१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुदूरपश्चिमका पाँचजना क्वारेन्टिनमै बिलाए

सुदूरपश्चिमका पाँचजनाले क्वारेन्टिनमै ज्यान गुमाएका छन्। भारतको विभिन्न सहरबाट फर्केका उनीहरुको उपचार र उचित हेरचाह नपाएर ज्यान गएको हो। क्वारेन्टिनबाट सकुशल घर पुग्ने र कोरोनाबाट जोगिने उनीहरुको सपना तुहिएको मात्रै हैन, जीवन नै चुँडिएको छ।  

यही जेठ १५ गतेदेखि बाजुराको खप्तड छडेदह गाउँपालिका ७ का ६५ वर्षीय पुरुष मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका थिए। उनको शनिबार बिहान मृत्यु भयो। ‘उनी दमको बिरामी थिए। उनमा अरु केही समस्या थिएन,’ वडाध्यक्ष खगेन्द्र रावतले भने, ‘हिजो (शुक्रबार) साँझ दम बढेको थियो, औषधि पनि खुवाएका थियौं, बिहान मृत्यु भइहाल्यो।’ उनलाई कोरोना संक्रमण भएनभएको नमुना जाँचपछि मात्र थाहा हुनेछ।

त्यस्तै जेठ १८ गते भारतबाट आमाबुबासँगै फर्केकी बाजुरा बुढीगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको कोरोना संक्रमणबाट ज्यान गएको थियो। बाजुरा अस्पताल आइसोलेसनमा उनको मृत्यु भएको थियो। मृत्युपछि मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। ती बालिका र उनका आमाबुबालाई जेठ १४ गते बुढीगंगा नगरपालिका धुरालसैनमा मावि क्वारेन्टिनमा राखिएको थियो। घरमा पाइला टेक्न नपाईकन उनको ज्यान गयो। ज्वरो, स्वास्प्रस्वास र पखालाको समस्या देखिएपछि ती बालिकालाई जिल्ला अस्पताल आइसोलेसनमा लगिएकोमा थियो। ती बालिकाकी २३ वर्षीया आमामा पनि कोरोना पोजेटिभ देखिएको थियो।  

यसैगरी भारतबाट आमाबुबासँग फर्केका डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का सात वर्षीय बालकको पनि जेठ १८ गते क्वारेन्टिनमै मृत्यु भयो। मुम्बईबाट अघिल्लो दिन आएका उनीहरुलाई डडेल्धुरा बहुमुखी क्याम्पस क्वारेन्टिनमा राखिएको थियो। स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा ती बालकको बाटोमै मृत्यु भएको थियो। ‘सीमानाका प्रवेश गर्न पाएपछि सबैजना धेरै खुसी भएका थिए, घर नपुग्दै क्वारेन्टिनमै बालकको ज्यान गएपछि आमाबुबाको खुसी पनि बीच बाटोमै खोसियो’, नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र बिष्टले भने।

बैतडी पुर्चौडी नगरपालिका–४ का हरिश लुहार पन्जाबमा मजदुरी गर्थे। पत्नीलाई पनि उनले आफूसँगै पन्जाब लगेको थिए। लकडाउन भएपछि उनीपनि उतै रोकिए। सीमानाकाबाट प्रवेश पाउने भएपछि उनीहरू नेपाल आए। सीमाबाट भित्रिएपछि स्थानीय तहले व्यवस्था गरेको गाडीमा हरिश डेढ वर्षका छोरा र पत्नीसहित गाउँकै मालिका मावि क्वारेन्टिनमा पुगे। क्वारेन्टिनमा पुगेपछि घर जान पाइने आशमा खुसी भएका हरिशमा पनि बज्रपात आइप¥यो। मुटुको समस्या रहेकी उनकी २२ वर्षीया पत्नी सुनिताको नियमित सेवन गर्ने औषधि नपाएर जेठ १९ गते क्वारेन्टिनमै ज्यान गयो। ‘अन्य छोराछोरीसँग भेट गर्न नपाईकन क्वारेन्टिनमै उनको ज्यान गयो’, हरिशले भने,

‘हाम्रो सबै खुसी बीच बाटोमै खोसियो।’ उनीहरु जेठ १६ मा गौरीफन्टा नाका हुँदै गाउँ गएका थिए। एक वर्षदेखि मुटुको बिरामी रहेकी सुनिताको नियमित खाने औषधि सकिएको १२ दिन भएको थियो। नियमित खाँदै आएको मुटु रोगको औषधि सकिएपछि उनले धेरैतिर  हारगुहार गरिन्। कतैबाट पनि व्यवस्था नभएपछि ज्यानै गुमाउनु प¥यो।

डडेल्धुराको असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीया सविता विककोे  पनि जेठ २० गते राति त्यहीं मृत्यु भयो। चार दिनअघि भारतबाट पति, अढाई वर्षका छोरा र ६ महिनाकी छोरीसँग आएकी उनी गाउँपालिकाले निमार्ण गरेको असिग्राम आधारभूत विद्यालय, रौनाकोटको क्वारेन्टिनमा बसिरहेकी थिइन्। शौचालय जाँदा बेहोस भएलगत्तै उनको मृत्यु भएको थियो। ‘कुनै लक्षण देखिएको थिएन, शौचालय जाँदा मुखबाट रगत बान्ता भएको थियो’, वडाध्यक्ष इन्द्रबहादुर कार्कीले भने।

विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार क्वारेन्टिनमा राखिएका मानिसको चिकित्सकको निगरानीमा नियमित स्वास्थ्य जाँच हुनुपर्छ। तर अव्यवस्थित क्वारेन्टिनमा उचित हेरचाह र उपचार नपाएर ज्यान जाने गरेको छ। ‘क्वारेन्टिनमा सरसफाइ, चिकित्सकको निगरानी र स्वास्थ्य जाँच नहुनुले जोखिम बढेको वरिष्ठ फिजिसियन शुभेसराज कायस्थले बताए ।

सुदूरपश्चिममा जेठमा मात्र ७० हजारभन्दा बढी मानिस भारतबाट भित्रिएका छन्। करिब ६० हजार क्वारेन्टिनमा छन्। क्वारेन्टिनमा राखिएकालाई आरडिटी जाँच गरेर घर पठाउन थालिएको छ। 

प्रकाशित: २५ जेष्ठ २०७७ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App