coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वदेश भित्रकालाई अलग्गै क्वारेन्टिन

जुम्लाको तिला गाउँपालिकाले स्वदेशबाटै जिल्ला भित्रिएकालाई बस्न अलग्गै क्वारेन्टिन निर्माण गरेको छ । भारतदेखि आएकाहरुलाई तीन स्थानमा क्वारेन्टिन निर्माण गरेकोमा स्वदेश भित्रबाट घर आउनेका लागि एक क्वारेन्टिन निर्माण गरेको हो ।

पछिल्लो समयमा भारतदेखि भित्रिनेहरुमा कोराना संक्रमण देखिएपछि स्वदेश भित्रबाट आउनेलाई छुट्टै क्वारेन्टिन निर्माण गरिएको तिला गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले जानकारी दिइन् । अनुसार तिला २ मा रहेको एक विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको हो ।

गाडीमा आउने हरेकलाई रारालिही प्रहरीचौकीले पहिचान गर्छ । स्वदेशको भए विद्यालयमा पठाउँछ । विदेशको भए सिँधै खलंगा पठाउँछ । भारतबाट आउनेहरु निकै जोखिममा रहेकोले नियमित स्वास्थ्य जाँच र पिसिआर परीक्षण गर्न सहज होस भनेर सिधै जिल्लास्तरीय क्वारेन्टिनमा पठाउने गरिएको हो ।

वडाध्यक्ष कलीबहादुर रावत क्वारेन्टिन व्यवस्थापनका लागि कुनै कसुर बाँकी नराखेको बताउँछन् । हाल १३ जना स्वदेश भित्रबाट गाउँफर्केकाहरु बसेका छन् । भारतबाट आएकाहरु बढि संक्रमित देखिएकोले स्वदेश तथा विदेशबाट फर्किनेहरुका लागि छुट्टा छुट्टै क्वारेन्टिन निर्माण गरिएको वडाध्यक्ष रावत बताउँछन् ।

स्वदेश भित्रबाट आउने पनि एक्कासी भित्रिन थाले । आउनुपुर्व जानकारी दिदैनन्,वडाध्यक्ष रावत भन्छन्,‘एक्कासी आउँदा व्यवस्थापनमा निकै समस्या हुने गरेको छ । तर स्थानीय युवाको साझेदारीमा क्वारेन्टिन व्यवस्थापन भइरहेको छ ।’ ’

क्वारेन्टिनमा बसेकाहरु पनि व्यवस्थापन सन्तोषजनक रहेको बताउँछन् । उनीहरु भन्छन्,‘यो क्वारेन्टिनमा व्यवस्थापन, व्यवहार र सम्पर्क निकै सन्तोष नै छ । ’ यहाँ भारतबाट भित्रिनेका लागि सरस्वती माबि कुडारी, भैरव आधारभुत विद्यालय त्रिवेणी र सीता माबि रारालिहीमा क्वारेन्टिन निर्माण गरिएको छ । यी तिनै क्वारेन्टिनमा गरेर दुई सय भन्द बढि बसेका छन् ।

भारतबाट आउनेका लागि जिल्लास्तरीय क्वारेन्टिन समेत निर्माण भएका छन् । अहिले सबै क्वारेन्टिनमा भारतबाट आएकाहरु नै बसेका छन् । यहाँका हरेक स्थानीय तहले भारतबाट आएका र स्वदेशबाट आएका बीच फरक फरक क्वारेन्टिन निर्माण गरिएको छ ।  

जेठ १९ गते भारतबाट आएकाहरु मध्ये १७ जनाका कोरोना संक्रमण देखिएपछि अलग्गै क्वारेन्टिन बनाउने कार्यमा स्थानीय तह जुटेका हुन् । स्वदेशबाट आउनेका लागि हरेक वडामा क्वारेन्टिन बनाइएका छन् । तर भारतबाट फर्केकाहरु जिल्लास्तरीय क्वारेन्टिनमा बसेका छन् । तिला गाउँपालिकाले स्वदेश र विदेशबाट आउनेका लागि छुट्टाछुट्टै क्वारेन्टिन बनाउनुका साथै आइसोलेसन बनाउने समेत तयारी थालेको छ । 

प्रकाशित: २५ जेष्ठ २०७७ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App