६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

‘हिम्मत र हौसलाले कोरोना जितेर फर्किएँ’

खोटाङ– कतारमा कोरोना भाइरसको संक्रमण भएको पूष्टी हुँदा खोटाङका तिलाबहादुर खत्री निकै डराए । बिश्वभर आतंक फैलाइरहेको कोरोनाले लाखौं मान्छेको ज्यान लिइसकेको सुने/बुझेका खत्री आत्तिनु स्वभावित पनि थियो । तर, कोरोना संक्रमण भए पनि धेरैजना संक्रमित निको भएको उनले सुनेका थिए । त्यही सम्झेर खत्रीले ‘आफू पनि निको हुन्छु’ भन्ने हिम्मत बटुलेर अस्पतालको क्वारेन्टाइनमा उपचारमा बसे । नभन्दै २१ दिनको उपचारपछि खत्री कोरोनालाई पराजित गरेर सोमबार डिस्चार्ज भएका छन् ।

ज्वरो आउने, टाउको दुख्ने, बोल्न गार्‍हो हुने लगायतका लक्षण देखिएपछि कोरोना संक्रमणको आशंकामा उनलाई चेकजाँचमा लगिएको थियो । चेकजाँचका क्रममा कोरोना संक्रमण भएको पूष्टी भएपछि उनले सो कुरा लुकाएनन्, साथीभाईदेखि परिवारलाई सुनाए । साथीभाई तथा आफन्तले हौसला दिए । त्यही हौसलाले पनि उनलाई रोगसँग लड्ने शक्ती प्राप्त भएको अनुभूती भयो ।

संक्रमण भएको जानकारी पाउँदा घरमा आमा सबैभन्दा बढि चिन्तित भएकी थिईन् । कमाउन परदेश गएको छोरोलाई संक्रमण भएको खबर पाउँदा घरमा आमा धेरै रोएको खत्रीले बताए । उनले रोइरहेकी आमालाई सम्झाइबुझाई गर्नका लागि बहिनीलाई समेत अर्‍हाएका थिए । ‘शंका लागेपछि चेक गराउँदा कोभिड–१९ भएको पूष्टी भयो । कोभिड–१९ भनेपछि सुरुमा अलि डर लाग्यो, तर थुप्रैजना निको भएको सुनेको/देखेको थिएँ,’ खत्रीले भने, ‘संक्रमण भइहालेमा आत्तिनु हुँदैन, टेन्सन पनि लिनु हुँदैन । यही कारण म निको भएँ ।’ अझै १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी खत्री अस्पतालबाट कोठा फर्किएका हुन् ।

कोरोनाको संक्रमण भएकोबेला सबैको हौसला, पटक–पटक बेसार–अदुवा हालेको तातो पानी पिउने र बिहान–बेलुका शारीरिक व्यायम गर्दा फाइदाजनक हुने खत्रीको अनुभव छ । साकेला गाउँपालिका–३ खिदिमाका खत्री विगत १३ वर्षदेखि कतारमा छन् । उनी हमाद अस्पतालमा हेल्थकेयरकारुपमा हाउस किपिङ सुपरभाइजरको जिम्मेवारीमा छन् । आफू मातहतका कामदारलाई सरसफाईका साथै कोभिड–१९ बाट सुरक्षित रहने विषय सिकाउने दैनिकीबीचमै उनलाई संक्रमण भएको थियो ।

अस्पतालमा धेरै बिरामीको आउ–जाउ भइरहने भएकाले आफू पनि कोरोनाको संक्रमणको शिकार हुनु पुगेको खत्रीले बताए । ‘विगत केही दिनदेखि कतारको हमाद अस्पतालमा क्वारेन्टाइनमा उपचार गराइरहेको थिएँ, आज पूर्णरुपमा ठीक भएर रुम फर्केको छु,’ खत्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस दौरान विभिन्न माध्यमबाट मेरो चिन्ता वा चासो लिनुहुने र निरन्तर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिइरहनुहुने संघसंस्थाका समकक्षी मित्र, आफन्त, परिवार सबैमा धन्यवाद प्रकट गर्न चाहन्छु ।’

संक्रमण भएको पूष्टी भएपछि गत १५ अप्रिलमा खत्रीले आफ्नो फेसबुकमा ‘मेरो लागि प्रार्थना गरिदिनुहोला, छिट्टै राम्रो भएर आउने छु’ लेखेका थिए । ‘कोरोना लागिहाले उसलाई राम्रो व्यवहार गर्नुहोस्, सामाजिक दुरीको पालना होस्,’ खत्रीले भने, ‘सावधानी अपनाउँदा यो निको हुने रोग हो, डराउनु पर्दैन ।’
 
 

प्रकाशित: २२ वैशाख २०७७ १४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App