४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पुलको अवरुद्ध काम सूचारु गर्ने स्वीकृतिका लागि प्रशासनलाई आग्रह

खाल्ले र याम्खा जोड्ने साप्सु खोलाको मोटरेबल पुल निर्माणस्थल । तस्बिर :दमन/नागरिक

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनका कारण अवरुद्ध भएको साप्सु खोला पुलको काम सूचारु गर्ने स्वीकृतिका लागि प्रशासनलाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणकाक्रममा लागू गरिएको लकडाउनका कारण ठप्प भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको मोटरेबल पुलको काम सूचारु गर्नका लागि स्वीकृति प्रदान गर्न आग्रह गरेको हो ।

२०७८ साल जेठ १७ गते सम्पन्न गर्नेगरी २०७६ साल जेठ १७ गते सम्झौता गरिएको प्रिस्ट्रेस बिम पुलको निर्माण स्थलमा सोही आयोजनाका कामदारबाहेक अन्य व्यक्तिलाई प्रवेश नदिने शर्तमा पुल निर्माणको काम सुचारु गर्ने स्वीकृतिका लागि जिल्ला प्रशासन कार्याललाई सिफारिस पठाइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । ‘लकडाउन अगाडि निर्माण कम्पनीले १५ जना कामदारलाई काममा लगाएको थियो, लकडाउनपछि पुलको सबै काम ठप्प छ,’ अध्यक्ष राईले भने, ‘पुलको काममा ढिलाइ हुने भएकाले तिनै १५ जना कामदारमार्फत काम अघि बढाउनका लागि स्वीकृति दिन प्रशासन समक्ष सिफारिस गरिएको हो ।’ पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी पनि कम्पनी सुर्य एण्ड सन्स प्रालि सुनसरीले पनि पुलको काम अघि बढाउनका लागि प्रशासन समक्ष स्वीकृतिको माग गरेको जनाएको छ ।

मुल्या अभिबृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५ सय ४५ मा ठेक्का लिएको निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले शिलान्यास भएको ६ महिनापछि पुलको काम सुरु गरेको थियो । स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको ४० मिटर लम्बाई भएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले २०७६ साल असार ११ गते शिलान्यास गरेका थिए ।

दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने पुलको काम निर्धारित समयमा पुल तयार पारेर हस्तान्तरण गर्ने निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिका साईड ईन्चार्ज हरिप्रसाद बरालले दाबी गरेका छन् । प्रिस्ट्रेस बिम पुल बीममा तार घुसाए तार तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो । ‘हामीले विभिन्न ठाउँमा यस्ता पुल बनाएका छौँ । अहिलेसम्म निर्धारित समयमै बनाएको रेकर्ड छ,’ निर्माण कम्पनीका ईन्जिनियर सुरेन्द्र खतिवडाले भने, ‘यो नयाँ प्रविधिको पुल हो । गुणस्तरमा पनि तलमाथि हुँदैन ।’

विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा बिमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको हो । सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २०७४ साल कार्तिक २९ गते सडक बिभाग पाटनढोका ललितपुरमा निबेदन दिएको थियो । साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाका याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउ–जाउ गर्ने सवैभन्दा छोटो बाटो खुल्ने छ । ‘पुलको काम समयमै बन्नु पर्छ । मितिमा तलमाथि गर्न दिइन्न,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘समयमा पुल बनेन भने निर्माण कम्पनीले फलामको चिउरा चपाउनुपर्ने अवस्था आउँछ ।’

 

प्रकाशित: २६ वैशाख २०७७ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App