१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

संक्रमण फैलिनुको कारण खोजिँदै

 

नेपालगन्ज  - विज्ञटोलीले नेपालगन्जमा कोरोना भाइरसको संक्रमण एकैपटक धेरै व्यक्तिमा फैलिनुको कारण पत्ता लगाउन अध्ययन सुरु गरेको छ। 

विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागलगायत निकायका विज्ञले संक्रमण फैलिनुको कारण पत्ता लगाउन स्थलगत अध्ययन सुरु गरेका छन्। अध्ययनका लागि विश्व स्वास्थ्य संगठनका पाँच कर्मचारी नेपालगन्ज खटिएका छन्। अध्ययनमा मन्त्रालय र विभागका पनि केही अधिकारी संलग्न छन्। 

‘कोरोना भाइरस एकैपटक धेरै व्यक्तिमा कसरी फैलियो भन्ने विषयमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागअन्तर्गतको टोलीले दुई दिनदेखि अनुसन्धान गरिरहेको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले भने, ‘विज्ञटोली समुदायस्तरमै पुगेको छ।’ 

अहिलेसम्मको अध्ययन, अनुसन्धानबाट कोरोना भाइरस एकैपटक धेरै व्यक्तिमा फैलिनुको कारण पत्ता लाग्न नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। विस्तृत अध्ययनपछि विज्ञटोलीले अब अवलम्बर गर्नुपर्ने उपायबारे पनि सुझाव दिनेछ। 

विज्ञटोलीले बुधबार नेपालगन्ज उपमहानगरपालिकासँग पनि छलफल गरेको छ। उपप्रमुख उमा थापाका अनुसार कोरोना संक्रमण रोकथामका लागि प्रभावकारी रुपले अगाडि बढ्ने विषयमा विज्ञटोलीसँग छलफल भएको छ। ‘कन्ट्याक्ट टे«सिङमा उपमहानगरले सहयोग र समन्वय गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम विश्व स्वास्थ्य संगठन र स्वास्थ्य सेवा विभागले दिने भन्नेमा छलफल भयो,’ उनले भनिन्, ‘स्वाब परीक्षण गर्न टेक्निसियनको अभाव छ। अहिले नेपालगन्जमा तालिम प्राप्त १७ जना मात्रै ल्याब टेक्निसियन छन्। निजी ल्याबबाट झिकाएर उनीहरुलाई तालिम दिने र परिचालन गर्ने तथा त्यसको जिम्मा जिल्ला स्वास्थ्य कार्यालयले लिने कुरा भएको छ।’

बाँकेमा पहिलोपटक नेपालगन्ज उपमहानगरपालिका–७ निवासी ६० वर्र्षीय व्यक्तिमा गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनको कन्ट्याक्ट टे«सिङका आधारमा ९४ जनाको स्वाब पिसिआर विधिबाट परीक्षण गर्दा वडा नम्बर ८ का अन्य २२ जनामा पनि कोरोना संक्रमण भएको छ। पहिलोपटक संक्रमित ६० वर्षका ती पुरुष जोलहनपूर्वा टोलस्थित अन्सारियन मस्जिदमा साँझ–बिहान नमाज पढ्न जान्थे। ती पुरुष मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक पनि हुन्। उनले बालबालिकालाई घरघरमै पुगेर उर्दु भाषाको ट्युसन पनि पढाउँथे। उनको सम्पर्कका आधारमा वडा नम्बर ७ र ८ का बासिन्दाको स्वाब संकलन गरिएको थियो। 

कोरोना संक्रमण व्यक्तिबाट समुदायमा  फैलिएको आशंकामा मंगलबारबाट पुनः कन्ट्याक्ट टे«सिङ गरेर स्वाब संकलन सुरु गरिएको छ। पहिलो दिन मंगलबार वडा नम्बर ८ स्थित महेन्द्रपार्क (टांगा स्टेसन) क्षेत्रबाट ५६ जनाको स्वाब संकलन गरिएकोमा बुधबार पनि यसलाई निरन्तरता दिइयो। जिल्ला स्वास्थ्य कार्यालयका कोरोना रोग फोकल पर्सन श्रेष्ठले वडा नम्बर ८ को पन्डन मोहला टोलमा कन्ट्याक्ट टे«सिङ गरी बुधबार स्वाब संकलन गरिएको जानकारी दिए। भैरव टोल, रानी तलाउ तरकारी पसल, नाउ टोलमा पनि कन्ट्याक्ट टे«सिङ गरेर स्वाब संकलन गरिनेछ। ‘पहिले कन्ट्याक्ट टे«सिङ गरेर नाम लिस्टिङ गर्छौ्र। त्यसपछि स्वाब संकलनको काम सुरु गरिन्छ,’ श्रेष्ठले भने। 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कोरोना संक्रमित देखिएका वडामा स्थानीय जनप्रतिनिधिमार्फत सर्वसाधारणको स्वाब संकलन गर्न प्रशासनले आवश्यक समन्वय गरिरहेको बताए। ‘धेरैमा कोरोना भाइरसको लक्षण नै छैन। कतिपयले लक्षण देखिएको छैन भनेर सतर्कता अपनाउन अटेरी गरिरहेका छन्,’ प्रजिअ प्याकुरेलले भने, ‘यस्तो अवस्थामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत कन्ट्याक्ट टे«सिङ गरी शंकास्पद व्यक्तिहरूको स्वाब संकलन र परीक्षण गरिएको छ।’

पिसिआर किट अभाव हुने संकेत
कन्ट्याक्ट टे«सिङबाट संकलन गरिएका स्वाब परीक्षण गर्न जिल्लामा पिसिआर किट पर्याप्त नभएको उपमेयर थापाले बताइन्। स्वास्थ्य मन्त्रालयले दुई दिनअघि २ सय ५० वटा पिसिआर किट पठाएको तर त्यो पर्याप्त नभएको उनले बताइन्। ‘स्वास्थ्य मन्त्रालयले अस्ति जम्मा २ सय ५० मात्र पिसिआर किट पठाएको थियो। त्यो अपर्याप्त भएपछि हामीले थप किट मागिरहेका छौं,’ थापाले भनिन्, ‘विभिन्न ठाउँमा पहल भइरहेको छ। प्रदेश सरकारले पनि उपलब्ध गराउने आश्वासन दिएको छ। प्रदेश सरकारले अरु जिल्लामा रहेको किट खोजेर पठाउने भनेको छ।’ 

संक्रमितसँग अन्य धेरै व्यक्तिको सम्पर्क भएको देखिएकाले आइसोलेसन अस्पतालको अभाव हुन सक्ने पनि उपमेयर थापाले बताइन्। ‘आइसोलेसन अस्पताल अरु ठाउँमा पनि चाहिन्छ भनेर हामीले माग राखेका छौं। तत्कालका लागि लायन्स डेन्टल अस्पतालमा आइसोलेसन कक्ष बनाउने भन्नेबारेमा पनि छलफल चलेको छ। सरकारले नेपाली सेना र प्रहरीको अस्पताललाई पनि प्रयोग गर्ने भनेको सुनेका छौं,’ उनले भनिन्।

पहिलो संक्रमितका परिवारको रिपोर्ट नेगेटिभ
नेपालगन्जका पहिलो कोरोना संक्रमित व्यक्तिको परिवारका सबै सदस्यको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। नेपालगन्जमा पहिलोपटक बेहना टोल निवासी ६० वर्षका  पुरुषलाई पहिलोपटक कोरोना संक्रमण भएको थियो। त्यसपछि स्थानीय प्रशासनले ती पुरुषका  परिवारका सबै सदस्यलाई स्थानीय महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगेर राखेको थियो। परिवारका ६ जना सदस्यको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन श्रेष्ठले बताए। लकडाउन सुरु भएपछि ती व्यक्ति बढी समय जोलहनपूर्वाको मदरसामै बस्ने गरेका कारण परिवारका अन्य सदस्यमा संक्रमण फैलिन नपाएको स्वास्थ्यकर्मीको अनुमान छ। नेपालगन्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष जुम्मन खाँले पहिलो संक्रमित व्यक्तिको परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको बताए। 

‘रिपोर्ट नआउँदासम्म टोल, छिमेकका मान्छेहरु डराइरहेका थिए, तर परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएपछि ढुक्कसँग बस्न पाएका छन्,’ उनले भने। रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा रहेका संक्रमित ती व्यक्तिकी पत्नी, चार छोरा र बुहारी घर फर्किसकेको वडाध्यक्ष खाँले जानकारी दिए।

 

प्रकाशित: २५ वैशाख २०७७ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App