काठमाडौं, - राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लागेको र यस वर्ष बढी पत्रकार पीडित भएकोमा चिन्ता व्यक्त गरेको छ । जस्तोसुकै संकटमा चुनौती सामना गर्दै अहोरात्र खटिने पत्रकार भौतिक रूपमा असुरक्षित भएको आयोगले बताएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा शुभकामना दिँदै आयोगले गत वर्षभन्दा यस वर्ष पत्रकार पीडित हुनुपरेको बताएको हो ।
त्यसैगरी, ‘अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लागेको, अदालतले रिहा गर्ने आदेश दिँदा पनि पत्रकारहरू पुनः सुरक्षाकर्मीबाट पक्राउ परेको, पत्रकारप्रति असहिष्णु व्यवहार हुने गरेको, सञ्चारकर्मीको कार्यप्रति प्रश्न खडा गरिएको, स्थलगत खटिने पत्रकारलाई हतोत्साहित गरिएको तथा सामाजिक सञ्जालमा लेखेको आधारमा विभेदपूर्ण तवरले साइबर अपराधमा मुद्दा चलाउने गरिएकोजस्ता सूचनाहरू राष्ट्रिय मानवअधिकार आयोगमा प्राप्त भएका छन्,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस २०२० मनाइरहँदा गत वर्षभन्दा यस वर्ष बढी पत्रकार पीडित हुनपुगेको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ ।
प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघको प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारबाट पत्रकारप्रति असहिष्णु व्यवहार भएको बताए । अभिव्यक्ति स्वतन्त्रतामा आँच आउने प्रकृतिका विधेयक संसद्मा पेस गरिएको प्रति लक्षित गर्दै सरकार स्वतन्त्र प्रेसप्रति गम्भीर प्रतिबद्ध नभएको बताए । ‘मुख थुन्न र हात बाँध्न सकिए पनि मस्तिष्कमा उब्जने विचार रोक्न नसकिने उनको भनाइ छ ।
शर्माका अनुसार प्रेस स्वतन्त्रता पत्रकारका लागि नभई सबै नागरिकको आवश्यकता भएकाले प्रेस स्वतन्त्रताको लडाइँमा नागरिक समाज, मानवअधिकाकारकर्मीसमेत साथै रहनुपर्छ ।
‘संविधान प्रदत्त नागरिकको सूचनाको हक प्रत्याभूतिका लागि अभिव्यक्ति स्वतन्त्रताको अहं भूमिका हुने हुँदा सुरक्षाकर्मी, जिम्मेवार निकायबाट पत्रकारमाथि हुने गरेको दुव्र्यवहार हतोत्साहन, कानुनी शासन, लोकतन्त्र, मानवअधिकारका मूल्य–मान्यता, संविधान, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, नेपाल पक्ष भएको नागरिक तथा राजनीतिकअधिकार सम्बन्धी महासन्धिको समेत प्रतिकूल हुने देखिन्छ ।
प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न एवम् पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगले सरकारसम्बद्ध सबै पक्षलाई आग्रह गरेको आयोगका प्रवक्ता वेद भट्टराईले बताए ।
त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामारीका मौका छोपेर सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खतरा देखिएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा आइतबार विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको छ । यसका केही संकेत सरकारका अभिव्यक्ति र व्यवहारमा देखिएका छन् ।’
प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियाले त्यही दायित्व निर्वाह गर्दा नकरात्मक दृष्टि राख्न नमिल्ने उल्लेख गर्दै देउवाले भनेका छन्, ‘प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसविरूद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने ? सरकार र यसको नेतृत्वलाई बारम्बार प्रेसका विरूद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन आजको यो विशेष दिनमा म सार्वजनिक रूपले अपिल गर्दछु ।’ .
प्रकाशित: २२ वैशाख २०७७ ०४:४१ सोमबार