१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

जिल्ला अस्पतालमा पोषण पुर्नस्थापना गृह सञ्चालनको तयारी

खोटाङ– जिल्ला अस्पताल खोटाङमा कुपोषित बालबालिकाको उपचार एवं स्याहार सुसारका लागि आवासीय पोषण पुर्नस्थापना गृह सञ्चालनको तयारी गरिएको छ । कुपोषणग्रस्त बालबालिकाको उचित खानपानका साथै उचित स्याहार सुसारको व्यवस्थाका लागि नेपाल युथ फाउन्डेसनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखामार्फत जिल्ला अस्पतालले आवासीय पोषण पुर्नस्थापना गृह सञ्चालनको तयारी गरेको हो ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पाँच बेडको पोषण पुर्नस्थापना गृह सञ्चालनको टुंगो लगाएको हो । बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपांगताको सिकारबाट बचाउन तथा कडा रोग लाग्नबाट जोगाउन पोषण पुर्नस्थापना गृह सञ्चालन गर्न लागिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए ।

आवासीय पोषण पुर्नस्थापना गृहमा कुपोषणले ग्रस्त जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्य उपचारका साथै सन्तुलित आहारको व्यवस्था गरिने अस्पतालले जनाएको छ । बालबालिकाको कुपोषणको उपचार तथा व्यवस्थापन, बालबालिकाको उचाइ र उमेर अनुसारको तौल पुर्‍याउन आवश्यक उपचारात्मक कार्य गर्न साथै हेरचाह गर्ने अभिभावकलाई पोषणसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्नका लागि पोषण पुर्नस्थापना गृह सञ्चालनको टुंगो गरिएको चाम्लिङले बताए ।

पोषण पुर्नस्थापना गृहमा कुपोषित बालबालिकाको हेरचाहका लागि एक जना अभिभावकलाई समेत राख्ने व्यवस्था छ । पोषण पुर्नस्थापना गृहबाट डिस्चार्ज भइसकेपछि पनि ६ महिनाको अवधिमा तीन पटक बच्चाको स्वास्थ्य अवस्था र हेरचाह गर्ने अभिभावकले हासिल गरेका ज्ञानको प्रयोगका बारेमा अनुगमन गरिने जनाइएको छ ।

आवासीय पोषण पुर्नस्थापना गृहमा स्वास्थ्यकर्मी, भान्से, कार्यालय सहयोगीसहित आठ जना कर्मचारी राखिने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । गृहमा राखिएका कुपोषित बालबालिकालाई अवस्था हेरेर दैनिक आठदेखि १२ पटकसम्म आहारा खुवाउनु पर्ने सञ्चालन निर्देशिकामा उल्लेख छ । ‘कुपोषण भएका बालबालिकालाई विभिन्न रोगले ग्रस्त भएपछि मात्र अस्पतालमा पुर्‍याउने गरिन्छ ।

बालबच्चाको कुपोषणप्रति ध्यान पुग्न सकिरहेको छैन,’ चाम्लिङले भने, ‘कुपोषणबाट बौद्धिक तथा शारीरिक अपांगता हुने तथा कडा रोग लाग्दा ज्यानै जोखिममा पर्ने भएकाले कुपोषणग्रस्त बालबालिकाको उचित खानपान एबं स्याहार सुसारको व्यवस्था गर्न लागिएको हो ।’

प्रकाशित: २४ वैशाख २०७७ १३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App