१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गण्डकी प्राविधिक शिक्षा तालिम प्रतिष्ठानको संरक्षकमा मुख्यमन्त्री राखिएकोमा विरोध

गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रतिष्ठान स्थापना, ब्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पुनः प्रदेश सभामा आइपुगेको छ । प्रदेशमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यले बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइएको विधेयक शुक्रबार समितिका सभापति मोहनप्रसाद रेग्मीले पुनः प्रदेश सभालाई बुझाएका हुन्।

यसैबीच, विधेयक उपर शुक्रबारदेखि प्रदेश सभामा छलफल शुरु भएको छ । छलफलमा प्रतिपक्षी सांसदहरूले कोरोनासँग जुध्ने समयमा विधेयक आएको भन्दै विरोध गरे । विधेयक प्रदेशका लागि अपरिहार्य भएपनि परिस्थिति अनुकुल नभएको उनीहरूको भनाई छ । साथै उनीहरूले प्रतिष्ठानको संरक्षकमा मुख्यमन्त्री रहने तथा सदस्यमा उद्योग वाणिज्य संघका अध्यक्ष वा निजले तोकेको व्यक्ति रहने भन्ने प्रावधानको विरोध गरे ।

छलफलमा भाग लिदै कांग्रेस सांसद ओमकला गौतमले प्रतिष्ठानको संरक्षकमा मुख्यमन्त्री राख्ने प्रावधानले सामन्तवादको गन्ध आएको टिप्पणी गरिन् ।  

कांग्रेसकै अर्का सांसद कुमार खड्काले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न विधेयक अत्यन्त आवश्यक भएपनि वर्तमान विषम परिस्थितिमा विधेयकलाई भन्दा विपत्तिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले प्रतिष्ठान सम्बन्धी निर्णय सरकारले नै गर्ने अवस्थामा यसको संरक्षकमा मुख्यमन्त्रीलाई राख्दा विवाद सिर्जना हुने बताए ।

कांग्रेस सांसद मनकुमारी गुरुङलेपनि कोरोना केन्द्रित हुनुपर्नेमा प्रतिष्ठान सम्बन्धी विधेयक ल्याएकाले विरोध गर्नुपरेको बताइन् ।

नेकपा सांसद मिना गुरुङले प्रतिष्ठान गठन भएर प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम सञ्चालन गर्न सकेमा प्राविधिक शिक्षाका लागि विदेश जानुपर्ने बाध्यता हट्ने भन्दै विधेयकको समर्थन गरिन् ।

नेकपाकै अर्का सांसद मिनप्रसाद गुरुङले प्रतिष्ठान प्रदेशको गौरवको आयोजना भएको बताए । उनले दक्ष जनशक्ति उत्पादनमा प्रतिष्ठान कोशेढुंगाा सावित हुने विश्वास व्यक्त गर्दै विधेयकमा आफ्नो समर्थन जाहेर गरे । प्रदेश सभाको अर्को बैठक यहि जेठ २५ गते आइतबार बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

प्रकाशित: २३ जेष्ठ २०७७ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App