२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

मनकारी वडाध्यक्ष

घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश पाण्डे राहत बोकेर वितरणका लागि जाँदै।

दाङ - रोल्पा माडीकी सीता बिक चैत दोस्रो साता लखतरान बिरामी परिन्। तीन महिनाअघि देखिनै प्रेसरको औषधी सेवन गर्दै आएकी उनी लखतरान परेपछि उपचारका लागि घोराही झरिन्। घोराहीस्थित बुद्ध हस्पिटलमा चेकजाँच भएपछि थाहा भयो ‘उनका दुबै मृगौला खराब भएछन्।’ 

‘रोल्पाका विभिन्न अस्पतालमा उपचार गराउँदा रोग पत्ता लागेन, अनि घोराहीमा उपचारका लागि ल्याएपछि दुबै मृगौला खराव भएको थाहा भयो,’ सीताका छिमेकी कृष्ण बिकले भने। कृष्ण घोराहीमै रहेकाले उनले सीताका छोरा रमेशलाई घोराही ल्याउन भनेका थिए।

 घोराहीस्थित बुद्ध हस्पिटलले दुबै मृगौला खराव भएको जनाएपछि पहिलो चरणको डायलासीसका लागि बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा लैजान सुझाव दियो। त्यहाँ लगेर पहिलो चरणको डायलासीस भयो पनि।

 यहि अस्पतालको लमहीमा रहेको शाखा अस्पतालमा नियमित डायलासीस गराउनु पर्ने अस्पतालले सुझाव दियो। तर लकडाउनका कारण बन्द रहेको यातायात सेवा। महंगोमा उम्बुलेन्स रिजर्भ गरेर हप्तामा दुईपटक डायलासीसका लागि लमही पुग्नु पर्ने समस्या उत्तिकै थपियो। 

‘आमाको उपचार कसरी गर्ने भन्ने चिन्ताले निकै सतायो,’सीताका छोरा रमेशले भने ‘हामीसंग कुनै उपायनै थिएन।’ सीताको उपचारका लागि एक सारथी बनेर आइदिए — घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश पाण्डे।  सीताको उपचार समस्याका बारेमा वडा अध्यक्ष पाण्डेले जानकारी पाए।

सवारी आवतजातका लागि प्रशासनसंग समन्वय गरे अनि उनले आफ्नै पहलमा लमहीसम्म आउजाउ गर्नका लागि निशूल्क गाडीको व्यवस्थापन गरिदिए। यति मात्रै हैन, डायलासीसका लागि लमही आउजाउ गर्दा बाटोमा समस्या होला भनेर उनी आँफैसंगै जान्छन्, अनिसंगै आउँछन्। ‘उहाँ (वडा अध्यक्ष पाण्डे) भगवान बनेर आइदिनु भयो,’ सीताका छोरा रमेशले भने ‘उहाँले यति सहयोग नगरिदिएको भए आज मेरो आमाको अवस्था के हुन्थ्यो ? सोच्नै सक्दैन, उहाँ आँफै गाडीमा हामीसंगै लमही आउजाउ पनि गर्नुहुन्छ।’

 वडा अध्यक्ष पाण्डे यसर्थ पनि सीता तथा उनको परिवारका लागि सारथी बनेर आए , रोल्पाकै माडी गाउँपालिका वडा नम्बर १ ले उनको उपचारका लागि चासो दिँदै दिएन। ‘रोल्पाका हाम्रा वडा अध्यक्षलाई भन्यौँ, तर उहाँहरुले कागजात मिलाईदिनु भएन,’ सीताका छिमेकी कृष्णले भने ‘अनि उताबाट सहयोग नपाएपछि घोराही १५ का वडा अध्यक्षलाई भन्यौँ, उहाँले एकैबचनमा सहयोग गर्ने बचन दिनु भयो।’ 

लकडाउन यता मानव सेवामा खटिएका वडा अध्यक्ष पाण्डे आफ्नो तर्फबाट सक्दो सहयोग गर्न खटिएका छन्। यसैक्रममा मृगौला फेल भएकी सीताको समस्याका बारेमा उनले थाहा पाए। उनले लगत्तै बचन दिए ‘उपचारका लागि चिन्ता नलिनु।’ 

हप्तामा दुईपटक सीताको डायलासीस गर्नै पर्छ। सीताका छोराले डायलासीसका लागि वडा अध्यक्षलाई मिति सम्झाइदिन्छन् मात्रै रमेश आँफै गाडी लिएर पुगिहाल्छन्। ‘लकडाउनका बेला हरेक क्षेत्र मारमा परिरहेको छ, अँझ सीता जीको मृगौला फेल भएर लखतरान परिरहेको यो अवस्थामा मैले मानवीय धर्म निभाउनु मेरो दायित्व हो,’ वडा अध्यक्ष पाण्डेले भने ‘मैले उपचारका लागि उहाँ आँफैलाई पुर्याउने र लिएर आउने गरिरहेको छु।’ 

उनले सीताका लागि मात्रै हैन, डायलासीस गर्नुपर्ने बिरामीहरु सबैलाई लमही अस्पताल सम्म पुर्याउने वाचा गरेका छन्। त्यसका लागि उनले यस्ता बिरामीहरुको पहिचान गरिरहेका छन्। 

‘अरु पनि यस्ता बिरामीहरुको पनि मैले पहिचान गरिरहेको छु,’ उनले भने ‘जति पनि अप्ठ्यारोमा हुनुहुन्छ, उहाँहरुलाई स्वास्थ्य उपचार सेवाका लागि म सहयोग गर्न तयार छु।’ 

यसैगरि बाटोमा अलपत्र परेका नागरिकहरुलाई गनतव्यमा पुर्याउन पनि उनि दिनरात खटिएका छन्। यसका लागि उनले तीनवटा गाडीहरुको व्यवस्थापन गरेका छन्।

 ‘बिरामी वा सडकमा अलपत्र परेका नागरिकहरुको उद्धारमा पनि म लागि परेको छु,’ उनले भने ‘टाढाटाढाबाट हिँडेर घोराहीमा आएर अलपत्र परेका सल्यान, रुकुम लगाएतका स्थानका नागरिकहरुलाई गन्तव्यमा पुर्याएको छु।’

 

प्रकाशित: २५ वैशाख २०७७ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App