४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भुल्केमा यसरी नियन्त्रणमा आयो कोरोना

उदयपुरको कोरोना उद्गमस्थल भुल्के मस्जिद । तस्बिरः महेश्वर

वैशाख ५ गते एकैदिन ११ जमातिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै उदयपुरको भुल्के एकाएक चर्चामा आयो । ‘भारतीय धर्मप्रचारहरु लुकेर बसेको’ स्थानीयले रिपोर्ट गरे अनुसार प्रहरी प्रशासनले अनुगमन गर्दा त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिदमा १२ भारतीयसहित १६ जमाति भेटिएपछि मस्जिदलाई क्वारेन्टिनमा परिणत गरी त्यहीँ राखियो ।  

पोलिमेरी चेन रियाक्सन (पिसिआर) विधिको परीक्षण किट त्यतिञ्जेल नआईसकेकाले दु्रत लक्षण परीक्षण (आरडिटी) विधिबाट जाँच गर्दा उनीहरु सुरक्षित देखिए । तर, भारतमा कोरोना फैलिईसकेको र आरडिटी भरपर्दो नभएको भन्दै जिल्ला स्वास्थ्य टोलीले स्वाब संकलन गरी पठाउँदा उनीहरु संक्रमित पुष्टि भए । त्यसबेलासम्म स्पेनबाट कतार एयरलाईनसमार्फत चैत ४ गते नेपाल भित्रिएकी १९ वर्षीया युवतिसहित ५ जना मात्र संक्रमित पाइरहँदा एकैचोटी ११ संक्रमित भेटिएपछि भुल्के मुलुककै ‘कोरोना इपिसेन्टर’ बन्न पुग्यो । यो अप्रत्यासित घट्नाले सिंगो देशकै ध्यान भुल्केतर्फ मोडियो ।  

थप संक्रमण फैलिन नदिन स्थानीय जनप्रतिनिधि, प्रशासन, प्रहरी र स्वास्थ्य टोली रातारात परिचालित भए । प्रहरी प्रशासन र स्वास्थ्य कार्यालयका प्रतिनिधि सम्मिलित ‘केस इन्भेस्टिगेसन ट्रेसिङ कमिटी (सिआईटीसी)’ ले जमातिहरुको ‘ट्राभल हिस्ट्री’ खोतल्दै ‘कन्ट्याक्ट टे«सिङ’ गर्दा मंसिर अन्तिम साता जोगवनी हुँदै मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिद घुम्दै फागुन २७ गते उदयपुरको शिवाई छिरेर चैत १ गते नै भुल्के आएको खुल्यो । त्यत्तिञ्जेलसम्म थप ५ जमातिमा पनि संक्रमण फैलिईसकेको थियो ।  

भुल्केमै रहेको नेपाली सेनाको १८ नं. बाहिनी अड्डा जहाँ नियमित मस्जिद धाउने परिवारकै महिलाहरुले ढाकीमा बेच्न ल्याउने तरकारी खाँदै आएको सैनिक क्याम्पसमेत खतराको सूचीमा राखियो भने आसपासका २/३ बस्तीमा संक्रमण नफैलियोस भनेर प्रशासनले ५ गते साँझदेखि नै गाउँ ‘सिल’ गरिदियो । संभावित संक्रमित पत्ता लगाउन सैनिक मुख्यालयबाट स्वास्थ्य टोली ६ गते हेलिकोप्टरमार्फत भुल्के आएर लगातार २ दिन मस्जिद आसपासका २ सय ६१ मुस्लिम समुदाय र बाँकी सेना, प्रहरी तथा स्वास्थ्यकर्मी गरी ३ सय ५१ को स्वाब संकलन गरी शुक्रबारज ट्रपिकल अस्पताल टेकु लग्यो । नेपालमा कोरोना सुरु चरणमा रहेकाले केन्द्रीय प्रयोगशालामा मात्र परीक्षण गर्नुपर्ने समस्या हटाउँन प्रदेश १ ले कोसी अस्पताल विराटनगर र बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमासमेत परीक्षण ल्याव स्थापना ग¥यो ।  

वैशाख ९ गतेभित्र टेकु, विराटनगर र धरानमा गरिएको परीक्षण रिपोर्टले थप १४ जनामा भाइरस संक्रमणसँगै भुल्केमै २८ संक्रमित देखिए । निरन्तर स्वाब परीक्षण गर्दा वैशाख अन्तिम साता ३ महिलासहित ४ जनामा थप संक्रमण देखियो । अघिल्लो परीक्षणमा स्वस्थ्य देखिएका ३ सय ३१ मध्ये ३ सय ६ को पिसिआर जाँचमा उनीहरु पोजेटिभ भेटिए । तर, सबै संक्रमित परिवारकै सदस्य थिए । वैशाख ५ देखि ९ गतेसम्म २८ रहेकोमा ४ जना थपिदै संक्रमित संख्या भुल्केमै ३२ पुग्यो ।  

यो परिमाणसँगै ३ सातासम्म नयाँ संक्रमित नदेखिँदा ओझिदै गएको त्रासको पारो फेरि उक्लियो । यसबीचमा मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे र आन्तरिक मामिलामन्त्री हिक्मत कार्की प्रभावित भुल्केक्षेत्रको अनुगमन गर्न आए । यता संक्रमण भारतीय जमातिबाट भएको हो या अन्यबाट भन्ने अनुसन्धान चल्दै थियो । ट्राभल हिस्ट्री र कन्ट्याक्ट टे«सिङले जमातिबाट नभएर भारतबाट चैत ११ गते घर फर्केका २८ वर्षीय विद्यार्थीबाट भाईरस सरेको तथ्य पत्ता लाग्यो । यो तथ्यसँगै स्वास्थ्य टोली कोरोना केन्द्र भुल्के नै भएको निश्कर्ष निकाल्दै दोस्रो चरणको परीक्षणमा लाग्यो । यो बीचमै वैशाख २७ गते २६ पत्रकारसहित ६१ को स्वाब परीक्षण रिपोर्ट जेठ ३ गते आउँदा २५ वर्षीय पत्रकार राकेश नेपाली संक्रमित देखिएपछि उदयपुरमा ३३ संक्रमित पुगे ।

त्यसयता झण्डै ५ सय हाराहारीको स्वाब परीक्षणको रिपोर्टले जेठ दोस्रो सातासम्म कोही संक्रमित नदेखिदा उदयपुरमा कोरोना नियन्त्रणमा आएको निश्कर्ष निस्केको छ । जेठ ३ गतेदेखि १८ गतेसम्म नयाँ संक्रमित नदेखिनुमा निश्चय नै कोरोना नियन्त्रणमा आएको ठहर जिल्ला कोरोना सुरक्षा तथा प्रतिकार समितिले गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले हालसम्म ६ सय ७६ महिला र १ हजार ३ सय १४ पुरुष गरी १ हजार ९ सय ९० को स्वाब लिएकोमा भुल्केमा मात्र तेस्रोपटकसम्म गरी १ हजार हाराहारीको परीक्षण गरेको छ । शनिबार पठाइएको चौदण्डीगढी नगरको १ सय ३८ र बेलका नगरको २ सयको रिपोर्ट आउँन बाँकी छ, जुन भुल्केबाहिर भएकाले संक्रमणको अनुमान धेरै कम गरिएको छ ।  

‘चैत ११ गते फर्केका भारतमा उद्र्धु कलेजका विद्यार्थीबाट संक्रमणको तथ्य पत्ता लागेदेखि नै कोरोनाको मुख्य जरो भुल्के नै हो भन्ठानेर हामी त्यतै केन्द्रित भयौं’ रातदिन नभनी खटेका कोरोना योद्धा जिल्ला स्वास्थ्य प्रमुख मोहन सुबेदी भन्छन् ‘महिनादिनको जमातिको ट्राभल हिस्ट्री र कन्ट्याक्ट टे«सिङको अनुसन्धान, अध्ययनले संक्रमणको जरो भुल्केकै स्थानीय युवा भएको निश्कर्ष निस्केपछि त्यहीँ केन्द्रित हुनु परेको हो ।’ यो तथ्य उजागर हुनुअघिे भारतीय जमातिबाट संक्रमण फैलिएको आशंका गरिएकोमा अध्ययनले भाईरसको स्रोत स्थानीय युवालाई देखाएपछि उनको पछि लाग्नु परेको सुबेदीले बताए ।  

सुबेदीसँगै कोरोनाविरुद्ध अग्रमोर्चामा खट्ने जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगर अव कोरोना नियन्त्रणतर्फ आईसकेको बताउँछन् । धेरै त्रसित वातावरणमा रातदिन नभनी खट्नुपर्दा आफै संक्रमित भइएला कि भन्ने आशंकाले निन्द्रै लाग्न छाडेको स्करण गर्ने मगरले भारतबाट फर्केका स्थानीय युवाको निगरानी गर्न नसक्दा जिल्लाबासीले ठूलो मनोवैज्ञानिक त्रास खेप्नु परेको बताए । ‘जमाति लुकेको खवर आएपछि यकिन गर्ने क्रममा कागजात र परिचयपत्र हेर्ने, दोहोरो बोलचाल गर्ने काम आफैले गरेकाले मलाई पनि संक्रमण भयो कि भन्ने शंका थियो’ एसपी मगरले भने ‘उनीहरु संक्रमित भएको पुष्टि भएपछि पुनः ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ गर्दा पनि आफै खटेकाले थप सशंकित थिएँ । तर, परीक्षण गर्दा नेगेटिभ देखियो ।’

स्वास्थ्यकर्मी र प्रहरीसँगै खट्ने त्रियगा नगरप्रमुख बलदेव चौधरी स्थानीय जनताको सामान्य कमजोरीले भुल्के कोरोनाको चक्रव्युहमा फसेको तर, अव उक्सेको बताउँछन् । उनले लकडाउन सुरु हुनुअघि नै विदेशबाट नयाँ मान्छे कोही भित्रिएको थाहा दिन वडाअध्यक्ष र टोल विकास संस्थामार्फत नगरपालिकामा खवर गर्न स्थानीयलाई सचेत गराइए पनि भारतबाट फर्केका युवाको विषयमा कसैले जानकारी नदिदा यस्तो समस्या आईपरेको बताए । ‘मैले सुरुमै नगरपालिका बैठक राखेरै वडाध्यक्षमार्फत नयाँ मान्छे आएको पत्ता लगाउन र क्वारेन्टिन पठाउन निर्देशन दिएको हुँ’ मेयर चौधरीले भने ‘तर, कोही सचेत देखिएनन्, भुल्केमा भारतमा पढेने भाई आएको भन्ने कसैले थाहा दिएको भए यहाँका ३३ जनालाई संक्रमण नहुन पनि सक्थ्यो, जे होस् अव नियन्त्रणमा आएको छ, अझै सावधानी अपनाउन छाड्नु हुन्न ।’

त्रियुगा ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले डेढ महिनापछि शान्तिको सास फेर्न पाएको बताए । वडाभित्र एउटै टोलमा लगालग संक्रमित भेटिनुले आतंकित बनाएको, अर्कातिर राहत र सुरक्षा व्यवस्थापन गर्नुपर्दा झण्डैझण्डै विरामी परेको उनले बताए । ‘लगातार संक्रमित थपिएको थपिएकै गर्ने गर्छन्, उता राहत र सुरक्षाको चर्को दबाब बढेको बढ्यै गर्दा तनाव र व्यवस्थापकीय चापले एकताका विरामी नै परियो’ उनले भने ‘भुल्केकै युवाबाट संक्रमण भएको पत्तो लागेपछि निरन्तर परीक्षण दोहो¥याउँदा अव कोरोना नियन्त्रणमा आए जस्तो छ ।’

भुल्केमा कोरोना नियन्त्रण उन्मुख ठहर भईरहँदा जिल्लाका अन्य ठाउँबाट परीक्षण दायरा बढाउने माग भने आईरहेको स्वास्थ्यले जनाएको छ । स्वास्थ्यका फोकल पर्सन लौकाजी राईले मन्त्रालयबाट आवश्यक किट नआएकाले माग भएजत्ति परीक्षण गर्न नसकिएको भन्दै अहिले स्थानीयतह आफैले किट खरिद गरेर परीक्षण थालेको बताए । चौदण्डीगढीले १ हजार थान किट खरिद गरेर परीक्षण थालेको नगरप्रमुख खगेन्द्र राईले बताएका छन् । त्यस्तै बेलका नगरप्रमुख दुर्गाकुमार थापाले पनि स्वास्थ्यको मुख ताक्दा किट नपाएपछि आफैले खरिद गरेर परीक्षण थालेको बताएका छन् ।  

प्रकाशित: २० जेष्ठ २०७७ ०९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App