१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कृषक भन्छन् ‘तत्काल दुध नलिए केन्द्र अगाडि ल्याएर फालिदिन्छौँ’

लकडाउनको पीडा

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित सिङ्गोदप खर्कमा रहेको गोठमा राखिएको दुर्खा (छुर्पी) तस्बिर : हिमनाथ

रसुवामा चीज उत्पादन केन्द्र सञ्चालनमा नआउँदा कृषकलाई समस्या भएको छ । यसअघि जिल्लामा बैशाख १ गतेदेखि चीज उत्पादन हुँदै आएको थियो । तर यो वर्ष अझैसम्म पनि केन्द्र सञ्चालनमा आएका छैनन् ।  

केन्द्र बन्द भएका कारण दुध बिक्री गर्न नपाउँदा कृषक चिन्तित बनेका छन् । फागुनदेखि नै चौरी ब्याउन सुरु गर्छ । जेठदेखि साउन १५ गतेसम्म चौरीले बढी दुध दिन्छ । त्यसपछि दुध घटेर जान्छ । चौरीले दुध दिने मुख्य सिजनमा दुध बिक्री गर्न नपाउँदा कृषकले घरमै घिउ र छुर्पी बनाइरहेका छन् ।  

दिनको चार किलोसम्म दुर्खा र घिउ बनाउने गरेको चौरीपालक कृषक सेनाम नुर्पु घलेले बताए । ‘भूकम्पले भवन भत्काउँदा पनि त्यो बेला बन्द भएको थिएन’, उनले भने, ‘तर यो लकडाउनले त निकै सास्ती दियो ।’ केन्द्र नखुल्दासम्म दुध बेच्न नसकिने उनको भनाइ छ । ‘दुर्खा र घिउको बजार राम्रो छैन’, उनले भने, ‘सिजनमा दुध बेच्न सकिएन भने कृषकलाई धेरै घाटा हुन्छ ।’

कृषकले दुई महिनादेखि दुध बिक्री गर्न पाएका छैनन् । दुग्ध विकास संस्थानले दुधको मूल्य बढाएपछि कृषकले गत वर्ष ओखलढुङ्गाबाट चौरी किनेर ल्याएका थिए । यस क्षेत्रमा अहिले १५ वटा गोठ छ ।  

केन्द्रले गत वर्षसम्म बैशाख १ गतेदेखि कार्तिक ८ गतेसम्म केन्द्रले दुध लिँदै आएको थियो । ‘अहिले सबै कृषकले दुर्खा र घिउ बनाइरहेका छन्’, उनले भने, ‘सबै दुर्खा र घिउ संकलन गर्ने हो भने पाँच टिप भन्दा बढी हुन्छ ।’

केन्द्र नखुल्दा कृषकले दुध बेच्न नपाएको तामे खर्कमा रहेका कृषक रेन्जेन नुर्पु तामाङले बताए । ‘यो भन्दा अगाडि दुध बिक्रीमा समस्या भएको थिएन’, उनले भने, अहिले लकडाउनले निकै समस्या बनायो ।’

जिल्लाको लाङटाङ चीज उत्पादन केन्द्रका प्रमुख ग्याल्बो लामाले केन्द्रमा आएर कृषकले दुध फाल्ने चेतावनी दिएका बताए । ‘कृषक धेरै समस्यामा परेका छन्’, उनले भने, ‘केही कृषक त केन्द्रले तत्काल दुध नलिए केन्द्र अगाडि ल्याएर दुध फाल्ने भनिरहेका छन् ।’

लकडाउनका कारण बन्द रहेका जिल्लाको ६ वटै केन्द्र जेठ १५ गतेदेखि सञ्चालनमा आउने तयारीमा छन् । गोसाइँकुण्ड गाउँपालिका–६ को पाङ्लेखर्क चीज उत्पादन केन्द्रका प्रमुख जीतमान जिरेलले जेठ १५ गतेदेखि केन्द्र सञ्चालनमा आउने तयारीमा रहेको बताए ।  

जिल्लाका  छवटै उत्पादन केन्द्र दुग्ध विकास संस्थानले सञ्चालन गरेको हो । क्यान्जिनमा एउटा निजी उत्पादन केन्द्र पनि छ । समयमै दुध संकलन गर्न नसक्दा यस वर्ष चीज उत्पादन घट्ने अनुमान गरिएको छ । जिल्लामा चारवटा उत्पादन केन्द्रबाट गते वर्ष ३९ हजार ६ सय ८० किलो याक चीज उत्पादन भएको थियो ।  

गत वर्ष चारवटा केन्द्रले ३९ हजार ६ सय ८० किलो याक चीज र १२ हजार ४ सय किलो मखन उत्पादन गरेका हुन् । लाङटाङमा गत वर्ष ४ हजार किलो चीज र ९ सय किलो मखन उत्पादन भएको केन्द्र प्रमुख ग्याल्बो तामाङले बताए ।  

गोसाइँकुण्ड चीज उत्पादन केन्द्र चन्दनबारीले ११ हजार किलो याक चीज र ३ हजार ९ सय किलो मखन, पाङलेखर्क चीज उत्पादन केन्द्रले ११ हजार ३ सय ८० किलो याक चीज र ३ हजार ९ सय किलो मखन र गत्लाङमा १३ हजार ३ सय किलो याक चीज र ३ हजार ७ सय किलो मखन उत्पादन भएको थियो ।  

दुग्ध विकास संस्थानद्वारा सञ्चालित केन्द्रमा उत्पादन भएको चीज तथा मखन केही मात्रामा स्थानीय बजारमा खपत हुने र बाँकी संस्थानमा नै लैजाने गरिएको छ । जिल्लाको चारवटा केन्द्रमा वार्षिक ३६ हजार केजी चीज उत्पादन गर्ने क्षमता रहेको छ ।  

चिसो समयमा दुध कम उत्पादन हुने र नजम्ने समस्या कारण ६ महिना उत्पादन बन्द हुने गरेको उनले बताए । गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ । जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ ।  

 

 

प्रकाशित: ७ जेष्ठ २०७७ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App