२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भारतबाट आएकालाई सम्बन्धित स्थानीय तहमा पुर्‍याइने

सुर्खेत- रोजगारीका लागि भारतमा रहेका कर्णालीका नागरिकहरु घर फर्कनेक्रम सुरु भएसँगै उनीहरुको व्यवस्थापनमा प्रदेश र स्थानीय सरकार सक्रिय बनेका छन् । भारतमा रेल सेवा सुरु भएसँगै त्यहाँ रहेका कर्णालीबासीहरु आउनेक्रम सुरु भएको छ । शुक्रबार एकैदिन तीन सयबढी कर्णालीका नागरिकहरु मुख्य प्रवेशद्धार बबई आइपुगेका छन् । प्रदेश सरकारले भारतबाट आएका नागरिकहरुलाई तीन दिनसम्म नाकामा राखेर सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउने निर्णय गरेको छ ।

शुक्रबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले प्रदेश प्रवेश गर्ने मुख्य नाका सुर्खेतको बबई, कुइने, सल्यानको कपुरकोट र कालिमाटीमा आइपुगेका नागरिकहरुको र्‍यापिड टेस्ट गरेर परीक्षण रिपोर्टका आधारमा सम्बन्धित पालिकामा पुर्‍याउने निर्णय गरेको हो । ‘भारतबाट सीमामा आइपुगेका नागरिकहरुलाई र्‍यापिड टेस्ट गरेर परीक्षण रिपोर्टका आधारमा सम्बन्धित स्थानीय तहमा पुर्‍याउने निर्णय भएको छ,’ बैठकपछि आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले भने, ‘परीक्षणका लागि आवश्यक जनशक्ति र प्रविधि सीमामा पुर्‍याइसकेका छौं ।’

प्रदेश सरकारले भारतबाट आएका नागरिकहरु राख्नका लागि सबै स्थानीय तहलाई क्वारेन्टाइन निर्माण गर्न पत्राचार गरिसकेको छ । प्रत्येक पालिकाहरुले यातायातको पहुँच भएको, हेलिकोप्टर बस्न सक्ने र पालिकाका सबै नागरिकहरुलाई पायक पर्ने ठाउँमा एक–एक वटा क्वारेन्टाइन निर्माण गरिरहेका छन् ।  

एक साताभित्र भारतबाट २५ देखि ३० हजार कर्णालीका नागरिकहरु आइपुग्ने अनुमान प्रदेश सरकारले गरेको छ । भारतमा कर्णालीका एक लाखबढी मौसमी कामदारहरु कार्यरत छन् । भारत सरकारले रेल सेवा सुरु गरेसँगै उनीहरु आउनेक्रम सुरु भएको छ ।

प्रदेश सरकारले मुख्य सीमानाका बबईमा एक सय बेडको क्वारेन्टाइन निर्माण गरिरहेको छ । सीमामा पुगेका कर्णालीका नागरिकहलाई तीन दिनसम्म त्यहीँ राखिने छ । र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएका नागरिकहरुलाई बबईबाट सिधै सम्वन्धीत पालिकामा पु¥याइने छ भने संकास्पद विरामीहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार गरिने छ । भारतबाट आउने नागरिकहरुलाई कम्तिमा पनि २१ दिन क्वारेन्टाइनमा राखिने मन्त्री भण्डारीले जानकारी दिए । यातायातका साधन नपुगेका स्थानीय तहका नागरिकहरुलाई भने सुर्खेतको वीरेन्द्रनगरमा नेपाली सेनाको व्यवस्थापनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने छ । भारतबाट आउने नागरिकहरुको संख्याको आधारमा क्वारेन्टाइनहरु थप गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

प्रदेश सरकारले अर्काे प्रदेशबाट आउने मालबहाक सवारी साधनलाई पनि तीन दिनसम्म कर्णालीमा प्रवेश नदिने भएको छ । यात्रु बोकेर आउने बाहिरका सवारीहरुलाई बबईबाट फिर्ता पठाउने निर्णय पनि सरकारले गरेको छ ।

प्रकाशित: २ जेष्ठ २०७७ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App