२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

क्यान्सर पीडित बालकलाई एक लाख सहयोग

पीडित परिवारलाई सहयोग रकम प्रदान गर्दै वडाध्यक्ष सुरेश मानन्धरलगायत । तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत- क्यान्सर पीडित वीरेन्द्रनगर–९ पातालगंगाका चार वर्षीय बालकको उपचारका लागि रोजगारीका लागि दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । रोजगारीका लागि दक्षिण कोरियामा रहेका पालातगंगाका युवा राजु चौधरीको पहलमा संकलित एक लाख एक हजार ११३ रुपैयाँ वडाध्यक्ष सुरेश मानन्धरले बालका हजुरआमा रामप्यारी चौधरीलाई प्रदान गरे ।  

रामप्यारीले नातीको उपचारमा हालसम्म छ लाख रुपैयाँ खर्च भएको बताइन् । ‘अहिलेसम्म ऋण गरेर उपचार गरिरहेका छौं,’ उनले भनिन्, ‘ट्युमरको उपचार गर्न अझै धेरै पैसा लाग्ने डाक्टरहरुले बताएका छन् ।’ बालकको कान्ति बाल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

रामप्यारीको परिवार जमिनदारकोमा खेती गरेर गुजारा चलाउँदै आएको छ । नाती ज्वेल चौधरी जन्मेको चार महिनामै ट्युमर पत्ता लाग्यो । ‘सुरुमा ऋण गरेर उपचार गर्‍यौं, अव त ऋण पनि सकैले पत्याउँदैन,’ उनले भनिन्, ‘डाक्टरले चाँडो अप्रेशन गर्नुपर्छ भन्नु भएको छ, हामीसँग पैसा छैन ।’

सहयोग रकम हस्तान्तरण गर्दै वडाध्यक्ष मानन्धरले आर्थिक अवस्था कमजोर रहेकाले बालकको उपचारमा समस्या भएको बताए । उनले वडा कार्यालयकोतर्फबाट पनि सक्दो सहयोग गर्ने बाचा गरे । ‘स्थानीय सरकारकातर्फबाट पनि हामी सहयोग गछौं,’ उनले भने, ‘अर्काको खेत जोतेर गुजारा चलाउने परिवारलाई आइपरेको संकट टार्न सबैको सहयोगको खाँचो छ ।’

सुर्खेत समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद ढकालले दक्षिण कोरियामा कार्यरत विभिन्न ४५ जना व्यक्तिहरुले गरेको सहयोग बालकका परिवारलाई प्रदान गरिएको बताए । ‘रोजगारीका लागि कोरियामा रहेका साथीहरुले कमाईको केही भाग सहयोग गर्नुभएको हो,’ उनले भने, ‘उक्त सहयोग सुर्खेत समाज दक्षिण कोरियामार्फत हामीले पीडित परिवारलाई प्रदान गरेका हौं ।’

पूर्व अध्यक्ष गणेश अधिकारीले बालकको उपचारमा थप सहयोग जुटाउन पहल गर्ने बताए । ‘परिवारको अवस्था देखेपछि अझै सहयोगको खाँचो रहेछ भन्ने लाग्यो,’ उनले भने, ‘थप सहयोगका लागि विदेशमा रहेका साथीहरुसँग पहल गछौं ।’

 

 

प्रकाशित: ४ जेष्ठ २०७७ ०९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App