coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘आइसोलेसन’ बेडबाट भगवान पुकार्दै युवक

२४ घण्टादेखि भोकभोकै संक्रमित

कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएका १७ जनालाई मंगलबार साँझ जिल्ला कोभिड विशेष अस्पताल सिरहाको आइसोलेसनमा भर्ना गरियो । अस्पताल पुगेका उनीहरुलाई झुल, साबुन, पानीको बोतल, चाउचाउ र विस्कुटको एक एक प्याकेट दिएर आइसोलेसनमा भर्ना गर्‍यो ।  

आइसोलेसन त क्वारेन्टिन भन्दा सुविधायुक्त होला भनेर उनीहरु हौसिएका थिए । तर, कोठामा पुग्दा शौचालय थियो पानी थिएन आइसोलेसन कक्षबाट एक युवकले फोनमा भने,‘कोरोना भाइरस भन्दा पहिला भोकले मरिएला जस्तो लाग्न थाल्यो । मंगलबार १२ बजेदेखि अहिलेसम्म भोकभोकै छौं । हामीलाई क्वारेन्टिनमै पठाइदिए बरु बाँच्ने थिएँ ।’

रातभर आइसोलेसनमा भोकले छटपाउँदा पनि कोही खाना दिन आएनन् । ‘शौच रोकेर बस्दा पेट दुखेर हैरान छौं’ आइसोलेसन वार्डबाट युबकले भने,‘शौचालयमा पानी छैन, ढोकामा ताल्चा लगाइदिएको छ । हामी थुनिएका छौं । कसलाई कसरी गुहार्ने । मंगलबार राती खाना पनि दिएन । भोकभोकै रात अनिदो बिताएका उनको छटपटी झनै बढेको छ ।

‘न ज्वारो आएको छ न सास फेर्न गाह्रो भएको छ संक्रमित एक युवकले भने,‘कोरना भाइरस पोजेटिभ भनेर अस्पतालमा ल्याएर थुनिदिएको छ । जिल्ला कोभिड विशेष अस्पताल सिरहाको आइसोलेसन बेडबाट नागरिकन्युजसँग फोनमा भक्कानिएँर युवकले भने,‘घरपरिवारमा रुवाबासी चलेको छ, के हुने हो ठेगान छैन ।’ यहाँ शौचालय छ तर पानी छैन । हात धुने ठाउँमा फोहोरै फोहोर छ । कोठाभरी लामखुट्टेको प्रकोप छ उनले गुनासो पोखे ,‘यहाँ कोरोनाले भन्दा पनि भोक, अनिन्दा र अभावले मरिन्छ जस्तो लाग्छ ।’  

उनी भन्छन,‘झ्याल पनि बन्द छ हावा ओहोरदोहर हुँदैन । ढोकापनि बन्द छ । डाक्टर हेर्न पनि आउँदैनन् । यहाँ आएदेखि डर लागेको छ । सबै जना रोएर बसेका छन ।’

भारतको चन्दीगढमा मजदुरीको काम गर्दै आएका सिरहाका उनीहरु भारतमा कोरोना संक्रमण बढ्दै गएपछि रोजगार गुमाउन पुगे । रोजगार गुमेपछि लकडाउन सुरु भयो । मजदुरीबाट कमाएको पैसाले जसोतसो दुई महिना गुजारा चलाएका उनी जेठ २ गत्ते गाउँ(माड्र) आइपुगे । भारतका चार जना र हामी दुई जना चिप रिजर्भ गरेर माडरसम्म आयौं उनले भने,‘भारतका साथीहरु घर पुगिसके मँ क्वारेन्टिनबाट अस्पताल पुगेका छौं ।’ उनीसँग चन्दीगढबाट आएर सँगै क्वारेन्टिनमा बसेका अर्काे जनाको पिसिआर परीक्षण रिपोट नेगेटिभ आएको छ । उनी अहिले सुर्यनारायण सत्यनारायण मरबैता क्याम्पसको क्वारेन्टिनमै छन् ।

युवकलाई कोरोना संक्रमण भएको पत्याउन गाह्रो भैरहेको छ । रुघा, खोकी, ज्वरो सास फेर्न गाह्रो लगायतका अन्य लक्षण नदेखिएका उनी आफु संक्रमित र १८ दिनदेखि सँगै बसेका साथी नेगेटिभ कसरी भयो ? प्रश्नले अत्याएको छ । उनको  मनोबल बढउने परमर्श कसैले दिएको छैन । हिजोबाट कोही भेट्न पनि आएका छैनन् । ‘डाक्टर, जनप्रतिनिधि, क्वारेन्टिनका कर्मचारी कोहि पनि हाम्रो डर दूर गर्ने बचन दिएनन् ’उनले भने ‘हामी सबै जना डराएका छौं, हाम्रो परिवारका सदस्य अतालिएका छन् । हामीजस्ता बेसाहारा संक्रमितले डाक्टरको अनुहार पनि हेर्न नपाइने भयो, उनी भक्कानिए ।’

बुद्यबार दिउँसो २ बजे कालो प्लास्टिकमा दालभात हालेर हामी बसेको कोठाको झ्याल खोलेर फालिदिए संक्रमित युवकले भने,‘खोलेर हेर्दा दालभात गन्हाइसकेको थियो । हामी खाएनौ । फोहोर राख्ने भाँडोमा फालिदियौं ।’ क्वारेन्टिनमा कमसेकम यस्तो व्यवहार गरेको थिएन । हाम्रो मनोबल उच्च थियो उनी भन्छन्,‘अस्पतालको व्यवहारले हामी कोरोनामाथि विजय प्राप्त गर्न सक्छौ जस्तो लाग्दैन ।’  

 

 

 

 

प्रकाशित: २१ जेष्ठ २०७७ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App