७ वैशाख २०८१ शुक्रबार
समाज

चार दिनदेखि कल्भर्टमा

बैतडी - सिमानाका खुलेको सूचना पाएपछि झुलाघाट पुगेका बाजुराका आठ नेपाली भारतीय सीमामा अलपत्र परेका छन्। उनीहरू भारतको लुहाघाटमा काम गर्दै आएका थिए। वैशाख १८ गते सीमा नाका खुलेको सूचना पाएपछि हिँडेर झुलाघाट पुगेका उनीहरूचार दिनदेखि सडकको कल्भर्टमा बस्दै आएका छन्। सीमावर्ती इलाकामा फसेका नागरिक बिहीबार नेपाल ल्याएको दोस्रो दिन उनीहरू झुलाघाट पुगेका थिए।
बाजुराको बूढीनन्दा नगरपालिका–९ का मनबहादुर बोहरा, काशी बोहरा, शिव रोकाया, एकेन्द्र बोहरा, रमेश रोकाया, चन्द्र बोहरा, भीम बोहरा र बुढीनन्द नगरपालिका–८ का धनबहादुर बोहरा चार दिनदेखि सडकको कल्भर्टमा बस्दै आएका छन्। गत पुसमा कामको खोजीमा उनीहरू भारत पसेका हुन्।

भारतमा समेत लकडाउन भएको र आफूहरूसँग पैसा नभएकाले सडकको कल्भर्टमा बसेर दिनरात बिताउनुपरेको मनबहादुर बोहराले बताए।  ‘हामी सीमा नाका खुला हुन्छ भनेर आयौं। हिडेरै आउँदा ढिलो भयो,’ मनबहादुरले भने। यहाँ पुग्दा नेपाल छिर्ने नाका बन्द भइसकेको र कतै ठाउँ नपाएपछि सडकको कल्भर्टमा बास बसिरहेको उनले बताए। लामो समयसम्म लकडाउन भएपछि उनीहरूसँग खर्चको पनि अभाव छ। चाउचाउ बिस्कुट खाएर छाक टारिरहेको बाजुराको बूढीनन्द नगरपालिका–९ का रमेश रोकायाले जानकारी दिए। कल्भर्टमा भुइँमै बसेर रात कटाइरहेको, लामखुट्टेले टोकेर हैरान बनाएको र भोकभोकै भएकाले उद्धारका लागि उनीहरूले सरकारसँग माग गरेका छन्। 

आठ नेपाली कल्भर्टमा बस्न बाध्य भएको थाहा पाएपछि स्थानीय प्रशासनसँग समन्वय गरी व्यवस्थापनका लागि पहल गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले बताए। बैतडीका प्रजिअ आनन्द पौडेलले यस विषयमा आफूलाई जानकारी प्राप्त भएको र भारतको पिथौरागढ जिल्लाका डिएमसँग सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी दिए। अलपत्र परेका नेपालीहरूले भारतीय क्वारेन्टाइनमै भए पनि बसोबासका व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

प्रकाशित: २४ वैशाख २०७७ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App