७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीले कुटपीट गरेको भन्दै सरसफाईकर्मी हड्तालमा

प्रहरीले निरन्तर कुटपीट, दुब्र्यवहार र गाली बेइजती गरेको भन्दै सरसफाईकर्मी हड्तालमा उत्रिएपछि वीरगन्ज महानगरपालिकाको सरसफाई आजबाट ठप्प भएको छ । प्रहरी ज्यादतीका कारण देखाउदै सरसफाईमा खटिएका कर्मचारीहरुले काम रोकेर हड्तालमा उत्रिएपछि सरसफाई बन्द हुन पुगेको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका कर्मचारी सरफुदीन मियाले बताए । ‘प्रहरीले कुटपिट गरेको, ज्यादती गर्न थालेको कहिले गाली गरेकोजस्ता नाइके र चालकहरुले हामीलाई धेरै पटक गुनासो गरे,’ उनले भने, ‘सरसफाई जसरी पनि निरन्तर भइरह्नु पर्छ भनेर हामीले हाम्रा कर्मचारीको झपार सुनेर पनि काममा लगाई रहेका थियौं, अहिले खुट्टै सुनिने गरी एक जना सरसफाईकर्मीलाई प्रहरीले कुटेपछि उनीहरु हड्तालमा उत्रिए ।’

प्रहरी ज्यादतीको विरोधमा सफाई कर्मचारीहरुले हड्ताल सुरु गरेपछि वीरगन्ज महानगरपालिकाको फोहोर उठेको छैन । वीरगन्ज महानगरपालिका कार्यालयले ठेकेदार कम्पनी र महानगरपालिको समेत सरसफाई कर्मचारीहरु परिचालन गरी फोहोर उठाउदै आएकोमा अहिले यो ठप्प हुन पुगेको हो । लकडाउनको समयमा सरसफाईमा खटिएका कर्मचारीहरुले परोत्साहन पाउनु पर्ने ठाउँमा कुटपीट र दुब्र्यवहार सहनु परेको गुनासो गरेका छन् ।  

गत बिहिबार सरसफाई कर्मचारी छोटेलाल प्रसाद कुश्वाहालाई प्रहरीले कुटपिट गरी मोटरसाईकल समेत खोसेको थियो । सरसफाईको ठेकेदार कम्पनी पृथ्वी तारा एनके इन्टरनेशनल जेभीका निर्देशक शिव गुप्ताका अनुसार घटनाको बारेमा पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तसँग गुनासो गर्दा एसपी पन्त कुनै जवाफ नदिएपछि कर्मचारीहरु काम नआउने जनाएका थिए । सफाई कर्मचारी फोहोर उठाउन नआएपछि वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई जानकारी गराएको उनले बताए । नगरप्रमुख सरावगीले प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की र एसपी पन्तसँग समन्वय गरेर यस्तो नदोह्रिने भनेपछि सफाई कर्मचारीहरुलाई काममा फर्काएका थिए ।  

‘तर, शुक्रबार साँझ फेरी ठेलामा जम्मा भएको फोहोर ट्याक्टरमा हालेर ल्याण्डफिल साईटतिर लिएर जानेक्रममा वीरगन्जको माईस्थान नजिकै डिउटीमा खटिएको प्रहरीले सफाई कर्मचारीलाई अवरोध गरेर दुव्र्यवहार गरेको गुनासो आयो,’ सरसफाई शाखाका कर्मचारी मियाँले भने, ‘शनिबार बिहानदेखि सफाई कर्मचारीहरु काममा नआएका कारण महानगरपालिकाको पोहोर उठेको छैन ।’ कोरोनाको महामारीमा पनि ज्यान जोखिममा राखेर सरसफाईमा खटिएका कर्मचारीहरुमाथि प्रहरी प्रशासनले पटक पटक अनावश्यक दुःख दिने गर्दा काम गर्न समस्या भएको कर्मचारीको भनाई छ ।  

जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता बिरेन्द्रबहादुर शाहीले आफुलाई यसबारे कुनै जानकारी नभएको भन्दै प्रतिक्रिया दिए, ‘नो कमेन्ट ।’ प्रहरी उपरीक्षक पन्तले पनि आफूहरुलाई कुनै जानकारी नगराइएको बताइन् । ‘हामीलाई कुनै त्यसको घटना बारेमा जानकारी गराइएको छैन, अस्ती मेयर साहेबका सल्लाहकार गोबिन्द देवकोटा जीले मात्र एक पटक फोन गर्नु भएको थियो,’ प्ररहरी उपरीक्षक पन्तले भनिन, ‘मैले भनेको थिएँ, नगरपालिकाबाट पठाई दिनु म बुझ्छु तर कोही आएन कुरा गर्न ।’

प्रकाशित: १७ जेष्ठ २०७७ १४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App