८ वैशाख २०८१ शनिबार
समाज

आमाको हत्यापछि छोराले गरे आत्महत्या

कसैले सोच्न नसक्ने घटना बिहीबार मोरङको बेलबारीमा घटेको छ । आफ्नै छोराले आमाको हत्यापछि आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । बेलबारी नगरपालिका–४ बुधबारेमा ३१ वर्षीय काले भन्ने जीवन लिम्बूले ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या गरेका छन् । उनले आमालाई इँटा प्रहार गरेर घरभित्रै हत्या गरेपछि आफूले तरकारी काट्ने चक्कुले घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

‘जीवनले आमाो टाउकोमा इँटाले प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले भने, ‘घरभित्रै लडिरहेको र भूइँमा रगत लतपतिएको अवस्थामा बिहान ११ बजेतिर देवीमायाको शव भेट्यौं ।’ आमाछोराको कस्तो खालको विवादले घटना घट्यो अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ । घरमा आमाछोरा मात्रै बस्दै आएका थिए ।  

घटनास्थलबाट आमाको हत्यामा प्रयोग गरेको इँटा र जीवन आफूले आत्महत्याका क्रममा घाँटी रेट्न प्रयोग गरेको चक्कु प्रहरीले फेला पारेको छ । घाँटीको अगाडिको भागमा गहिरो चोट लागेर घाइते भएको अवस्थामा भेटिएका जीवनलाई प्रहरीले उपचारका लागि बेलबारीकै नोबेल सामुदायिक अस्पतालमा लगेको थियो । उनको उपचारकै क्रममा १२ बजे चिकित्सकले मृत घोषित गर्‍यो ।  

प्रहरीका अनुसार छोरा जीवन लागुऔषध सेवनकर्ता रहेको र  नसाको सुरमा हत्या गरेर आफूले पनि आत्महत्या गरेको हुन सक्ने अनुमान गरेको छ । आमाछोरा दुवै जनाको शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १५ जेष्ठ २०७७ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App