७ वैशाख २०८१ शुक्रबार
समाज

रोकियो तटबन्ध निर्माण

रौतहट – भारतीय पक्षले एकतर्फी रूपमा सिमाना मिचेर निर्माण गरिरहेको तटबन्धको काम भारतले रोकेको छ। नेपाली पक्षको व्यापक दबाबका कारण भारतीय पक्षले निर्माण कार्य रोक्न बाध्य भएको हो।रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दुई देशका सम्बन्धित जिल्लाका पदाधिकारीहरूको बैठकले गरेको निर्णय विपरित भारतीय पक्षले रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको भारतको सिमानाको दशगजा क्षेत्रमा भारतले तटबन्धको अनधिकृत विस्तार थालेपछि रोक्न पहल गरेका थिए।

भारतले सीमा मिचेर एकतर्फी रूपमा दुई देशका सम्बन्धित जिल्लाको पदाधिकारीको निर्णयलाई समेत मिचेर तटबन्धको विस्तार गरेको खबर सार्वजनिक भएपछि रौतहटका प्रजिअ वासुदेव घिमिरेको नेतृत्वमा सुरक्षा निकायका पदाधिकारीहरुको एक टोलीले स्थलगत निरीक्षण गरेको छ। टोलीमा गौर नगरपालिकाका मेयर अजय गुप्ता, ईशनाथ नपाका मेयर सन्तोष मेहता, सशस्त्र प्रहरी उपरीक्षक रोबिनराज कर्णजित, नेपाल प्रहरीका रौतहट प्रमुख एसपि रविराज खड्का, राष्ट्रिय अनुसन्धानका एसपि अभिनयकुमार सिंहसहितको टोलीले निर्माणाधीन तटबन्धको स्थलगत निरीक्षण गरेका थिए।

प्रजिअ घिमिरेले भारतको मोतिहारीका डिएम र वीरगञ्जका कन्सुलर जनरलसित कुराकानी गरेपछि तटबन्ध निर्माण रोक्ने प्रतिबद्धता अनुरूप आइतबारदेखि तटबन्ध निर्माण रोकिएको हो। प्रजिअ घिमिरेले सोमबार  दुवै पक्षले दशगजा क्षेत्रको संयुक्त अनुगमन गर्ने तथा सीमा सर्वेक्षक उमेश कुमारको टोलीले दशजगा क्षेत्रको नापजाँच गर्ने कार्यक्रम भएको बताएका छन्।

सीमा मिचेर र अन्तर्राष्ट्रिय कानुनलाई समेत मिचेर भारतीय पक्षले दशजगा क्षेत्रमा एकतर्फी रुपमा पहिले निर्माण गरेको तटबन्धको स्तरोन्नति गर्दै ईशनाथ नगरपालिकाको कम्तीमा तीनवटा गाउँ पूरै डुबानमा पर्ने देखेर स्थानीयले पनि विरोध गरेका थिए।

 

प्रकाशित: २८ वैशाख २०७७ १४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App