१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लकडाउनमा मौलाउँदै साइवर अपराध

पेप्सीकोलाकी जुनु (नाम परिवर्तन)लाई लोग्नेको व्यवहारले घरमा टिक्न नसक्ने बनायो। लोग्नेले इज्जत नदिएकै कारण बैबाहिक जीवनलाई एकवर्ष अघि डिभोर्स गराएर तोडिन्। त्यसपछि उनीहरु आ–आफ्नै बाटो लागे। जुनुले डिभोर्सपछि पुरानो नम्बर र फेसबुक ब्लक गरिन्। नयाँ मोबाइल नम्बर लिएर फेसबुक खोलिन्। सम्बन्ध तोडिएपछि उनी ओखलढुंगाबाट काठमाडौं आएकी थिइन्।  

उनले नयाँ नम्बर नातेदार बाहेक अन्य व्यक्तिलाई दिएकी थिइनन्। लकडाउन भइरहेको बेला एकदिन उनको म्यासेन्जरमा आफन्तले एउटा फेसबुक पोष्टको ‘स्क्रीन सर्ट’ पठाए जसले उनलाई मर्नु न बाच्नु बनायो। त्यसमा उनको फोटो राखेर ‘वेश्या’ भनि व्याख्या गरिएको थियो। त्यसपछि उनलाई ‘ग्राहक’ जस्तै बनेर फोन गर्नेहरुको ओइरो लाग्यो। उपाय नभएपछि उनले फेसबुक ‘डिएक्टीभ’ गरिन्। मिनेट मिनेटमा आउने फोन कलले तर्साउन थोलपछि फोन पनि अफ गरिन्। निवेदन दिन भन्दै सोमबार उनी पेप्सीकोलाबाट हिड्दै साइबर व्युरो पुगिन्। तर, उनको निवदेन दर्ता भएन। व्युरोले अश्लिल पोष्ट हटाइदिने भन्दै उनको निवेदन रिसिभ गरी फाइलमा राख्यो। त्यसपछि उनी हिड्दै फर्किइन्।  

पछिल्लो समय साइबर व्युरोमा यस्ताखाले निवेदन दिनेको भीड नै लाग्छ। प्रहरीका अनुसार लकडाउनको बेला अन्य अपराधिक घटनामा कमी आएतापनि कम्प्युटर, इन्टरनेट तथा प्रविधिमाफर्त हुने अपराधिक क्रियाकलापले झन् उचाई लिएको छ। प्रविधिको व्याप्त प्रयोग भएको र बाहिरी अपराध गर्न नपाएपछि लकडाउनको मौका छोपी साइवर अपराध गर्ने गिरोह मौलाएको हो।  

व्यक्ति, व्यापार, आर्थिक कारोबार, बैंक खातालगायतलाई लक्षित गरी प्रविधिमार्फत अपराध गर्ने समूह बढेको व्युरोको तथ्यांकले देखाउँछ। साइबर अपराध व्यूरो भोटाहिटीका अनुसार चैत्र ११ गतेयता व्युरोमा ३ सय ८० वटा उजुरी परेका छन्। त्यसमध्ये ५ वटा उजुरी मात्रै दर्ता भएका छन्। ती उजुरी अनलाईन कारोबारसँग सम्बन्धित रहेको व्यूरोले जनाएको छ। व्युरोका एसपी राकेश सिंहले लकडाउनको बेला गम्भीर प्रकृतिका उजुरी मात्रै दर्ता गरेर अघि बढाएको जानकारी दिए। उनका अनुसार व्यूरोमा पर्ने उजुरीमध्ये सबैभन्दा बढी सामाजिक सञ्जालसँग सम्बन्धित नै छन्। त्यसमा पनि महिलाहरु साइबर अपराधबाट बढी पीडित भएको व्यूरोको तथ्यांकले देखाउँछ। तथ्यांक अनुसार ३ सय ८० मध्ये दुई सय ८० वटा निवेदन महिलाले नै दिएका छन्। उजुरी हेर्दा ‘श्रीमानसँग डिभोर्स भएकाहरु सबैभन्दा बढी पीडित देखिएका छन्। फेक आइडी खोलेर अस्लिस फोटो राखिदिने, फोटो जोडिदिने, म्यासेन्जरमा धम्की दिने, पैसा पठाउन लगाउनेजस्ता उजुरी बोकेर पीडितहरु आउनुहुन्छ,’ उनले भने। उनका अनुसार पछिल्लो समय फुर्सद भएकाले पनि अनाश्यक तरीकाले सामाजिक सञ्जालमार्फत अरुको चरित्र हत्या गर्ने काम भइरहेको भेटिएको छ।  

मुद्दा दर्ता गर्दैन प्रहरी  

लकडाउनको बेला आफूमाथि साइबर अपराध भएको भन्दै दैनिक २० जना भन्दा बढी व्यक्ति निवेदन बोकेर व्यूरोमा पुग्छन्। व्युरोले सबै उजुरी त लिन्छ तर मुद्दा चलाउँदैन। त्यसो त पीडितका निवेदनहरु अहिले फाइल बनाएर राख्नुबाहेक अन्य विकल्प छैन व्युरोसँग। लकडाउनको बेला सबै उजुरीमा मुद्दा चलाउन नसकिने भएपछि प्रहरीले उजुरी मात्रै लिएको छ। व्युरोका एसपी सिंहले यो बेला जघन्य र ठूला अपराध बाहेकका उजुरीमा त्यति काम नभएको बताए। तर, सामाजिक सञ्जालमा कसैलाई गलत लेख्नेकोहरुका आइडी भने प्रहरीले बन्द गरिहरहेको उनको भनाई छ। ‘लकडाउनको बीचमा हामीकहाँ सामाजिक सञ्जालमै चरित्र हत्या भएका धेरै निवेदन आए, सकेसम्म त्यस्ता चरित्र हत्या गर्ने व्यक्तिमा आइडी बन्द गराएका छौं,’ उनले भने, ‘दुई महिनामा दुई सय भन्दा बढी फेक आइडि व्लक गरिएका छन्।’  

अनलाइनबाटै उजुरी दिन सकिने

साइबर अपराध नयाँ अपराधिक ‘टुल्स’ भएकाले यसमा पीडितमात्रै होइन कारबाही गर्ने निकाय प्रहरी पनि अभ्यस्त भइसकेको छैन। प्रहरीले विभिन्न च्यानलहरु अपनाएर साइबर अपराधलाई नियन्त्रण गर्ने प्रयास भने गरेको पाइन्छ। तर पीडितहरुलाई अझै पनि साइबर अपराध सम्बन्धी ज्ञान नभएकाले कसरी कारबाही गराउने र कहाँ निवेदन दिने भन्ने विषयमा अलमल नै छ। साइबर व्युरोमा काम गर्ने आधिकारीक कार्यालय भएकाले यहीँ निवेदन वा उजुरी दिनु उपयुक्त मानिन्छ। यदी पीडितले अरु प्रहरी कार्यालयमा साइबर अपराधका उजुरी वा निवेदन दिएका छन् भनेपनि यही पठाइन्छ। अरु अपराधका विषयमा उजुरी दिन प्रहरी कार्यालयमै पुग्नुपर्ने व्यस्था भएतापनि साइबर अपराधबारे उजुरी दिन कार्यालयमै पुग्नु पर्छ भन्ने छैन। प्रहरीले अनलाईनमार्फत् पनि उजुरी वा निवेदन दिन सकिने व्यवस्था गरेको छ। त्यसको लागि निवेदन टाइप गरी शीर्षक छुट्याएर प्रमाणसहित www.cyberbureau@nepalpolice.gov.npइमेल गर्न सकिन्छ। स्क्रीन सर्ट, परिचयपत्र, लिंक, भिडियो, अडियो, फोटो लगायत प्रमाण निवेदनसँगै पठाउनुपर्ने हुन्छ। यसबाहेक ९८५१२८६७७१ मा फोन गरी उजुरी टिपाउन पनि सकिने व्युरोका एसपी सिंहले जानकारी दिए। 

ओझेलमा साइबार व्यूरो  

नेपाल प्रहरीले साइबर अपराधसम्बन्धि मुद्दाहरु बढ्न थालेपछि २०७५ देखि भोटाहिटीमा साइबर व्युरो भनेर छुट्टै कार्यालय सञ्चालनमा ल्यायो। उक्त कार्यालयमा पीडितहरु त्यति भीड भने लाग्दैन। कारण व्यूरोको काम कारबाहीबारे आम सर्वसाधारणलाई जानकारी नै छैन। साइबर अपराध भए कहाँ जाने धेरैजसो अमलमलमा पर्छन्। अधिकांश मानिसहरु साइबर अपराधका जाहेरी बोकेर महानगरीय अपराध अनुसन्धान महाशाखा नै पुग्ने गरेका छन्। महाशाखाले ती व्यक्तिहरुलाई व्युरोमै पठाउने गरेको छ। यसबारेमा आम सर्वसाधारणलाई प्रहरीले जानकारी गराउँदै आएको प्रहरी प्रधान कार्यालयमा प्रवक्ता डिआइजी निरज शाही बताउँछन्। तर, सर्वसाधारणले साइबर अपराधका निवेदन बोकेर अन्य प्रहरी कार्यालयमा पुगेको देख्दा साइबार व्यूरो ओझेलमा छ भन्ने प्रष्ट हुन्छ। अहिले साइबर व्यूरोमा आउनुपर्ने २० वटा मुद्दा महाशाखा र १२ वटा भन्दा बढी मुद्दा परिसरमा रहेको महाशाखाका अधिकारीले बताए। ती सबै मुद्दाहरु साइबर व्युरोमै ठोक्किने प्रवक्ता शाहीले बताए। ‘हाम्रा कार्यक्रमहरुमार्फत् सकेसम्म सबै जानकारी सर्वसाधारणलाई गराउँछौं, यसलाई अरुले पनि यस्तो व्युरो छ है भनेर खबर गरिदिए अझ सजिलो हुने थियो,’ उनले भने।  

प्रहरीले यसरी बन्द गर्छ सामाजिक सञ्जाल  

प्रहरीले निवेदकको सबै प्रमाण हेर्छ। त्यसपछि सामाजिक सञ्जालको कुन माध्यम (फेसबुक, टुइटर, युट्युब, इन्ट्राग्राम, भाइबर, म्यासेन्जर)बाट अपराध भएको हो त्यो पत्ता लगाउँछ। कुन इन्टरनेट कम्पनी प्रयोग गरेको छ त्यसबारे पनि सर्र्च गर्छ। आइपी ठेगाना पत्ता लागेपछि प्रयोग भएको आइडी सर्च गर्छ। आइडी र निवेदनलाई तुलना गर्छ। पोष्ट गरिएका विषयहरु डिलिट भए नभएको चेक गर्छ। त्यसपछि न्युयोर्क र सिंगापुर तथा त्यो सामाजिक सञ्जालको आधिकारी कार्यालय जहाँ छ त्यही पठाएर बन्द गर्न लगाउँछ।

 

 

 

 

 

प्रकाशित: २३ जेष्ठ २०७७ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App