमा वृद्धि हुने रेन्जर केसीको भनाइ छ ।

प्रकाशित: २५ जेष्ठ २०७७ २३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App