२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

रोग भन्दा भोकको चिन्ता

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयमा चामल लिन लाइनमा बसेका सर्वसाधारण । तस्बिरः गणेश/नागरिक

वीरेन्द्रनगर–१२ इत्रामकी कमला विक झिसमिसेमै उठ्छिन् अनि छोरालाई पिठ्यूमा बोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय पुग्छिन् । त्यतिबेलासम्म बिहानको ५ बजिसक्छ । उनी कम्पनीको कार्यालयमा पुग्दा चामल लिनेको भीड लामै हुन्छ । छोरालाई सुम्सुम्याउँदै उनी त्यही भीडमा पस्छिन् र दुई बोरो (५० केजी) चामल पाउने प्रतीक्षामा हुन्छिन् । उनीजस्तै बाजुरा घर भएकी वीरेन्द्रनगरको गण्डकी लाइनमा बस्ने रस्मिता कैला पनि छोरालाई दूध खुवाउँदै गर्दा त्यही भीडमा भेटिइन् । कोरोनाको त्रासभन्दा भोकको चिन्ताले बिहानै चामल लिन आएको उनले बताइन् ।

यति बिहानै आउनु भएछ ?, ‘हजुर, बिहानै आएपछि अगाडि पालो पाइन्छ भनेर बिहान ५ बजे नै आएकी हुँ,’ उनी भन्छिन्, ‘मभन्दा बिहान अरु पनि आइसक्नु भएछ ।’ सरकारले चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी (लकडाउन) का कारण बजारमा चामलको मूल्य आकासिएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मान्छेको भीड लाग्ने गरेको छ । हप्तामा तीन दिन चामल वितरण गर्दा पनि भीड कम हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ ।

बजार बन्द भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा चामल लिन आएको वीरेन्द्रनगर–९, लाटीकोइलीका सतिक सलमानीले बताए । ‘पहिलो खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल राम्रो हुँदैन भन्ने हल्लाले बजारबाटै चामल किनेर खान्थ्ये,’ उनले भने, ‘यहाँ आएर लिँदा चामल राम्रो रहेछ ।’ कोरोना भाइरसको डर त्रास हुँदाहुँदै भोकका कारण जोखिम मोलेर चामल लिन आएको उनी बताउँछन् ।

‘रोगभन्दा हामलाई भोकनै ठूलो छ,’ उनी भन्छन्, ‘रोग लाग्छ भनेर खान छाड्नु भएन ।’ वीरेन्द्रनगरमा अटो चलाउने उनले लकडाउनभन्दा पहिला खरिद गरेको चामल सकिएपछि डर त्रारका बीचमा चामल लिन आएको बताए । भीडभाडमा जानु हुन्न, दुरी कायम गर्नु पर्छ भन्ने थाहा पाए पनि बाध्यताले भीडमै मिसिनु परेको वीरेन्द्रनगरकी सरिता बिक बताउँछिन् । ‘प्रत्येक दिन करिब दुई घण्टा जति कार्यालय खुलेको भए हुन्थ्यो,’ उनले भनिन्, ‘त्यसो गर्दा भीड कम हुने र जोखिम पनि कम हुन्थ्यो ।’  

बुधबार मात्रै तीन सय ७८ जनाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट चामल लिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयलका प्रमुख भीम थापाका अनुसार बुधबार दुई सय २१ क्विन्टल चामल बिक्री भएको छ । लकडाउनभन्दा पहिला खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयलबाट दैनिक २० देखि २५ क्विन्टलसम्म चामल बिक्री हुँदै आएको थियो । लकडाउनपछि १० प्रतिशत छुटमा चामल बिक्री भइरहेको उनको भनाइ छ । बजारको मूल्य नियमन नहुँदा र आवश्यक परेको बेला बजार नखुल्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयलमा आउनेको संख्या धेरै भएको प्रमुख थापाले बताए । हप्ताको तीन दिन आइतबार, बुधबार र शुक्रबार चामल बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयलले जनाएको छ ।

दिउँसो गर्मी हुने भएकाले बिहान ६ बजेदेखि ९ बजेसम्म चामल बिक्री हुने बताइएको छ । मान्छेको भीडभाड हुन थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिव्यक्ति दुई बोरा अर्थात् ५० केजीको चामल दिने गरेको छ । रञ्जित १४ सय ६२, सोनामन्सुली १२ सय १५ र जापानीज चामल १३ सय ८५ रूपैयाँमा चामल बिक्री हुँदै आएको छ । कार्यालयमा सात हजार ६ सय ३४ क्विन्टल चामल मौजाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित: ७ जेष्ठ २०७७ १६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App