coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीमा निगरानी गर्न खयरभट्टी पुग्यो सशस्त्र प्रहरी

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने खयरभट्टीस्थित बाँसखोली पुगेको सशस्त्र प्रहरी । तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने खयरभट्टीस्थित बाँसखोली(नेपाली भूमि) मा संरचना निर्माण गरिएको यर्थात कुरा बुझ्न सशस्त्र प्रहरी पुगेको छ । उक्त ठाउँमा भारतीय आएर संरचना निर्माण गरिरहेको त्यहाँका नेपालीले यसअघि जानकारी गराएका थिए । बाँकेको अति बिकट मानिने खयरभट्टी क्षेत्रमा सशस्त्र प्रहरी बलको नरैनापुर–१ कटकुईयास्थित बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश भण्डारीको नेतृत्वमा टोली पुगेको हो ।  

‘हाम्रो टोली त्यहाँ पुग्दा स्थानीय बासिन्दाले भनेको जस्तो भारतीय नै आएर नेपाली भूमिमा संरचना निर्माण गरेको पाइएन, सीमा सुरक्षामा सशस्त्र प्रहरीले निगरानी बढाइरहेको छ’ : दीपक अधिकारी (एसपी) ।

सशस्त्र प्रहरी निरीक्षक भण्डारीले खयरभट्टीस्थित बाँसखोलीमा मन्दिर जस्तै कच्ची संरचना निर्माण भएपनि स्थानीय बासिन्दाले बताए जस्तो त्यहाँ भारतीयले निर्माण नगरेको पाइएको बताए । ‘त्यहाँ एक जना बाबा बस्छन्, उनकै चेलाहरु आएर खरले छाएको कटेरो बनाइदिएका रहेछन्, बाबा चाही नेपाली रहेको बुझियो,’ सशस्त्र प्रहरी निरीक्षक भण्डारीले टेलिफोनमा भने ।

बाहिरका मान्छे आएर निर्माण कार्य गर्दा नेपाली समुदायसँग सोधपुछ र समन्वय नगरेका कारण यहाँका स्थानीयले भारतीय ब्यक्ति भएको अनुमान गरेका थिए । खयरभट्टीका स्थानीय गणेश बुढामगरले दिएको सूचनाका आधारमा समाचार सार्बजनिक भएको थियो । 

नेपाल–भारत सीमासँग जोडिएको नेपाली भुमीमा अपरिचित ब्यक्तिहरु आएर समन्वय र सोधपुछ बिना संरचना निर्माण गर्न थालेपछि उनीहरु भारतीय नै भएको यसअघि आशंका गरिएको र अहिले बुझ्दै जाँदा नेपाली बाबाले आश्रय लिएको पत्ता लागेको स्थानीय बताउँछन् । 

‘जताततै नेपाली भुमी अतिक्रमणमा परिरहेको अवस्थामा हाम्रो यहाँपनि अपरिचित मान्छे आएर संरचना बनाउन थालेपछि हामीलाई भारतीयमाथी शंका लागेको थियो, अहिले बुझ्दै जाँदा बाबा नेपाली नै हुन भन्ने कुरा सुनिन्छ,’ स्थानीयले भने ।  

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) दीपक अधिकारीले नेपाली भुमीमा भारतीयले संरचना निर्माण गरेको समाचार बाहिर आएपछि सशस्त्र प्रहरीको टोलीलाई त्यसतर्फ पठाइएको बताए । ‘हाम्रो टोली त्यहाँ पुग्दा स्थानीय बासिन्दाले भनेको जस्तो भारतीय नै आएर नेपाली भूमिमा संरचना निर्माण गरेको पाइएन, सीमा सुरक्षामा सशस्त्र प्रहरीले निगरानी बढाइरहेको छ,’ उनले भने ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App