७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना कहर : पुलमा हरेक रात छेकबार

खोटाङ– अनियन्त्रित आवत–जावत रोक्नका लागि खोटाङ र उदयपुरको सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोसी पुलमा रातका समयमा ताला लगाउने व्यवस्था गरिएको छ । रातका समयमा पनि उदयपुरतर्फबाट स्थानीय भित्रिने गरेकाले बराहपोखरी गाउँपालिका–४ फाक्टाङको कम्पुघाटस्थित झोलुंगे पुलमा हरेक रात तार जालीको अग्लो बार लगाउन थालिएको हो ।

दिनमा भित्रिने स्थानीयको कम्पुघाटमा स्थापना गरिएको हेल्थडेस्कमा स्वास्थ्य जाँच गरेर विवरण संकलन गरेर छाड्ने गरिएको भए पनि रातका समयमा भित्रिने स्थानीयसँगै कोरोना भाइरस भित्रिने खतरा भएकाले हरेक राति पुलमा छेकवार लगाउन थालिएको फाक्टाङका वडाध्यक्ष भुवलराज राईले बताए ।

रातका समयमा हुने आवत–जावत रोक्नका लागि पुलमा बेलुका ५ बजेदेखि बिहान ७ बजेसम्म मान्छेले नाघ्नै नसक्ने बार लगाउने गरिएको छ । असईको नेतृत्वमा खटिएका प्रहरी र अहेवसहितको हेल्थडेस्कमा स्वास्थ्य जाँच गरेपछि मात्र स्थानीयलाई फाक्टाङ प्रवेश गर्न दिने व्यवस्था छ । ‘रातका समयमा को–को मान्छे भित्रियो, कहाँको भित्रियो भन्ने जानकारी पनि हुँदैन,’ वडाध्यक्ष राईले भने, ‘उनीहरुसँगै कोरोना भाइरस संक्रमित पनि भित्रिने खतरा भएकाले झोलुंगेपुलमा ताला लगाउने व्यवस्था मिलाइएको हो ।’ फाक्टाङमा हाल २३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

उदयपुरमा कोरोना भाइरसका संक्रमित फेला परेसँगै उदयपुरसँग जोडिएका नाकामा थप कडाई सुरु गरिएको छ । उदयपुरसँग जोडिएका बराहपोखरी गाउँपालिकाको बंशिलाघाट, चमेरे पुल, धाप्लाङघाट, आशावाला लगायतका नाकामा नेपाल प्रहरी र शसस्त्र प्रहरी दिनरात खटाइएको प्रशासन सहायक (पाँचौं) रमेश पोखरेलले बताए । बराहपोखरी गाउँपालिकाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा हाल ५९ जना राखिएका छन् । ६ जना १४ दिन बिताएर घर फर्किसकेका छन् । धेरैजसो व्यक्ति होम क्वारेन्टीनमा राखिएको प्रशासन सहायक पाँचौं पोखरेलले बताए ।

गाउँपालिकाले क्वारेन्टीनमा राख्नेगरी काठमाडौंबाट बैसाख १६ गते ४२ जनालाई घर ल्याएको थियो । त्यसमध्ये फाक्टाङ मासिमटारका १८ जनालाई सोही स्थानको जालपा आबि क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित: २० वैशाख २०७७ १३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App