१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

होम क्वारेन्टाइनको निगरानीमा खटिएका व्यक्तिलाई सिम

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरानीमा खटिएका पाँच सय अनुगमनकर्तालाई सिम बाँडेको छ । काठमाडौंमा बसिरहेका नगरबासीलाई लकडाउनकै बीचमा गाउँ ल्याएको नगरपालिकाले होम क्वारेन्टीनको आचार संहिता पालनाका लागि अनुगमनमा खटाइएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, वडा सचिव, शिक्षक र कृषि पशु प्राविधिकलाई निःशुल्क एनसेलको सिम बाँडिएको हो ।

आपसी फोन सम्पर्क र समन्वयका लागि नगरपालिका र एनसेलसँगको सहकार्यमा होम क्वारेन्टीनको अनुगमनमा खटिएका अनुगमनकर्तालाई एक÷एक थान सिम कार्ड वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए ।

४२० मिनेट फ्रि कल र दुई जिवी डाटा भएको सिम होम क्वारेन्टाईनको अनुगमनमा खटिएका १७० जना शिक्षक, १२७ जना महिला स्वास्थ्य स्वयंसेविका, ६६ जना स्वास्थ्यकर्मी, ४० जना सुरक्षाकर्मी, १२ जना कृषि पशुप्राविधिक र १० जना वडा सचिवलाई वितरण गरिएको छ । होम क्वारेन्टीनको अनुगमनमा खटिएको अवस्थामा आवश्यक जानकारी सञ्चार गर्नेक्रममा गाउँमा रिचार्जकार्डको अभाव देखिएकाले अनुगमनकर्ताको सहजताका लागि सिम वितरण गरिएको मेयर इवन राईले बताए ।

नगरपालिकाले काठमाडौं उपत्यकामा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका १ हजार २६७ जना सर्वसाधारणलाई होम क्वारेन्टीनमा बस्ने शर्तमा गत बैसाख ११ र १२ गते २५ वटा बसमार्फत गाउँमा ल्याएको थियो । त्यसबीचमा आफै घर आउने पनि उत्तिकै छन् । नगरबासीलाई १४ दिनसम्म होम क्वारेन्टीन वा क्वारेन्टीनमा बस्ने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका १० बुँदे आचारसंहिता पालना गर्नु पर्ने कबुलियतनामा गराएर गाउँमा ल्याइएको थियो ।

शहरबाट कुनै एक जनामार्फत संक्रमण भित्रेको अवस्थामा सिंगो गाउँ सखाप हुने भएकाले नगरपालिकाको काँधमा होम क्वारेन्टीनको पालनामा कडाई गर्नुपर्ने जिम्मेवारी आएको थियो । त्यही भएर होम क्वारेन्टीन उल्लंघन गर्ने व्यक्तीलाई पक्राउ गरेर क्वारेन्टीनमा लगेर राख्ने गरिएको मेयर राईले बताए । बसिरहेको ठाउँमा दैनिक आयमुलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको अवस्थामा समस्यामा परेको गुनासो आएपछि नगरपालिकाले बिरोध र समर्थनकाबीचमा स्थानीयलाई घर ल्याएको थियो ।

क्वारेन्टीनबाट १४ जना घर फर्किए
यसैबीच, हलेसी तुवाचुङ नगरपालिकाको क्वारेन्टीनबाट आईतबार १४ जना छुटेका छन् । १४ दिनको बसाई पुरा गरेपछि राजापानीको क्वारेन्टीनबाट ४ जना, दुर्छिमको क्वारेन्टीनबाट ४ जना, महादेवस्थानमा बनाइएको क्वारेन्टीनबाट ४ जना र धितुङमा बनाइएको क्वारेन्टीनबाट २ जना छुटेका हुन् । नगरपालिकाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टीनमा अझै ११ जना स्थानीय बसिरहेका स्वास्थ्य शाखाका सह–संयोजक घिमिरेले बताए ।

प्रकाशित: २१ वैशाख २०७७ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App