८ वैशाख २०८१ शनिबार
समाज

सामाजिक संजाल बन्यो विरोध गर्ने माध्यम

बाँके- नेपाली भूमिमा भारतले सडक निर्माण गरेर उद्घाटन गरेपछि विवाद उत्पन्न भएको छ। भारतले अन्तराष्ट्रिय सीमा सम्बन्धी नियमको उल्घन गरेको भन्दै नेपालमा विरोध सुरु भएको हो। नेपालका केहि विद्यार्थी संगठनले लकडाउनको उल्घन गदै सडकमा आउन समेत प्रयास गरे।

सीमाबारे नेपाल सरकारलाई यथासिघ्र कुटनिति पहल गर्न दबाब बढिरहेको छ। लकडाउनको समयमा विभिन्न तहका ब्यक्तिले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गरिएको घटना बारे बिरोध गर्दै आएका छन। लकडाउनको समयमा बिरोधको शैलीमा भने परिर्वतन देखिएको छ। लकडाउनको कठिन अवस्थामा सामाजिक संजाल बिरोध गर्ने माध्यम बनेको छ।

नेपालमा बिरोधका लागि सडक बन्द गर्ने, टायर बाल्ने, नारा, जुलिस निकाल्ने जस्ता परम्परागत शैली छन्। तर केहि युवाले संगठित भएर सामाजिक संजाल मार्फत सीमा विवाद बारे सरकार र राजनितिक दललाई दबाब दिइरहेका छन।

नेपालगन्जका युवा सोम गुरुङले गत शनिबार सीमा विवाद प्रधानमन्त्रीलाई ध्यानार्कषण गराउँदै पोस्ट गरेका छन। उनको फेसबुक पोस्टमा लेखिएको छ, ‘सम्माननीय प्रधानमन्त्री ज्यू, सीमाको विषयमा यथाशिघ्र कुटनीतिक पहल सुरु गर्न हार्दिक अनुरोध छ।’

त्यस्तै म्याग्दीकी रन्जना श्रेष्ठको पोस्टमा लेखिएको छ, ‘भूमी हाम्र्रो, हिमाल हाम्रो, देश हाम्रो, किन अस्तक्षेप अरुको?

पोखराकी मोनिका रानाभाटले नेपाली भुभाग अतिक्रमण गरिएको बिरोध गर्न सामाजिक संजालको प्रयोग गरेकी छिन्। उनले लेखेकी छिन, ‘सरकार नेपालको सम्पुर्ण भु–भाग सहितको आधिकारिक नक्सा छिटै सार्बजनिक गरियोस।’

नेपाल युवा परिषदका अध्यक्ष सरोज बाँनियाले सरकारलाई नैतिक रुपमा दबाब दिनको लागि सामाजिक संजालबाट अभियान सुरु गरिएको बताए। सुरुमा ६० जना युवाबाट सुरु गरिएको अभियानमा अहिले हजारौं युवा जोडिदै गएका छन्। बाँनियाका अनुसार सामूहिक रुपमा सीमाको विवाद बारेमा सत्यतथ्य कुरा सार्वजनिक गर्न सरकारलाई दबाब दिन अभियान सफल भैरहेको छ। हरेक पटक नारा भने फरक फरक पोस्ट गरिन्छ। जसले नेपाल र भारतको सीमाको विवादबारेमा अन्तराष्ट्रिस्तरमा पनि जानकारी गराउने उनको दाबी छ।

बाँनियाँ भन्छन, ‘हामीले छिमेकीलाई गाली गर्न भन्दा हाम्रो कमजोर के हो। त्यसलाई सुधार गर्नु पर्छ। हामी कुटनीतिक रुपमा कमजोर भएका छौं। अनि सधै भारत र चीनलाई गाली गर्ने मानसिकता छ।’

आन्तरिक रुपमा कमजोर हुँदा बारम्बार सीमाको विवाद आइरहेको तर्क गर्छन बाँनिया। उनले भने, ‘सरकारले सीमा बारे गरेको कुटनितिक प्रयास पनि कमजोर छन। नेपालकै विज्ञहरुको सीमा विवाद बारे एकमत छैन। लिम्पयाधुरा, लुपिलेक नेपालको होइन भने विज्ञहरुले भन्न सक्नु पर्‍यो। यदि हो भने सरकारले हिम्मतका कुटनितिक पहल गर्नु पर्‍यो।’

सामाजिक संजाल मार्फत गरिएको दबाब अभियानलाई अझ प्रभावकारी बनाउन भिडियो मार्फत पनि गर्ने योजना गरेको बाँनियाले बताए।

अभियानको नेतृत्व अहिले नेपाल युवा परिषदले गरिरहेको छ। जसमा हजारौं युवाले साथ दिइरहेका छन। परिषदका ७७ जिल्ला शाखामा आवद्ध युवाहरुले सुरुआतमा फेसबुक अभियान सुरु गरेका थिए। आवद्ध युवाहरुले परिषदको केन्द्रिय र आफना जिल्ला शाखाको फेसबुक पेजमा पोस्ट गर्दै आएका छन। यसका लागि उनीहरुले निश्चित समय पनि छुटयाएका छ। विहान ८ देखि १२ बजे सम्म सबैले पोस्ट गर्ने गरेका छन। जसमा हजारौ युवाले नारा लेखिएको प्लेकार्ड समाएर खिचिएको तस्विर पोस्ट गर्ने गरिएको छ।

७७ जिल्लाका युवा अभियानमा जोडिएको बताउँछन नेपाल युवा परिषद प्रदेश नम्बर ५ अध्यक्ष सोम गुरुङ। अभियानले रचनात्मक रुपमा प्रभाव पारिरहेको उनले बताए।  गुरुङ भन्छन, ‘लकडाउनमा सार्वजनिक रुपमा भेला हुन सकिएको छैन। तर देशको प्रतिष्ठामा आँच आउने काम हुँदा युवाहरु चुप लागेर बस्नु हुन्न। रचनात्मक रुपमा बिरोध गर्न सकिन्छ। यसका लागि हामीले प्रविधि र सामाजिक संजाललाई माध्यम बनाएका छौं।’

 

 

प्रकाशित: २९ वैशाख २०७७ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App