२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

लुकीछिपी भित्रिने क्रम नरोकिँदा जोखिम बढ्दै

बैतडी - भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम अझै रोकिएको छैन। नदी तरेर वा लुकेर सीमाबाट आउने क्रम नरोकिएपछि जोखिम बढ्दै गएको छ। 

गत शनिबार पञ्चेश्वर गाउँपालिकाको धर्मघाटबाट ८ जनाले नेपाल प्रवेश गरे। आइतबार मात्रै दोगडाकेदारका तीनजना महाकालीमा ट्युबद्वारा तरेर गाउँ पुगे। सीमानाका बन्द गरिए पनि सीमा नदी महाकालीमा ट्युब र पौडेर आउने क्रम नरोकिएको हो। गत बिहीबार मात्रै बैतडी र दार्चुलाबाट करिब दुई हजार ६ सयभन्दा बढीलाई सीमानाका खोलेर नेपाल ल्याइएको थियो। उनीहरू ३५ दिन भारतीय क्वारेन्टिनमा बस्दै आएका थिए। अहिले लुकीछिपी आउनेहरू भने क्वारेन्टिनमा  नबसेकाहरू हुन्। भारतबाट लुकीछिपी प्रवेश गरेर सिधै गाउँ जाँदा महामारी फैलिने त्रास बढेको स्थानीय बताउँछन्।

सीमा क्षेत्रमा प्रवेश रोक्न बैतडी र दार्चुलामा सशस्त्र प्रहरी परिचालन गरिएको छ। तर, उनीहरूको आँखा छलेर प्रवेश गर्ने क्रम जारी रहँदा जोखिम बढ्दै गएको हो। उनीहरूमध्ये केहीलाई प्रहरी र स्थानीय तहले क्वारेन्टिनमा राख्ने गरेको छ भने अधिकांश सोझै घर पुग्ने गरेका छन्।
भारतबाट महाकाली तरेर दैनिक आउने क्रम रोकिएको छैन। पारिका स्थानीयले रातिको समयमा बढी पैसा लिएर ट्युबबाट तारिदिने गरेको नदी किनारका स्थानीय बताउँछन्। अहिलेसम्म बैतडी, दार्चुला, बझाङलगायत अन्य जिल्लाका भारतमा मजदुरी गर्दै आएका बैतडीबाट दुई सय ५० र दार्चुलाबाट करिब तीन सयभन्दा बढी अवैध रूपमा नेपाल प्रवेश गरेका छन् । 

भारतमा रोजगारी गरेर फर्कने क्रममा लकडाउनका कारण सीमामा रोकिएका नेपाली रातारात महाकाली नदी तरेर घर फर्कने गरेका हुन्। बैतडीको तल्लो स्वराड क्षेत्रमा रातिको समयमा महाकाली नदी तरेर घर फर्कनेहरूमा आसपासका बासिन्दा र अन्य जिल्लाका पनि रहेका छन्। 
भारतबाट लुकीछिपी गाउँ पुगेपछि मात्र थाहा हुने पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख विनोद कुँवरले जानकारी दिए। महाकाली तरेर आएकाहरूलाई सकेसम्म क्वारेन्टिनमै राखेको उनले बताए। उनले भने, ‘अहिलेसम्म पालिकामा यसरी आएकाहरूलाई सकेसम्म क्वारेन्टिनमै राखेका छौं।’

जति कडाइ गर्दा पनि यसरी आउने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेयले बताए। पौडेर र पारिबाटै ट्युब ल्याएर उतैकाले सुटुक्कै छोडेर जाने गरेका उनको भनाइ छ। वारिका धेरै ट्युब प्रहरीले नियन्त्रणमा लिए पनि पारिबाटै छोड्ने समस्या भएको उनले सुनाए। नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर गस्ती भने गरिरहेको उनले बताए।  

लकडाउनको अवधिमा सीमा बन्द भएपछि बैतडीबाट मात्रै करिब दुई सय ५० जनाको उद्धार गरी सम्बन्धित स्थानीय तहमा पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी पाण्डेयले बताए। लकडाउनपछि मजदुरी नपाएपछि उनीहरू हिँडेर सीमासम्म आउने गरेका छन्।

झुलाघाट, बराकोट, सेरा, लाली, लेकमबाट ट्युवमा तरेर नेपाल आउन थालेका छन्। ‘तीन दिनदेखि खानासमेत पाइएन,’ ट्युबमा तरेर गत हप्ता गोठालापानी पुगेका बभाङ चिरबित्थड गाउँपालिका–१ का गजेन्द्र बोहराले भने, ‘भारतीय सुरक्षाकर्मीले  लखेट्न थाले, पुल बन्द हुँदा ट्युबमा आउन बाध्य भएँ।’ उनीसँगै १५ जना पनि आएका थिए।  लकडाउन  भएपछि अवैध रुपमा ट्युबमा जोखिम मोलेर वारि आउन थालेपछि समस्या बढ्न थालेको छ। जिल्ला प्रशासनले वारिपट्टि अवैध रुपमा सञ्चालन भएका ट्युब बन्द गरे पनि सीमापारिका स्थानीय राति ट्युबमा तर्ने गरेका छन्। सीमानाकाबाट अवैध प्रवेश गरेकाहरूबाट कोरोना भाइरसको जोखिम बढेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीले नियमित गस्ती गर्दै आएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

प्रकाशित: २४ वैशाख २०७७ ०४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App