सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानका ५ घरमा सिल गरेर १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मंगलबार कोरोना संक्रमित भएका एक व्यक्ति सिन्धुलीको भिमानमा खाना खाएर काठमाडौ गएको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले भिमानका कोरोना संक्रमितले खाना खाएको घरसहित पाँच घर सिल गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए ।
सुनसरीको एक कोरोना संक्रमित महिलाले सिन्धुलीको कमलामाई–९ स्थित भिमानमा खाना खाएर काठमाडौं गएको पाइएपछि प्रहरी प्रशासनले उनले खाना खाएको घर र आसपास केही घर सिल गरेको जनाएको छ । सुनसरीका एक महिलाले काठमाडौं जाने क्रममा गएको सोमवार विहान सिन्धुलीको भिमान बजारस्थित एक आफन्तको घरमा खाना खाएर काठमाडौ पुगेको पुष्टि भएको प्रजिअ पाण्डेको भनाई छ । काठमाडौंमा पुगेपछि परीक्षण गर्दा ती महिलामा कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो ।
सुनसरीका महिला काठमाडौं जाने क्रममा भिमानमा खाना खाएको र उनी काठमाडौं पुगेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो, प्रजिअ पाण्डेले नागरिकसँग भने, उनले खाना खाएर गएको घर परिवारसहित छिमेकी गरी १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमितले आधा घण्टामात्रै उक्त घरमा बसेर खाना खाएको पाइएको प्रजिअ पाण्डेले जनाए । आधा घण्टा मात्रै बसेको पाइएको छ, उनि घर भित्र पनि नपसी बाहिरै बसेर खाना खाएका रहेछन्, उनले भने, त्यहि आधारमा घरहरु सिल गरिएको हो ।
सुनसरीबाट काठमाडौ पुगेपछि परीक्षण गर्दा उक्त महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै उनी बसेको ठाउँ र उनको सम्पर्कमा आएकाहरुको खोजी अर्थात कन्याक ट्रेसिङ गर्दा उनले सिन्धुलीको भिमानमा खाना खाएर गएको पत्ता लागको हो ।
प्रकाशित: ३१ वैशाख २०७७ १३:२३ बुधबार