१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आइसोलेशन कक्ष भरिएपछि अस्पताल बाहिर उपचारको तयारी

कोभिड—१९ उपचारका लागि धौलागिरि अस्पतालमा बनाइएको १२ श्ययाको आइसोलेशन कक्षमा बिरामी राख्ने ठाउँको अभाव भएपछि अस्पतालबाहिर उपचारको तयारी शुरू गरिएको छ।  बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै धौलागिरि अस्पताल बाहिर उपचारको तयारी शुरू गरिएको हो। अस्पतालमा सबै बिरामीको उपचार गर्न नसकिने भएकाले अस्पताल बाहिर वैकल्पिक व्यवस्था गर्न लागिएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ।  

जिल्लाको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकामा आज देखिएका १० जना कोभिड–१९ का बिरामीको उपचारका लागि सदरमुकाम बाहिरका विकल्पको खोजी थालिएको बताइएको छ। कोभिड—१९ का बिरामीहरुलाई कहाँ राखेर कसरी उपचार गर्ने भन्ने विषयमा जिल्ला कमाण्ड पोष्टको बैठक आजै बस्दै छ। नेपाल सरकारले पनि नयाँ कार्यविधि बनाएको छ सोहीअनुसार गर्नुपर्ला कि, कमाण्ड पोष्टका संयोजक गौलोचन सैँजूले भने, अस्पताल ल्याउन सम्भव छैन्, आइसोलेशन कक्षमा ठाउँ छैन्। सङ्क्रमित देखिएकै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा आइसोलेशन बनाउने वा पायक पर्ने मुख्य स्वास्थ्य संस्थामा पुर्‍याउने भन्ने विषयमा कमाण्ड पोष्टले छलफल गर्दैछ।  

गण्डकी प्रदेशमा आज एकै दिन  देखिएका १६ नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै बागलुङका छन्। यहाँका तीन स्थानीय तहका क्वारेन्टिनमा रहेका १० जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङको निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा बसेका २२ र २९ का दुईजना पुरुष र ३३ वर्षीय एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यस्तै, बडीगाड गाउँपालिका ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा बसेका १६, २०, २१ र २५ वर्ष उमेर समूहका चारजना पुरुष र बागलुङकै गल्कोट नगरपालिका क्वारेन्टिनमा बसेका २०, २२ र २३ का तीनजना पुरुष गरी जम्मा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जिल्ला कमाण्ड पोष्टका अनुसार उनीहरु सबैको घर नजिकैको स्वास्थ्य संस्था वा क्वारेन्टिनलाई आइसोलेशन बनाएर उपचार शुरु हुनेछ।

पूर्वतयारी नरहेका कारण उनीहरुलाई उपचारस्थलमा पुर्‍याउन भने समय लाग्ने भएको छ। सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा रहेका १२ श्ययाको आइसोलेशनमध्ये सात जनाको यसअघि नै उपचार भइरहेको छ। पाँच श्ययामात्रै बाँकी छन्। बागलुङमा पछिल्लो समय थपिएकासँगै सङ्क्रमितको सङ्ख्या १८ पुगेको छ भने दुईजना निको भएर घर फर्किएका छन्। 

प्रकाशित: २२ जेष्ठ २०७७ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App