८ वैशाख २०८१ शनिबार
समाज

विदेशमा समस्यामा परेका पालिकाबासीको उद्वारका लागि परराष्ट्र मन्त्रालयलाई आग्रह

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले विभिन्न देशमा पुगेको अवस्थामा बिरामी परेका, रोजगारी गुमाएका तथा अलपत्र परेका आफ्नो नागरिकको उद्वारका लागि परराष्ट्र मन्त्रालयलाई गुहारेको छ । गाउँपालिकाबाट १ हजार ८७ स्थानीय विदेश पुगेकामा १५९ जनाको अवस्था दयनीय पाइएपछि उनीहरुको यथोचित उद्धार तथा सहयोगका लागि परराष्ट्र मन्त्रालयलाई लिखित आग्रह गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

गाउँपालिकाबाट बैदेसिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेको अवस्थामा कोरोना भाइरसबाट संक्रमति भए पनि उपचार नपाएका, कतिपयले रोजगार गुमाएका, कतिपय खाने र बस्ने समस्याबाटै पिडित भएको दर्दनाक अवस्थाको जानकारी आएपछि गाउँपालिकाले उनीहरुको उद्धार तथा सहयोगका लागि मन्त्रालयलाई आग्रह गरेको हो । यूएईमा पुगेको अवस्थामा कोरोना संक्रमणको सिकार भएका दुई पालिकाबासीको उपचारको व्यवस्था गर्न, रोजगारीको ग्यारेन्टी गर्न र यथासिघ्र उद्धार गर्नका लागि गाउँपालिकाले आईतबार मन्त्रालयलाई लिखित आग्रह गरेको जनाएको छ ।

गत बैसाख २० गते बसेको कोरोना भाईरस संक्रमण तथा नियन्त्रण स्थानिय कार्यदलको बैठकले तत्काल अलपत्र परेका पालिकाबासीको सहयोग तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयलाई गुहार्ने निर्णय गरेको थियो । अधिकांश स्थानीय सरकारले स्वदेशमा रहेका नागरिकको विषयमा मात्र ध्यान केन्द्रित गरिरहेको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भने विदेशमा पुगेका सर्वसाधारणको हालको अवस्थाका विषयमा वडा–वडाबाट जानकारी लिएको हो । ‘यतिबेला स्वदेशमा रहेका जनताको राहत तथा उद्धारमा मात्र हाम्रो ध्यान गइरहेको छ,’ अध्यक्ष राईले भने, ‘विदेशमा रहेका जनताको अवस्थाका विषयमा चासो पुगेको छैन । यो विषयमा स्थानीय सरकारले चासो नदिए कसले दिन्छ ! उनीहरु पनि हाम्रो जनता हुन् भन्ने भुल्नु हुन्न ।’

गाउँपालिकाले यूएईमा रहेका दुई युवालाई कोरोना संक्रमण भएको पूष्टी भएपनि आवश्यक उपचार पाउन नसकेको जानकारी आएको जनाएको छ । एक युवालाई कोरोनाको संक्रमण भएको पुष्टी भएको सात दिन बितिसक्दा समेत उपचारमा नलगेको तथा अर्का युवालाई पनि क्वारेन्टाइनमा राखेको ६ दिनपछि बैसाख १९ गते कोरोना संक्रमण भएको पुष्टी भएको तर उपचारमा नलगिएको जानकारी आएको गाउँपालिका अध्यक्ष राईले बताए ।

संक्रमित युवालाई कार्यरत स्थानबाट टाढाको क्वारेन्टीनमा राखेको बताइएको छ । उनीहरुले हाल आफूहरुलाई राखेको स्थानका बारेमा बताउन नसकेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित: २४ वैशाख २०७७ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App