९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

लकडाउनमा बलात्कारका नौ उजुरी दर्ता

सुर्खेत- बैशाख ११ गते पूर्वी सुर्खेतमा ६० वर्षीया बृद्धा बलात्कृत भइन् । छोरी भेटेर घर फर्कदैं गरेकी बृद्धालाई २० वर्षीय चिनेकै एक युवकले जंगलमा बलात्कार गरे । ‘आमाको मुख हेर्ने दिन छोरी भेटेर फर्कदैं गरेकी बृद्ध महिलालाई गाउँकै एक युवाले जंगलमा बलात्कार गरेको खवर आयो,’ इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक माधवप्रसाद चौधरीले भने, ‘तत्कालै हामीले पीडकलाई पक्राउ गर्न सफल भयौं ।’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँगै जोडिएको बराहताल गाउँपालिकाकी एक किशोरी छिमेकी युवकसँगै बाख्रा चराउन गइन् । बाल्यकालदेखि चिनेकै ति युवकबाट उनी जंगलमा बलात्कृत भइन् । यो घटना प्रहरीसम्म आइपुग्न दुई दिन लाग्यो । घटना थाहा भएको भोलिपल्ट जाहेरी दिन पीडित युवतीका बुवा एक दिन हिँडेर प्रहरी कार्यालयसम्म पुगे ।

कोरोना संक्रमण रोक्नका लागि भइरहेको बन्दाबन्दी (लकडाउन) यता कर्णाली प्रदेशमा जवजस्ती करणीका नौ वटा घटना दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार बलात्कारलगायत महिलामाथि हुने हिंसाका घटनाहरु यो अवधिमा धेरै भएपनि प्रहरी कार्यालयसम्म आउन भने सकेका छैनन् । कार्यालयका अनुसार जवजस्ती करणी उद्योगका एक, बाल यौन दुराचारका एक, बहुविवाहका एक र बाल विवाहका एक घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

लकडाउनका कारण आवागवन अवरुद्ध हुँदा सर्वसाधारण नागरिकहरु प्रहरीको पहुँचसम्म छैनन् । समाजमा जति महिलामाथिका घटना भएका छन्, ति प्रहरीसम्म पुगेका देखिँदैनन् । ‘लकडाउनको अवधिमा कर्णालीमा महिलामाथि हुने हिंसाका घटनामा बढोत्तरी भएपनि त्यस्ता घटनाहरु प्रहरी कार्यालयसम्म आइपुगेका छैनन्,’ प्रहरी नायव महानिरीक्षक (डिआइजी) वशन्तकुमार पन्तले भने, ‘पीडितलाई न्यायालयसम्मको पहुँच बढाउन हटलाइन सेवाको विस्तार, गस्ती र पेट्रोलिङका साथै स्थानीय तहसँग समन्वय गर्न सबै प्रहरी युनिटहरुलाई निर्देशन दिएका छौं ।’

डिआइजी पन्तले बलात्कार, यौन दुव्र्यवहार, बालविवाह, आत्महत्यालगायतका सामाजिक अपराधका घटना कर्णालीमा धेरै पाइएको बताए । उनले लकडाउनको समय भएकाले यस्ता घटनाहरुलाई बाहिर ल्याउनका लागि स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताए । स्थानीय सरकारका जनप्रतिनिधिहरु गाउँगाउँमा छन् । ‘महिलामाथि हुने हिंसाका घटनाहरु जनप्रतिनिधिहरुले प्रहरी कार्यालयसम्म पुर्‍याइदिने वा सूचना मात्रै दिएको खण्डमा पनि धेरै उजुरीहरु दर्ता गरेर कारवाही गर्न सकिन्थ्यो,’ डिआइजी पन्तले भने, ‘लकडाउनका कारण हामी आफै पनि जनताको नजिक पुग्न सकेका छैनौं ।’

प्रदेश प्रहरी कार्यालयका अनुसार लकडाउनको अवधिमा दर्ता भएका जनजस्ती करणीका नौ घटना मध्ये चार प्रदेश राजधानी रहेको सुर्खेतका छन् भने मुगुका दुई वटा घटना छन् । यस्तै कालिकोट, सल्यान र रुकुम (पश्चिम) का एक–एक वटा घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

अधिवक्ता दुर्गाप्रसाद सापकोटाले लकडाउनको अवधिमा महिलामाथि हुने हिंसाका घटना बढेका भएपनि प्रहरीसम्म पीडितहरुको पहुँच नहुँदा बाहिर आउन नसेको बताए । ‘अहिले सबै कोरोना केन्द्रीत भएकाले पनि महिला तथा बालबालिकामाथि हुने र भइरहेका हिंसाका घटना ओझेलमा परेका छन्,’ अधिवक्ता सापकोटाले भने, ‘समयमै यस्ता घटनालाई कानुनको दायरामा नल्याएपछि समस्या उत्पन्न हुनसक्छ ।’

आत्महत्या धेरै
पछिल्लो एक महिनाको अवधिमा कर्णालीमा आत्महत्याका ३१ घटना गर्दा भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार झुण्डिएर २५ जना र विष सेवन गरेर छ जनाले आत्महत्या गरेका छन् । तथ्याङ्क अनुसार सुर्खेतमा १५ जना, दैलेखमा चार जना, सल्यानमा आठ जना, रुकुममा दुई जना, जुम्ला र डोल्पामा एक–एक जनाले आत्महत्या गरेका छन् ।

प्रकाशित: २७ वैशाख २०७७ ०५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App