coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दिप्रुङमा तेश्रो चरणको राहत वितरण सुरु

लकडाउनको मारमा परेका नागरिकलाई खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले तेश्रो चरणको राहत वितरण सुरु गरेको छ । पहिलो चरणमा ६ सय परिवार र दोश्रो चरणमा ४७८ परिवारलाई चामल, दाल, नुन, तेल र तरकारी बाँडेको गाउँपालिकाले तेश्रो चरणको राहत वितरण सुरु गरेको हो । 

गाउँपालिकाले तेश्रो चरण अन्तरगत शनिबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ३० परिवार, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका ५२ परिवार र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ३० परिवारलाई राहत प्रदान गरेको हो । पहिलो र दोश्रो चरणमा राहत लिन छुटेका लकडाउन पीडितलाई तेश्रो चरणको राहत बाँड्न थालिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।  

गाउँपालिकाले यस अघिको राहत वितरणमा छुट भएका, तोकिएको मितिमा राहत लिन आउन नभ्याएका लकडाउन पीडितलाई वडा–वडामा पुगेर राहत दिन थालेको हो । क्रमशः ७ वटै वडाका लकडाउन पीडितलाई राहत प्रदान गरिने गाउँपालिकाले जनाएको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा हातमुख जोर्नै धौ–धौको अवस्थामा पुगेका विपन्न परिवारलाई गाउँपालिकाले प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, आधा लिटर तेल, एक केजी नुन र तरकारी प्रदान गरिरहेको छ । लकडाउनमा तत्काल सहयोग आवश्यक पर्ने र केही समयपछि सहयोग आवश्यक पर्ने विपन्न परिवारको प्राथमिकीकरण गरेर राहत वितरण गर्ने काम भइरहेको अध्यक्ष राईले बताए ।  

गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका दलित, अल्पसंख्यक तथा सिमान्तकृत, एकल महिला, ‘क’ वर्गको अपांग, विपन्न तथा सुकुम्बासी परिवारलाई खाद्यान्न वितरण गरिरहेको जनाएको छ । गाउँपालिकाले दोश्रो चरणमा गाउँपालिकाभित्रका सय परिवार, काठमाडौंमा बसिरहेका २०७ परिवार र मोरङ–सुनसरीमा बसिरहेका १७१ परिवारलाई राहत बाँडेको थियो । गाउँपालिकाले गाउँमा भने लकडाउनको मारमा परेका किसानको तरकारी किनेर राहतसँगै वितरण गरिरहेको छ । बजार अभावमा खेर जाने अवस्थामा पुगेको तरकारी गाउँपालिकाले खरिद गरिदिँदा किसानले राहतको महसुस गरेका छन् ।  

आफ्नै सेवासुविधाबाट वडाका जनप्रतिनिधिले बाँडे राहत
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका जनप्रतिनिधिले आफ्नै सेवासुविधाबाट ९१ विपन्न परिवारलाई राहत बाँडेका छन् । वडाध्यक्ष लोकेन्द्र राईले ४० हजार, जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर विश्वकर्माले १८ हजार, समन्वय समितिकी सदस्य भगवती प्रधानले १० हजार, गाउँपालिकाकै कार्यपालिका सदस्य ज्ञानबहादुर माझीले १५ हजार, वडा सदस्य राजबहादुर राई र रमा विकले १५/१५ हजार उपलव्ध गराएपछि वडाका विपन्न परिवारलाई छनौट गरेर राहत बाँडिएको हो । 

ज्यालादारी काममा आश्रित परिवार एबं संरक्षण विहिन एकल महिलालाई प्रतिपरिवार चामल २५ केजी, तेल १ पोका र १ केजी दाल उपलव्ध गराइएको वडाध्यक्ष राईले बताए ।  

जनता मावि भण्डारीडाँडाका प्रधानाध्यापक पवन राईले १० हजार र राम्चे निकेतन मावि इजाराका प्रधानाध्यापक ईश्वर लम्सालले राहत सामग्री वडा–वडामा पु¥याउनका लागि लाग्ने ढुवानी खर्च सहयोग गरेको वडा कार्यालयले जनाएको छ । 

प्रकाशित: १० जेष्ठ २०७७ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App