२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

वडाध्यक्षको कुटाइबाट गाउँपालिका अध्यक्ष घाइते

हेलिकोप्टरबाट उद्दार गरेर ल्याइएका कालिकोटको पलाता गाउँपालिका अध्यक्ष बम, उनकी श्रीमती र भाईलाई सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेश अस्पताल लगिँदैं ।

सुर्खेत - वडाध्यक्षको कुटाइबाट गम्भीर घाइते भएका पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम ‘पलाती कान्छा’, उनकी श्रीमती गोरीकला र भाई गजेन्द्र बमलाई हेलिकोप्टरबाट आइतबार उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ। उपभोक्ता समिति गठनका विषयमा विवाद हुँदा शनिबार पलाता गाउँपालिका–१ का अध्यक्ष मानबहादुर भण्डारी, वडा सदस्य मोती कार्की, नेकपा गाउँपालिका अध्यक्ष विष्णु रोकाय र नेकपाका स्थानीय नेता धनीराम भण्डारीले कुटपिट गरेका थिए।

गाउँपालिका अध्यक्ष बमले ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने विषयमा छलफल भइरहेका बेला वडाध्यक्षसहित चार जनाले ढुंगा र लाठ्ठीले कुटपिट गरेको बताए। तीनै जनालाई आइतबार माउण्टेन एयरको हेलिकोप्टरले पलाताबाट सुर्खेत ल्याएको थियो। अध्यक्ष बमको दायाँ कान नजिकै चोट छ भने उनकी श्रीमती गोरीकलाको टाउकोमा गम्भीर चोट छ। 

वडाध्यक्षको कुटाइबाट गम्भीर घाइते भएका पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम ‘पलाती कान्छा’, उनकी श्रीमती गोरीकला र भाई गजेन्द्र बमलाई आइतबार हेलिकोप्टरबाट उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।

कुटाई खाने र कुट्ने सबै नकेपाका नेता तथा कार्यकर्ता हुन्। गाउँपालिका अध्यक्ष बमले अपराधिक मानसिकता भएका व्यक्तिहरुले आफूहरुमाथि कुटपिट गरेको बताए। ‘उपभोक्ता समिति गठनका विषयमा छलफलमा बोलाएर वडाअध्यक्ष र उनको समुहले आक्रमण ग¥यो,’ गाउँपालिका अध्यक्ष बमले भने, ‘उनीहरु पहिल्यैदेखि आफूलाई आक्रमण गर्ने योजनामा रहेको बुझिएको छ।’

अध्यक्ष बमले आक्रमणमा संलग्न चार जनाविरुद्ध ज्यान मार्ने उद्योगमा लिखित जाहेरी दिएपनि जिल्ला प्रहरी कार्यालय कालिकोटले मुद्धा दर्ता गर्न नमानेको बताए। ‘मेरो र परिवारको हत्या गर्नेसम्मको योजना बनाएर ममाथि आक्रमण भएको हो,’ उनले भने, ‘ज्यान मार्ने उद्योगमा जाहेरी दिएर आएको हुँ, तर प्रहरीले दर्ता गर्न मानेको छैन्।’ नेकपाकै जिल्ला नेतृत्वको दवावमा प्रहरी जाहेरी दर्ता गर्न नमोको उनले बताए।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्याम ओलियाले गाउँपालिका अध्यक्ष बमले ज्यान मार्ने उद्योगमा मुद्धा दिएको बताए। ‘हामी कानुन बमोजिम मुद्धाको प्रक्रिया अघि बढाउँछौं,’ उनले भने, ‘अर्को पक्ष पनि जाहेरी ल्याएर आउने जानकारी पाएका छौं।’ डिएसपी ओलियाले घटनामा वडाध्यक्ष मानबहादुर भण्डारी, नेकपा गाउँपालिका अध्यक्ष विष्णु रोकाय र नेकपाका स्थानीय नेता धनीराम भण्डारी र नवीन बुढा पनि सामान्य घाइते भएको र उनीहरु अहिले जिल्ला सदरमुकाम मान्मामा उपचार गराइरहेको बताए।

प्रकाशित: २८ वैशाख २०७७ १४:२३ आइतबार

वडाध्यक्ष गाउँपालिका_अध्यक्ष कुटपिट