७ वैशाख २०८१ शुक्रबार
समाज

कोसी ब्यारेज क्वारेन्टाइनबाट १९ भारतीय तीन दिनदेखि बेपत्ता

बेपत्ता भएकाहरु बस्दै आएको ओछ्यान तथा अन्य सामग्री । तस्बिर : जितेन्द्रकुमार/नागरिक

राजविराज- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजस्थित एक क्वारेन्टाइनमा पछिल्लो दुई सातादेखि बस्दै आएका मध्यै १९ जना भारतीय नागरिक पछिल्लो तीन दिनदेखि बेपत्ता रहेका छन् । बुधबार मध्य रातिबाटै ती १९ जना भारतीयहरु बेपत्ता रहेको सँगै बस्दै आएकाहरुले बताएका छन् ।

भारतको विहार तथा पश्चिम बंगाल राज्यका ७२ जनालाई उक्त क्वारेन्टाइनमा राखिएको थियो । स्थानीय प्राथमिक विद्यालय भवनमा राखिएका उनीहरुको खाना तथा बास लगायतका लागि आर्थिक सहयोग हनुमाननगर कंकालिनी नगरपालिकाले गर्दै आएको थियो भने क्वारेन्टाइनको व्यवस्थापना तथा सुरक्षाको जिम्मेवारी इलाका प्रहरी कार्यालय भारदहले निर्वाह गर्दै आएका थिए । त्यहाँ बस्दै आएका भारतीयहरु मध्ये अधिकांश मुश्लिम थिए ।

यता बुधबार रातिदेखि बेपत्ता रहेका १९ जना सबै मुश्लिम रहेका थिए । नेपालका विभिन्न स्थानमा मजदुरी गर्दै आएका तथा लकडनका बेला अन्यन्त्रबाट आएका ती भारतीयहरुले क्वारेन्टाइनमा राखिएको हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ ।

कोसी ब्यारेजको पश्चिमी छेउमा रहेको प्राथमिक विद्यालयमा उक्त क्वारेन्टाइन रहेका कारण भारतीय सिमाना एवम प्रदेश एक सँगको सिमानासँग समेत जोडिएको रहेकोले सुरक्षा संवेदनशिलतालाई मध्य नजर गर्दै त्यहाँको सुरक्षा लगायतका सम्पुर्ण जिम्मेवरी नेपाल तथा सशस्त्र प्रहरीले बहन गर्दै आएका थिए । त्यहाँ २४औ घण्टा प्रहरीको निगरानी रहने गरेका थियो ।

बेपत्ताहरु बसोबास गर्दै अएको विद्यालय भवनमा उनीहरुको ओछ्यान, लत्ता कपडा, झोला, जुत्ता लगायतका सामग्रीहरु छदै छन् । सँगै बस्दै आएकाहरुका अनुसार बिहीबार विहान आफूहरु उठ्दा १९ जना वेपत्ता रहेको र त्यसवारे तत्कालै डियुटीमा रहेका सुरक्षाकर्मीलाई जानकारी गराईएको थियो । यद्यपी तीन दिन वित्दा पनि ती १९ जना कहाँ गएको र हाल कुन अवस्थामा रहेको भन्नेबारे कुनै पनि निकायसँग जानकारीसम्म रहेको छैन ।

हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले आफूहरु त्यहाँ बस्नेहरुका लागि खाना, दाउरा, बास लगायतको व्यवस्थापका निम्ती आर्थिक सहयोग तथा समग्री मात्रै उपलब्ध गराउँदै आएको तथा त्यहाँको अन्य व्यवस्थापन एवम सुरक्षाको जिम्मेवारी सुरक्षा निकायको रहेकोले उनीहरु किन र कसरी बेपत्ता भए भने बारे आफूलाई कुनै जानकारी नरहेको बताए ।


यता सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले समेत यसबारे कुनै प्रतिक्रिया जनाउन चाहेनन् । आफ्नो कार्यालयको प्रवक्तासँग प्रतिक्रिया प्रजिअ खनालले संचारकर्मीहरुले सुझाव दिए । यद्यपी जिल्ला प्रशासन कार्यालयका प्रवक्ता आनन्द ठाकुरले यसबारे आफूलाई खासै जानकारी नरहेको भन्दै सप्तरीका प्रहरी प्रमुखसँग प्रतिक्रिया लिन बताए ।

सप्तरीका प्रहरी प्रमुख एसपी कृष्णप्रसाईसँग यसवारे सोध्दा उनले पनि खुलेर कुरा गर्न चाहेनन् । यता सप्तरीका प्रहरी प्रवक्ता डिएसपी तिलक भारतीले घटनाबारे अनुसन्धान थालिएको तथा बेपत्ताहरुको खोजी कार्य भईरहेको प्रतिक्रिया जनाए । यता प्रहरी स्रोतका अनुसार १९ जना भारतीय वेपत्ता भएको प्रकरणमा जिल्ला प्रहरी कार्यालय सप्तरीले इलाका प्रहरी कार्यालय भारदहका ईन्चार्ज प्रहरी साहायक निरीक्षक सागिर राईनसहित ५ जना प्रहरीलाई भारदहबाट झिकाएर जिल्ला प्रहरी कार्यालय ल्याएका छन् । यद्यपी डिएसपी भारतीले उनीहरुलाई नियमित प्रक्रिया अन्तर्गत नै भारदहबाट सरुवा गरी जिल्ला ल्याएको दाबी गरेका छन् ।

क्वारेन्टाइनबाट १९ जना भारतीयहरु बेपत्ता भएपछि त्यहाँ बस्दै आएका उनीहरुका साथीसँगसँगै स्थानीयवासीहरु पनि त्रसित बनेका छन् । कडा सुरक्षाबीच सीमा नाकाहरु ठप्प रहेकाबेला आफ्ना साथीहरु कहाँ बेपत्ता भए भन्ने त्रास क्वारेन्टाइनमा हाल बस्दै आएका ५२ भारतीयहरुमा छन् ।

यता स्थानीयवासीहरु ती क्वारेन्टाइनमा बस्दै आएकाहरुमा संक्रमण छन् कि भन्ने त्रासमा छन् भने ती संक्रमितहरु जिल्लाका अन्य गाउँवस्तीमा मिसिएपछि झन् संक्रमणको चुनौति बढ्ने त्रासमा छन् । त्यहाँ बस्दै आएका र बेपत्ता भएकाहरु मध्यै कसैको पनि स्वास्थ्य जाँच समेत हालसम्म गरिएको छैन ।

 

प्रकाशित: २६ वैशाख २०७७ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App