२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भट्टाको प्रदूषणले बर्सेनि ६ सय जनाको मृत्यु

काठमाडौं - पुरानो प्रविधिको चिम्नी भट्टा, कमजोर गुणस्तरको कोइला, आधुनिक प्रविधिको अभावमा नेपालका इँटा उद्योगहरूले उत्सर्जन गर्ने प्रदूषणका कारण बर्सेनि ६ सय जनाको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ। गत बिहीबार सार्वजनिक गरिएको तथा विश्व बैंकद्वारा प्रकाशित सो अध्ययन प्रतिवेदनले जनस्वास्थ्यमा एक वर्षमा झन्डै साढे पाँच अर्ब बराबरको आर्थिक व्ययभार पर्ने देखिएको छ।

यसैगरी, प्रतिवर्ष सो प्रदूषणका कारण बिरामी, अपांगता तथा असामयिक मृत्युको हिसाबमा आँकलन गरिने विकलांगता समायोजित जीवन वर्ष चार हजार आठ सय रहेको पनि सो प्रतिवेदनले देखाएको छ। 

दक्षिण एसियाका बंगलादेश, भारत र नेपालमा गरिएको ‘डर्टी स्ट्याक्स, हाइ स्ट्याक्स, एन ओभरभ्यु अफ ब्रिक सेक्टर इन साउथ एशिया’ नामक उक्त अध्ययनले यी देशहरूको इँटा उद्योहरूको प्राविधिक, संरचनागत तथा क्षेत्रीय विशिष्टतालाई समेटेको छ। 

‘इँटाभट्टामा हुने प्रदूषणका कारण सन २०१५ मा नेपालमा ६ सय जनाको मृत्यु भएको पाइएकोछ,’ अध्ययनका सहलेखकसमेत रहेका प्रज्ज्वल बरालले बताए। 

नेपालमा हाल एक हजार ६ सय इँटाभट्टाहरू रहेका छन् र यिनले बर्सेनि पाँच अर्ब इँटा उत्पादन गर्ने क्षमता राख्छन्। काठमाडौं उपत्यकामा मात्र एक सय २२ वटा इँटाभट्टाहरू रहेका छन् र यो नेपालमा रहेका इँटाभट्टाहरूको संख्याको आठ प्रतिशत हो। 

पछिल्ला दिनहरूमा केही आधुनिक प्रविधिलाई आत्मसात गरिए पनि अधिकतर इँटाभट्टाहरू परम्परागत प्रविधिमा सीमित रहेकोमा प्रतिवेदनले चिन्ता व्यक्त गरेको छ। 

‘इँटाभट्टाको प्रदूषणका कारण जनस्वास्थ्यमा यत्रो नकारात्मक प्रभाव भए पनि मात्र एक प्रतिशत इँटा उद्योगले होफम्यान, हाइब्रिड होफम्यान र टलन किल्न जस्ता उच्चतम तथा कुशल प्रविधिलाई अवलम्बन गर्नु चिन्ताको विषय हो,’ अध्ययनका सहलेखक बरालले भने। वायु प्रदूषणका हिसाबले मोबाइल चिम्नी किल्न र फिक्स्ड चिम्नीले धेरै वायु प्रदूषण गर्छन्

अध्ययनले कम गुणस्तरका कोइलाको प्रयोगले पनि इँटाभट्टाहरूले नेपालमा वायु प्रदूषण बढाउने गरेको देखाएको छ। काठमाडौं उपत्यकाको १० माइक्रो घनमिटर भन्दा साना कणहरूको अर्थात् पिएम १० को प्रदूषणमा इँटाभट्टाको ‘योगदान’ २८ प्रतिशत रहेको छ।

यस्तै, हिउँद याममा हुने ब्ल्याक कार्बनको उत्सर्जनमा यो उद्योगको योगदान ४० प्रतिशत रहेको पनि अध्ययनले देखाएको छ। ब्ल्याक कार्बनले मनसुनमा नकारात्मक प्रभाव पार्छ भने अप्राकृतिक रूपमा हिउँ पग्लनुमा समेत जिम्मेवार मानिन्छ। यसरी यसले जलवायु परिवर्तनमा नकारात्मक प्रभाव पारेको अध्ययनमा उल्लेख गरिएको छ। 

प्रतिवेदनले यो क्षेत्रको आधुनिकीकरण तथा सुधार हुन नसक्नुमा पर्याप्त लगानीको अभाव, बैंकहरूको यो क्षेत्रमा लगानी गर्न अनिच्छा, कमजोर नियमनकारी व्यवस्था, मानव संसाधन तथा ज्ञानको अभाव, कार्यक्षेत्रको कमजोर अवस्था, निम्न ज्याला तथा आधुनिक प्रविधिका कम उपयोग रहेको बताएको छ। 

अध्ययन प्रतिवेदनले दैनिक ५० हजार इँटा उत्पादन गर्न सक्ने क्षमताका साना खाले टनेल किल्न नेपालका लागि उपयोगी हुने पनि बताएको छ। यो क्षेत्रको प्रविधिगत सुधारका लागि सरकारको आवश्यक सहयोग पु¥याउनुपर्ने सुझाव अध्ययनले दिएको छ। 

‘मानव स्वास्थ, वातावरण र कृषि उत्पादकत्वमा यसले पारेको नकारात्मक प्रभावलाई न्युन गर्न पनि सरकारले यो क्षेत्रको आधुनिकीकरणमा सहयोग गर्नुपर्छ,’ बराल थप्छन्, ‘उचित नीति निर्माण, नियमन व्यवस्थाले कच्चा पदार्थको मूल्यमा कटौती गर्न सके निर्माण व्यवसायीहरू कंक्रिट ब्ल्याकहरूको उपयोगमा जान सक्छन्, जसले परम्परागत इँटाभट्टालाई प्रतिस्थापन गर्न सक्छ।’

माटोबाट बन्ने इँटाको विश्वको उत्पादनमा दक्षिण एसियाको हिस्सा २० प्रतिशत छ। दक्षिण एसियाली सहरहरूको वायु प्रदूषणमा इँटाभट्टाबाट उत्सर्जन हुने प्रदूषणको मात्रा उल्लेख्य छ।

प्रकाशित: २३ वैशाख २०७७ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App