८ वैशाख २०८१ शनिबार
समाज

औषधि व्यवसायीको मृत्यु, श्रीमती र साथी अनुसन्धानको घेरामा

चुमन बस्नेत/विनोद सुवेदी

मोरङ- विराटनगर–१० मा औषधि व्यवसायी गर्दै आएका देवीप्रसाद दुलालको शनिबार राति मृत्यु भएको छ । दुलालको मृत्यु भएको घटनालाई प्रहरी शंकास्पद भएको भन्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ । सुनसरीको इटहरी–१२ खनार स्थायी घर भएका दुलाल विराटनगर–१० मा डेरा गरी बसेको र सोही घरबाटै माँ पाथीभरा फर्मा नामबाट औषधिको थोक कारोबार गर्दै आएका थिए । डेरा लिएको घरमा दुलाल, उनकी श्रीमती मीना श्रेष्ठ (दुलाल) र ८ वर्षीय छोरासहित बस्दै आएका थिए ।    

ओछ्यानमा सुतेकै ठाउँमा अचेत अवस्थामा रहेका दुलाललाई विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । बिहान २/३ बजेतिर मृत्यु अस्वभाविक रहेको प्रहरीलाई जानकारी आएसँगै अनुसन्धान थालेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । श्रीमती मीना, छिमेकी कल्याण राजवंशी र औषधि व्यवसायी धनबहादुर काफ्लेले उपचारका लागि अस्पताल लगेको प्रहरीले जनाएको छ ।  

मृतक दुलालको आँखीभूइँमाथि, नाक, हात, बायाँ आँखाको डिलमा चोट घाँटीमा निलडाम र मुखबाट रगत बगिरहेको अवस्थामा शव रहकोले घटना थप शंकास्पद रहेको राईले बताए । ‘शरीरका विभिन्न ठाउँमा शंकास्पद चोट र घाँटीमा डाम रहेको पाइयो,’ राईले भने, ‘मुखबाट रगत बगिरहेको थियो । सुतेको ओछ्यानमा रगतले लतपतिएको भेटियो ।’

घटना भएको साँझमा विराटनगरका औषधि व्यवसायीद्वय धनबहादुर काफ्ले, हरिमोहन श्रेष्ठ र दुलाल तीन जना दुलालकै कोठामा ८/८ः३० बजेसम्म मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।  

दुलालकी श्रीमती मीना, औषधि व्यवासायीद्वय धनबहादुर काफ्ले र हरिमोहन श्रेष्ठलाई प्रहरीले घटनालाई शंकास्पद मान्दै नियन्त्रणमा लिएर अनुसन्धान थालेको राईले बताए । ‘मदिरा सेवन गरेर दुई जना त्यहाँबाट हिँडेको र दुलाल आफ्नै कोठामा सुतेको भनिएको छ,’ डिएसपी राईले भने, ‘सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको भनिए पनि घटनालाई त्यत्ति सहज लिन सक्ने अवस्था छैन ।’

श्रीमती मीनाले श्रीमान उच्च रक्तचापको बिरामी रहेको र त्यही कारणले मृत्यु भएको हुन सक्ने दाबी गरेको प्रहरीले जनाएको छ । ‘हामी एउटै कोठाको अलग–अलग ओछ्यानमा सुतेका थियौं । ब्यूँझिएर हेर्दा उहाँ बेहोस हुनु हुन्थ्यो,’ मीनालाई उद्रित गर्दै प्रहरीले भन्यो, ‘त्यसपछि उहाँकै साथी र छिमेकीसमेतलाई बोलाएर उपचारका लागि लिएर गयौँ ।’  

डिएसपी राईले राति अबेरसम्म दुलालकै कोठामा मदिरा सेवन गरेर बसेको खुलेपछि अरु दुई जनालाई नियन्त्रणमा लिइएको बताए । त्यस्तै एउटै कोठामा सुतेका श्रीमानको मृत्यु हुँदा पनि थाहा नपाएको बताएपछि र शव हेर्दा मृत्यु अस्वभाविक देखिएपछि श्रीमतीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ थालिएको राईले बताए । शवको पोष्टमार्टमको रिपोर्टआएपछि थाप कुरा खुल्ने र अहिले संघन अनुसन्धान थालिसकेका छौं, राईले भने । 

प्रकाशित: ४ जेष्ठ २०७७ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App