२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

रासायनिक मलको कालोबजारी गर्ने धरौटीमा छुटे

लकडाउनको मौका छोपी रासायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् ।  

कमलामाई नगरपालिका–६ स्थित बागवानी कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक डुकेन्द्र दाहालले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आदेशमा एक लाख ७० हजार धरौटीमा छुटेका हुन् ।  

रासायनिक मलको मूल्यवृद्धि गरी कालोबजारी गरेको आरोपमा प्रहरीले गत वैशाख २४ गते दाहाललाई पक्राउ गरेको थियो । वैशाख ३१ गते धरौटी रकम जम्मा गरेपछि दाहाललाई छाडेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।  

प्रहरीले सहकारीको गोदामसमेत सिल गरेको थियो । नेपाल सरकारबाट सिन्धुलीका कृषकलाई बिक्री गर्न अनुदानमा आएको युरिया मलको मूल्यवृद्धि गरी बेचेको र जिल्लाका किसानलाई बिक्री नगरी रामेछापको एक सहकारीलाई बैच्दै गरेको अवस्थामा प्रहरीले सञ्चालक दाहाललाई पक्राउ गरेको प्रहरी उपरीक्षक खत्रीले बताए । उनका अनुसार सहकारीले युरिया मलको कालोबजारी गर्ने गरेको किसानबाटै गुनासो आएपछि प्रहरीले छापा मारेर मूल्यवृद्धिसहित बेच्दै गरेको युरिया मल र गाडीसमेत नियन्त्रणमा लिएको थियो ।

अनुदानमा आएको ५० केजीका ८४० बोरा युरिया मल उक्त सहकारीका सञ्चालक दाहालले सिन्धुली जिल्लाका कृषकलाई बिक्रीवितरण नगरी १७० बोरा युरिया मल प्रगतिशील कृषि सहकारी संस्था रामेछापलाई बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले गोदाम नै सिल गरेको थियो ।  प्रहरीले रामेछाप पठाउने तयारी गरिरहेको अवस्थामा ना७ख ९२४८ नंको ट्रकबाट ४२० बोरा, ना५ख ५१९ नंको ट्रकबाट २५० बोरा, ना७ख ३६६७ नंको ट्रकबाट दुई बोरा एसएसपी सिङ्गल फोस्टेट नामक डिएपी मल र ना६ख ७४७२ नंको ट्रकबाट ५५ बोरा एसएसपी फोस्टेट नाम डिएपी मलसमेत बरामद गरेको थियो ।

प्रकाशित: २ जेष्ठ २०७७ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App