५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना संक्रमितलाई ओसार्न नपाईने एम्बुलेन्स लागुऔषध सप्लाई गर्दै

लागुऔषधको रुपमा प्रयोग हुने ८ किलो चरेससहित पक्राउ परेका तीन जना । तस्बिर : टंक/नागरिक

कोरोना भाइरस संक्रमितलाई क्वारेन्टिन स्थलबाट आइसोलेसनसम्म लैजानका लागि एम्बुलेन्स नपाएर सर्लाहीका स्थानीय तहका प्रमुख एवं सुरक्षा अधिकारीहरुलई टाउको दुखाई बनिरहेको छ । जिल्ला स्थित विभिन्न स्थानीय तहको क्वारेन्टिनमा राखिएका मध्ये परीक्षणमा कोरोना पोजेटिभ देखिएकालाई सदरमुकाम मलंगवास्थित आईसोलेसन वार्डसम्म पुर्‍याउन पटक–पटक एम्बुलेन्स नपाएर घण्टौंसम्म संक्रमितलाई क्वारेन्टिनमै राख्नु परिरहेको छ ।  

केही दिनअघि पर्सा गाउँपालिकामा दिउँसाे १२ जना संक्रमित भएको पुष्टि भएको खबर आयो । तर ती संक्रमितलाई सदरमुकाम मलंगवासम्म आइसोलेसन वार्डसम्म पुुर्‍याउन एम्बुलेन्स नपाउँदा पीकअप भ्यानमा ओसार्नु परेको थियो । मुलुकमा आईपरेको यस्तो कठिन अवस्थामा रेस्पोन्स नगर्ने एम्बुलेन्स लागुऔषध ओसारपसारका लागि भने प्रयोग भईरहेको खुलेको छ ।  

सर्लाही सदरमुकाम मलंगवाबाट लागुऔषध चरेस ओसारपसारमा संलग्न एम्बुलेन्ससहित तीन जना पक्राउ परेपछि यस्तो घटना बाहिर आएको हो ।  

मलंगवा नगरपालिका–८, झिलमिलियामाई मन्दिरबाट स्थानीय ३७ वर्षीय राम दुलार राय ८ किलो चरेससहित पक्राउ परेका छन् । रायको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा चरेस ओसारपसारमा संलग्न ‘मुस्लिम यूथ हेल्प कमिटी’ मलंगवा–६, को नाममा रहेको ज. १ च १४०७ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरका अनुसार रायको साथबाट चरेस बरामद् भएपछि उनको बयान अनुसार सोही एम्बुलेन्सबाट १३५ ग्राम चरेस बरामद गरिएको हो । रायलाई पक्राउ गरी सोधपुछ गर्दा उनले एम्बुलेन्स चालक मोहन राय यादव लगायतले सामान भारत पुर्याउन भनेको बयान दिएपछि अनुुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा आईतबार बिहान उक्त एम्बुलेन्स नियन्त्रणमा लिँदा १३५ ग्राम चरेस बरामद् भएको प्रनाउ कुँवरले जानकारी दिए ।  

प्रहरी नायव उपरीक्षक कुँवरका अनुसार सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिवार राति साढे ११ बजे एम्बुलेन्सका चालक मलंगवा नगरपालिका–३, का २८ वर्षीय मोहन राय यादव र सहयोगी मलंगवा नगरपालिका–४, का नथुनी ठाकुरलाई समेत पक्राउ गरेको हो ।  

त्यसैगरी धनकौल गाउँपालिका–३, बागमती नदी किनारबाट २६९ बोतल वालटेक्स नामक लागुऔषधसहित सिरहाको गोलबजार नगरपालिका–१, घरभई हाल बागमती नगरपालिका–१०, शंकरपुरमा रहेको ससुराली घरमा बस्ने ३४ वर्षीय सुनिल ठकुरी र बरहथवा नगरपालिका–५, हाथीडन्डा बस्ने २२ वर्षका इन्दल रामलाई पक्राउ गरेको छ । भारतबाट ज ४ प २०७४ नंं. को मोटरसाइकलमा लागुऔषध लिएर आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २५ जेष्ठ २०७७ १५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App